logo
२०८० चैत्र १६ शुक्रवार



बंगुरको वीर्य बेचेर करोडपति

अर्थ |


बंगुरको वीर्य बेचेर करोडपति


दमक समाचारदाता

दमक, कार्तिक २८ गते । एउटा बंगुरबाट आम्दानी कति लिन सकिएला ? अनि एउटा बंगुरको मूल्य कति होला ? भन्ने जिज्ञासा जो कोहीसँग हुन सक्छ । झापाका एक बंगुर पालक किसानले एउटै बंगुरबाट मासिक एकलाखभन्दा बढी आम्दानी लिइरहनु भएको छ भनेर सुन्दा सबैलाई अचम्म लाग्न सक्छ ।

झापा कमल गाउँपालिकाका वडा नं. ५ का ४६ वर्षीय अगुवा बंगुरपालक किसान सञ्जिवकुमार राईले बिभिन्न विदेशी प्रजातिका बिउ बंगुरबाट लाखौँ आम्दानी लिदै आउनु भएकोछ ।
उहाँले बंगुरको वीर्य भण्डारण प्रयोगशाला बनाएर वीर्य संकलन गरी बिक्री गर्दै आउनु भएको छ । एउटा बंगुरलाइ एक पटक कृत्रिम गर्भधान (एआइ) का लागि आवश्यक वीर्य १ हजार रुपियाँमा उपलब्ध गराउने गरेको उहाँले बताउनुभयो । उन्नत नश्लको बंगुरबाट वीर्य निकालेर अन्य दर्जनौं पोथी बंगुरमा लगाउन सकिन्छ, उहाँले भन्नुभयो । प्राकृतिक प्रक्रियाबाट पोथी बंगुुरलाई गर्भधारण गराउँदा एउटा भाले बंगुरको वीर्य खेर जाने हुनाले यस पद्धतिबाट गरिएको वीर्य संकलनले १० देखि २५ बंगुरलाई गर्भधारण गराउन सकिने उहाँको भनाई छ ।

हप्तामा अहिले एकपटक उन्नत नश्लको बंगुरबाट वीर्य संकलन गर्ने गरेको र महिनामा एकलाख रुपैयाँसम्म यसबाट आम्दानी लिन सकिएको उहाँको भनाई रहेको छ । वीर्य संकलन र बिक्रीका लागि मात्र उहाँले आकर्षक र सुविधा सम्पन्न खोर बनाएर बिभिन्न प्रजातिका २७ वटा नश्ल बंगुरहरु पाल्नु भएको छ । उहाँले नश्ल सुधार गरेर निकालिएको सानो भाले बंगुर १ लाख ५० हजार रुपैयाँमा केही समय अघि बिक्री गरेको बताउनुभयो ।

उहाँले अमेरिकाको स्वाइन जेनेटिक इन्टरनेशनल (एसजीआई) कम्पनीबाट ल्याइएको वीर्यबाट बंगुरमा कृतिम गर्भधारण गराउँदै आउनु भएको छ । राईले हेम्पसायर, ल्यान्द्रइज, योर्कसायर, ड्युरोक, मेसन लगायतका उन्नत जातका वंगुरको वीर्य संकलन गरेर पूर्वी नेपाल सहित भारतमा समेत बिक्री गर्दै आउनु भएकोछ । उहाँले भन्नुभयो, शुरुवातमा त यो कसैले पत्याएका नै थिएनन् तर अहिले नपात्याउने कम छन् ।

एउटा उन्नत नश्लको भाले बंगुरबाट हप्तामा नै एकलाख रुपियासम्म आम्दानी लिन सकिने भएकाले आफुले बेच्नु परेको अवस्थामा १५ देखि २० लाख रुपियासम्ममा बेच्ने पनि उहाँको भनाई छ ।
पर्याप्त बजारहुने भने आफुले बंगुरको वीर्य संकलन तथा पालिएका बंगुरहरुबाट कम्तिमा एक वर्षमा २ करोड रुपैयाँ आम्दानी लिने पनि उहाँले बताउनुभयो । यो वर्ष कम्तिमा पनि २ करोड रुपियाँ खर्च कटाएर आम्दानी गर्ने लक्ष्य छ, उहाँले भन्नुभयो ।

२०६१ सालदेखि व्यवसायीक रुपमा बंगुर पालन शुरु गर्नु भएका उहाँका खोरहरुमा मासु तथा बच्चा उत्पादनका लागि पालिएका बिभिन्न प्रजातिका ३०० भन्दा बढी बंगुर समेत रहेका छन् । नीजि स्तरबाट नेपालमा नै आफ्नो नमुना बंगुर फारम र वीर्य संकलन केन्द्र रहेको उहाँको दाबी छ । राइले ५५० रुपियामा एउटा बंगुरको पाठो किनेर शुरु गरेको व्यवसाय अहिले पाँच करोडभन्दा माथिको पुगेको छ भने वार्षिक कमाइ करोड नाँघ्न थालेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?