logo
२०७७ असार २३ मंगलवार

पूजा कोठाका चर्या नृत्य अब बाहिर

मनोरञ्जन |


2020-01-12-6948


यलु जोशी

काठमाडौंँ, पुस २७ गते । । बौद्ध धर्मको बज्रयानी बज्राचार्य गुरुले परम्परादेखि आगम पूजा कोठाभित्र अभ्यास गर्दै आएको चर्या नृत्य स–साना बालबालिकादेखि युवापुस्ताको साधनाको माध्यम बनेको छ ।
युगौँदेखि अभ्यासमा रहेको यो नृत्य यसरी बाहिर प्रस्तुत हुन थालेको हो । त्यसलाई पूजा कोठाबाट बाहिर ल्याउने काम ६३ वर्षअघि मात्र भएको संस्कृतविद् सत्यमोहन जोशी बताउनुहुन्छ । उहाँ २०१३ सालको कात्तिक ३० गते नेपालले आयोजना गरेको चौथो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा यो नृत्य पहिलो पटक मञ्चमा पुगेको थियो भन्नुहुन्छ ।
उहाँका अनुसार नेपालमा वि.सं. २०१३ अघि धार्मिक महìव बोकेको चर्या नृत्य नियमभित्र बाँधिएर प्रशिक्षण र प्रस्तुत गर्न पाइन्थ्यो । बौद्ध धर्मको पनि विशेष दीक्षा लिनेले मात्र चर्या गीत, सङ्गीत र नाच हेर्न, सिक्न वा प्रस्तुत गर्न पाउँथे । नेपालमा बौद्ध सम्मेलन भएपछि चर्या विधाको कला सार्वजनिक रूपमा देखाइएको जोशीले जानकारी दिनुभयो । उहाँले विदेशी पाहुनालाई केही फरक ढङ्गको कला देखाउन नै
चर्या नृत्य बाहिर ल्याइएको हो भन्नुभयो ।
त्यतिबेला बज्राचार्य गुरुजुलाई सम्झाउन निकै मुस्किल परेको जोशीलाई सम्झना छ । उहाँले सम्झँदै काठमाडौँ भित्रका नेवार समुदायको पनि बौद्ध धर्म मान्ने समुदायमा प्रख्यात चर्यालाई विश्वव्यापी रूपमा प्रचार गर्नुपर्छ । हाम्रो संस्कार संस्कृतिलाई हामीभित्र मात्र राख्नुहुँदैन भन्नुभयो ।
चर्या नृत्य गुरु तथा प्रशिक्षक सञ्जय राजोपाध्याय नेपालको मौलिक शास्त्रीय नृत्य भनेकै चर्या भएको धारणा राख्नुहुन्छ । यसका गीत संस्कृत भाषामै गाइन्छन् । यो मुख्यतया मुद्राको आधारमा नृत्य गरिन्छ । पहिले बज्राचार्य मात्र नभएर राजोपाध्यायले पनि यो नृत्य गर्थे तर पछि छाडे । अहिले जाति र सम्प्रदाय मात्र नभएर सबैले मिलेर लोप हुनबाट बचाउनुपर्छ ।
उहाँका अनुसार बज्राचार्य गुरुले मान्ने शून्यवादको सिद्धान्तमा यो नृत्य आधारित छ । संस्कृतिविद् जोशीको पुस्तक ‘बःचाधंगु नेवाः खँग्वः धुकू’मा चर्याको अर्थ नेवार सम्प्रदायमा बौद्ध महायानीको गुह्यपूजा हुने बेला गाइने धार्मिक शास्त्रीय गीत भनी उल्लेख छ । चर्या गीतको शाब्दिक अर्थ बौद्ध महायानी, गुभाजु, बजेजु आदि जातिको आगं (कूल) पूजा गरिने बेला गाइने गोप्य गीत वा कूल वेद पनि भनिएको छ ।

भावपूर्ण प्रकृति
गुरु राजोपाध्याय भन्नुहुन्छ, त्रिभंग (खुट्टा, कम्मर र शिर) मा बसेर लास्य (नारी शक्ति नृत्य) र ताण्डव (पुरुष शक्ति) मा समावेश भई भावपूर्ण मुद्रामा सम्पूर्ण अङ्ग परिचालन गरी नृत्य गर्नेलाई चर्चा नृत्य भनिन्छ । यो नृत्यमा आध्यात्मिक भावना र भक्तिरसले पूर्ण भई जुन देवीदेवताको नृत्य गर्ने हो तिनैको ध्यानभावना आपूmभित्र समाहित गरी आपैmँलाई ईश्वर मानी नाचिने नाच चर्या नृत्य हो । यो नृत्यमा देवीदेवताले जसरी नै पोसाक र गरगहना नियमानुसार पहिरिनुपर्छः चन्द्रहार, बाजु
(मुकुट), घाँटीको पेटी, कम्मर पेटी, मोतीमाला, धातुको मोटो सिक्री र देवीदेवताको वर्ण अनुसारको रङ्गीन टीका लगाउनुपर्छ ।
उहाँले चर्यामा मञ्जुश्री, बज्रयोगिनी, पञ्चतारा, आर्यतारा, कुमारी, पञ्चबुद्ध, भैरवकाली, अन्नपूर्ण लगायतका देवीको रूपमा नृत्य गरिने जानकारी दिनुभयो ।
चर्या नृत्यका निश्चित आधारभूत पदज्ञान र आसन हुन्छन् । समपद, बज्रपद, मण्डलापद, त्रिभुपद, प्रत्यालिंधपद, आलिंधपद र नमामीपद गरी सात प्रमुख आसन पाइन्छन् ।
चर्या नृत्यमा आसन अति आवश्यक मुद्रा हो । सबै देवीदेवताका मुद्रा लिने बेला त्रिभंगासनमा बस्नुपर्छ । सोही आसनपछि लाश्य र ताण्डवभित्र समाविष्ट हुनु अति आवश्यक हुन्छ । त्रिभंग आसन नभए चर्या नृत्य हुँदैन राजोपाध्यायले चर्याका प्रायः नृत्य नवरसभित्र पर्छन् भन्नुभयो ।
शरीरलाई धेरै फाइदा
राजोपाध्यायले चर्या नृत्य पञ्चतत्वका आधारमा नाचिने भएका कारण विन्दु मुद्राले मुटुको चाल नियन्त्रण गरिने जानकारी दिनुभयो । उहाँले ध्यान मुद्राले दिमाग नियन्त्रण गरिने बताउनुभयो । अभय मुद्राले डराउनु पर्दैन भने बज्र मुद्राले शरीर सक्रिय बनाउँछ ।

उत्पत्ति बेग्लै कथा
चर्या नृत्य आदिबुद्ध बज्रसत्वद्वारा उत्पत्ति भएको मानिन्छ । शास्त्रमा यो प्रमाण उल्लेख पनि गरिएको छ । पछि पञ्चबुद्ध लोकेश्वर, आर्यतारा बज्रयोगिनी, मञ्जुश्री, नृत्यनाथ, कुमारी, भैरव, काली, आदि देवदेवीले आ–आफ्ना समयमा पाँच प्रकारका बाजा बजाई ३६ रागरागिनीका चर्चा गाएर यो नृत्यको विकास गरेको शास्त्रीय प्रमाण भएको जोशीले जानकारी दिनुभयो ।
यो नृत्य कसले, कहाँ र कहिले उत्पत्ति ग¥यो भन्ने विषयमा अहिले पनि अनुसन्धानकै विषय छ । नेपालमा यो नृत्य प्रचलनमा आयो भन्ने सन्दर्भ चल्दा काठमाडौँस्थित साँखुमा अवस्थित बज्रयोगिनी देवीको इतिहास पढी अनुमान लगाउन सकिने संस्कृतिविद्को ठहर छ । चर्या नृत्यको अध्ययन अनुसन्धान गर्ने क्रममा नेपालदेखि विश्वका विभिन्न देशका प्रचीन परिष्कृत तान्त्रिक शक्ति र विभिन्न रागरागिनीले परिष्कृत शास्त्रीय नृत्य हो भन्ने प्रमाणित हुन्छ ।

विशेषता अनेक
चर्या नृत्यको आफ्नै मौलिक महìव छ । यसको विशेषता भन्नु संसारका कुनै पनि नृत्यसित मेल नखानु हो । अर्को विशेषता, यो नृत्य रागबाट सुरु भएर श्लोकमा टुङ्गिने राजोपाध्याय बताउनुहुन्छ । यो नृत्य साङ्गीतिक रस अन्तर्गत नाचिन्छ । चर्या नृत्य नेपाली संस्कृतिको एउटा अति विशिष्ट नमुना हो ।
यो राष्ट्रिय निधि एवं जीवित सम्पदा हो । चर्या नृत्य महायानी सम्प्रदायमा वा गुह्य पूजा गर्दा नाचिने, गाइनेमा सीमित रहेन । अचेल यो नृत्यलाई परिष्कृत गरी विभिन्न सभासमारोह तथा धार्मिक सांस्कृतिक अवसरमा पनि प्रदर्शन गरिएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?