logo
२०८१ बैशाख ८ शनिवार

  बास्तविक कथामा आधारित वृतचित्र 



भूमिगत खोपा जहाँ अहिले पनि प्रतिबन्धित पुस्तक भेटिन्छन्

मनोरञ्जन |


भूमिगत खोपा जहाँ अहिले पनि प्रतिबन्धित पुस्तक भेटिन्छन्


गोरखापत्र समाचारदाता
काठमाडौं, पुस २८ गते । नेपालको राजनीतिक इतिहासमा महत्व राख्ने एउटा घरको नालीबेली समेटेर साहित्यकार अनिल पौडेलले बृत्तचित्र निर्माण गर्नुभएको छ, एउटा घरको कथा ।
पञ्चायती कालरात्रीमा नेताहरुको भूमिगत आश्रय दिएको यो घरमा जननेता मदन भण्डारी, राष्ट्रपति विद्या भण्डारी, पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी, पूर्वउप–प्रधानमन्त्री भरतमोहन अधिकारीले लामो समय विताउनु भएको थियो ।
मोरङ उर्लाबारीबाट १३ किमि उत्तरमा अवस्थित पहाडी थुम्कोमा रहेको तिलबहादुर राईको यो घरका भित्ताभित्र भूमिगत खोपाहरू देखिन्छ, जहाँ त्यो बेला प्रतिबन्धित पुस्तकहरू अहिले पनि भेटिन्छन् । भूमिगत बस्दा पिसाब फेर्ने बाँसको ढुंग्रो, नेताहरूले प्रयोग गरेका गुन्द्री, खाटदेखि गीत गाउन प्रयोग गरिएका सारंगी र विनायोजस्ता बाजाहरू पनि असरल्ल छन् ।
मिक्लाजुङ गाउँपालिकाको टाँडी ढुम्केस्थित जंगल छेउ रहेको यो घरमा केही जलेका, केही च्यात्तिएका त केही माकुराको जालोमा बेरिएका पुस्तकहरू निकै ऐतिहासिक लाग्छन् । हस्तलिखित डायरीमा झलकमान गन्धर्वदेखि पुराना ‘जनताका गीतहरू’ सम्म भेटिन्छन् ।
बृत्तचित्रका परिकल्पनाकार एवं निर्माता पौडेलले भन्नुभयो, “तीन वर्षअघि तिलबहादुरको निधन भएपछि यी सबै सामग्री अभिभावकविहीन बनेका हुन् । ‘मुलुक हाँक्ने ठूला मान्छेहरूलाई संरक्षण गरेको यो घर आज आफैंमा जीर्ण र एकान्तिक बनेको छ ।”
पति बितेपछि पत्नी मनमाया राई छोरीको घर बस्दै आएकी छन् । बृत्तचित्रमा मनमायाले भन्नुभएको छ, “मदन भण्डारीको पत्नी लामो समय यहीँ बस्नुभएको थियो । लामो समय छोरी निशाको लालनपालन पनि यहीँ भएको थियो ।”
साहित्यकार पौडेलका अनुसार २०२६ सालदेखि नै मनमोहन अधिकारी र भरतमोहन अधिकारीहरूले यो घरलाई सेल्टरको रूपमा प्रयोग गर्न थालेका थिए । कालान्तरमा यो घर ‘पार्टीघर’ कै रूपमा चिनियो । पौडेलले भन्नुभयो, “२०४६ को परिवर्तनसम्म यो घर चेतनाको विश्वविद्यालयजस्तै थियो । अध्ययन, बहस र प्रशिक्षणहरू हुन्थे ।”
हालै मोरङको बेलबारीमा सार्वजनिक प्रदर्शनीसमेत गरिएको डकुमेन्ट्रीमा नेता गुरु बरालले दक्षिणतिरको गाउँमा किसान विद्रोह हुँदा बन्दुक लुकाउने थलो पनि यही घर भएको बताएका छन् ।
आफ्ना आठ सन्तानलाई पनि राजनीतिक जागरणमै लगाएका तिलबहादुरकी नातिनी सरला राई मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ । बृत्तचित्रमा साइँली छोरी विद्या चाम्लिङले गीत गाउँदै पुराना दिन सम्झनुभएको छ, ‘लाहुरे दाइले नौ डाँडा काटेको, कसले देख्छ कलेजो फाटेको...।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?