logo
२०८० चैत्र १५ बिहीवार



लाप्राक एकीकृत बस्ती बनाउन सेनाको श्रमदान

राष्ट्रिय |


लाप्राक एकीकृत बस्ती बनाउन सेनाको श्रमदान


नरेन्द्र ढकाल
गोरखा, मंङसिर ६ गते । गोरखाको भूकम्प प्रभावित बस्ती निमार्णमा नेपाली सेनाले श्रमदान गरेको छ । भूकम्प केन्द्रबिन्दु नजिकै रहेको लाप्राकको गुप्सीपाखामा निर्माण भएको एकीकृत बस्ती सम्पन्न गर्न नेपाली सेनाले श्रमदान गरेको नेपाली सेनाका रणसिहं दल गण गोरखाका गणपती उज्वल केसीले जानकारी दिनुभयो ।
‘गुप्सीपाखाको एकिकृत वस्ती निर्माण हामीले ठूलो कन्ट्रिव्युसन गरेका छौं’ उहाँले भन्नुभयो ‘दक्ष र अर्धदक्ष सेनाको ठूलो म्याानपावर त्यहाँ खर्च भएको छ ।’ सेनाका दक्ष कामदारले ५२ हजार आठ सय १५ दिन र अर्धदक्ष कामदारले ६४ हजार आठ सय १० दिन बरावरको काम गरेको नेपाली सेनाले बताएको छ ।

पाँच सय ७३ घरको जग खन्ने देखि छाना छाउने काम सेनाले गरेको हो । सेनाका एक सय ७० जना कामदारले घरको जग खन्ने, ढुङ्गा लाउने, डिपीसी, गारो तथा प्लाविङ र वल्डीङ, रंग लगाउने, छाना छाउने र सामान्य लेबरको काम समेत गरेको थियो । सो विचमा सामाग्री ढुवानी गर्ने सवारी साधन समेत सेनाले नै सञ्चालन गर्दै आएको थियो । घर निर्माणको काम सकिएपनि सेनाले छोडेपछि अन्यपूर्वाधार निर्माणको काम के हुने भन्ने अन्यौलता सर्ब साधारणमा छ ।

‘पूर्वाधार विकास काम धेरै छ, अब सेना छोडेर जाने भन्ने हामीले पनि सुनेका छौंं’ वडाध्यक्ष राज गुरुङ्ग भन्नुभयो ‘पानी, वत्ती, विद्यालय, स्वास्थ्य संस्था, खेलकुद मैदान बाटो घाटो बनाउने काम सबै बाँकी छ, त्यसलाई कसरी सम्पन्न गर्ने चिन्ता थपिएको छ ।’
गैरआवासिय नेपाली संघ एनआरएनको आर्थिक सहयोगमा उक्त वस्तीमा निर्माण भएको हो । २०७३ माघ १५ गतेबाट नेपाली सेनाका कामदारहरुले भवन निर्माण सुरु गरेका थिए । सुरुमा एक वर्ष भित्रकाम सम्पन्न गर्ने गरी नेपाली सेनासँग सम्झौता भएपनि बस्ती निर्माण नसकिएपछि २ पटक म्याद थपभएको थियो । पछिल्लो पटक थपिएको म्याद सकिएकोले नेपाली सेनाले यही मंसिर २९ गते लाप्राक छोड्ने तयारी गरेको छ । पाँच सय ७३ घर निर्माण भएपछि अझै ४९ घर छुटेका छन् । तीमध्ये कतिपयको नाम लाभग्राहीको सूचीमा समेत छैन् । गुनासो पछि लाभग्राही कायम भएका भूकम्प पिडितहरुको घर पनि एनआरएनएले नबनाउने बताएपछि पूर्व सहमती अनुसार नेपाली सेना बाहिरिन लागेको गणपती केसीले जानकारी दिनुभयो ।

भूकम्प पछि पहिरोकाकारण पुरै गाउँ स्थानान्तरण गर्नुपर्ने भएपछि लाप्राकका सबै स्थानीयका लागि एकीकृत वस्तीको रुपमा गुप्सीपाखामा घर बनाइएको हो । यसै वीच घर निर्माण काम सकिएपछि अब बाँकी पूर्वाधार बिकास काम कसरी अघि बढाउने भन्ने बारेमा छलफल गर्न शनिवार एनआरएनएका अध्यक्ष कुमार पन्त लाप्राक आउन लागेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । ‘घर निर्माणको काम त करिब करिब सकिएको छ । अब नेपाली सेनाले छोड्ने कुरा छ’ उहाँले भन्नुभयो ‘अरु काम कसरी गर्ने भन्ने बारेमा गाउँपालिकाले उहाँहरुसँग छलफल गर्न लागेको हो ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?