logo
२०८० चैत्र १६ शुक्रवार



कला क्षेत्रमा मिलन र विछोडका शृङ्खला

मनोरञ्जन |


कला क्षेत्रमा मिलन र विछोडका शृङ्खला


यलु जोशी

काठमाडौँ, पुस १३ गते । त्यसै पनि कलाकारहरूको जीवन र प्रेम जहिले पनि चर्चामा रहने गर्दछ । केही दिनमात्र चर्चित गायक रामकृष्ण ढकाल र श्रीमती नीलम शाहबीच सम्बन्ध विच्छेद भएपछि एक पटक फेरि कलाक्षेत्रमा यसले ठूलो तरङ्ग ल्याएको छ । कलाकारहरूको मिलन र विछोडका समाचारहरू दर्शकका लागि खासै नौलो खबर पनि होइनन् । यद्यपि बेलाबेला हुने यस्ता घटनाले ठूलै चर्चा पाउने गर्छ ।
कलाकारहरूको सम्बन्ध विच्छेद एक प्रकारको परम्पराजस्तै भइसकेको छ । हालै चर्चित गायक रामकृष्ण ढकाल र नीलम शाहबीच सम्बन्ध विच्छेद भएको छ । प्रेम विवाह गर्नुभएको ढकाल र श्रीमती शाहबीच दुई वर्षदेखि खटपटमा रहेका यी जोडीले कानुनी रूपमै छुट्ने निर्णय लिएर अदालतबाट सम्बन्ध विच्छेद गरेका छन् ।
ढकाल दम्पतीले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दर्ता गराउनुभएको थियो । मुलुकी देवानी संहिता, २०७४ ले पति तथा पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेको छ । त्यही व्यवस्थामा ढकाल दम्पतीको सम्बन्ध विच्छेद भएको हो । सम्बन्ध विच्छेद भएपछि छोरी भने आमासँगै बस्ने तय भएको छ ।
यो त एउटा उदाहरण मात्र हो नेपाली चलचित्र उद्योगमा यस्ता धेरै कलाकार छन् । सुरुमा प्रेमको उचाइमा परेको सम्बन्ध समय क्रममा चिसिएको छ । यस्तै निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेल सम्बन्धलाई लिएर सञ्चार माध्यममा निकै चर्चा भएको थियो । ओझाले अभिनेत्री रेखा थापासँग वैवाहिक जीवनको एक दशकपछि सम्बन्धमा नरहने निर्णय गर्नुभएको थियो । उहाँहरूको पारपाचुकेको खबरलाई नेपाली सञ्चार माध्यमले प्राथमिकताका साथ सार्वजनिक गरेका थियो । ओझासँग अलग भएपछि थापा अहिलेसम्म पनि एकल जीवन बिताइरनुभएको छ । सञ्चारकर्मी रवि लामिछानेको पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरी निर्माता निकिता पौडेलसँग दोस्रो विवाह गर्नुभएको थियो ।
अभिनेत्री गौरी मल्लको विवाह लामो समयसम्म हुन सकेन । प्रज्वल भण्डारीसँग वैवाहिक जीवनपछि अमेरिका पुग्नुभएको उहाँहरूको सम्बन्ध बिग्रिएपछि मल्ल स्वदेश फर्किएर पुनः अभिनयमा सक्रिय हुनुहुन्छ । अभिनेता भुवन केसी तथा अभिनेत्री सुस्मिता बमजनबीचको वैवाहिक जीवन सुमधुर हुँदाहुँदै पनि उक्त जोडी लामो समयसम्म सँगै रहन सकेन । अनमोल केसीका रूपमा नेपाली चलचित्रका सुपरस्टारलाई जन्मदिने यो जोडीलाई कतिपयले आदर्श मानेका थिए । भुवन र सुस्मिता दुवै एकल जीवन बिताइरहेका छन् ।
पछिल्लो समय नेपाली कला क्षेत्रमा पनि सम्बन्ध विच्छेदका शृङ्खला बढ्दै गएका छन् । मनोज गजुरेल र मीना ढकालको पारपाचुके भएको पनि एक वर्ष नाघेको छ । २२ वर्षे लामो वैवाहिक सम्बन्धलाई टुङ्ग्याउँदै हालै उहाँहरू छुट्टाछुट्टै बस्दै आउनुभएको छ । उहाँहरूबाट एक छोरा र एक छोरी छन् । आफूहरूको सोच नमिलेका कारण सम्बन्ध विच्छेद गरेको उहाँहरूको दाबी छ ।
यसैगरी अभिनेत्री मनीषा कोइरालाले मुम्बईको व्यस्त कार्यतालिकाका बीच नेपाल आउनु भएर व्यवसायी सम्राट दाहालसँगको वैवाहिक जीवनलाई अगाडि बढाउनुभएको थियो तर लामो समयसम्म टिकाउन भने सकेन । गायिका अञ्जु पन्तले गायक मनोजराज सेवासँग अलग हुनुलाई जीवनकै सबैभन्दा सुखद क्षणका रूपमा चित्रण गर्नुभएको थियो । अन्तरजातीय विवाह गरेको यो जोडीले साङ्गीतिक क्षेत्रमा राम्रो चर्चा पनि पाएको थियो । यद्यपि उनीहरू लामो समयसम्म सँगै बस्न सकेनन् ।
अभिनेत्री प्रियङ्का कार्की चलचित्र क्षेत्रमा आउनुअघि नै वैवाहिक जीवनमा प्रवेश गरिसक्नुभएको थियो । रोचक मैनालीसँगको प्रेम विवाह भएको उहाँहरूको लामो समयसँगै भने बस्नुभएन । अमेरिकामा बसोवास गर्ने यो दम्पतीसँगै बस्न नसक्ने अवस्थामा
पुगेपछि कार्की नेपाल फर्किएर चलचित्रमा सक्रिय हुनुभयो । गायक यम बराल पनि तीतो वैवाहिक जीवन भएका कलाकार हुन् । आकृति राणासँग विवाह गरेका गायक बरालको पनि सम्बन्ध राम्रो नभएपछि सम्बन्ध विच्छेदको बाटो अपनाउनुप¥यो । सञ्चारकर्मी तथा नायिका कृति भट्टराई पनि पतिसँग सम्बन्ध विच्छेद गरेकी कलाकार हुनुहुन्छ ।

किन हुन्छ सम्बन्ध–विच्छेद ?
नेपाली समाजमा श्रीमान्–श्रीमतीको सम्बन्ध विच्छेद हुनुलाई अझै पनि आश्चर्यका रूपमा लिइन्छ । यद्यपि वैदेशिक रोजगारीको क्रेज बढेसँगै नेपाली समाजमा सम्बन्ध–विच्छेद गर्नु सामान्यझैँ भइसकेको छ । मनोचिकित्सक वासु आचार्य भन्नुहुन्छ, “सम्बन्ध विच्छेद गर्ने पनि सहमति हो, झगडा गरेर बस्नुभन्दा छुट्टै खुसी हुन्छ भने त्यो नै बाँच्ने आधार हो । ’’
नेपाली महिलाको शिक्षा एवं आर्थिक स्तर उक्सिँदै गएपछि उनीहरूको वैवाहिक जीवन समस्यामा परेको देखिने उहाँको अनुभव छ । शैक्षिक तथा आर्थिक हैसियत बनाएका महिला श्रीमान्ले जे–जे भन्यो, त्यही–त्यही मात्र गरेर बसिरहन नमान्ने तथा स्वतन्त्रता खोज्ने भएकाले सेलिब्रेटी दम्पतीको जोडी लामो समयसम्म नचल्ने पनि आचार्यको दाबी छ ।
गायिका तथा अभिनेत्रीको वैवाहिक सम्बन्ध लामो समयसम्म टिक्न गाह्रो हुने विभिन्न कारण छन् । नेपालमा मात्र होइन, बलिउड तथा हलिउडमा समेत अभिनेत्री तथा गायिकाहरूको नाम सहकर्मी अभिनेता तथा गायकसँग जोडिएर आउँछ । यसबाहेक कतिपय अवस्थामा विवाहित गायिका तथा अभिनेत्रीहरूले घरबाहिर नै रात बिताउनुपर्ने अवस्था हुन्छ । यस्तो बेला श्रीमान् तथा उहाँका परिवारले बाहिर बस्नुपर्ने बाध्यता नबुझिँदा समेत उनीहरूको दाम्पत्य जीवनमा समस्या सिर्जना हुन्छ ।
मानसिक चिकित्सक रवि शाक्य अनुसार अत्यधिक फेसनेबल तथा लामो समयसम्म घर बाहिर रहने गायिका तथा अभिनेत्रीहरूको वैवाहिक सम्बन्ध दिगो नहुने देखिँदै आएको छ । आवश्यकताभन्दा बढी चर्चा पाएपछि श्रीमान् तथा परिवारका कुरा ध्यान नदिने अवस्थाले पनि सेलिब्रेटी जोडीको सम्बन्ध लामो समय टिक्न सकेको पाइँदैन ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?