logo
२०८० चैत्र १५ बिहीवार



नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै बढी

अन्तर्राष्ट्रिय |


नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै बढी


नयाँ दिल्ली, कात्तिक २७ गते ।
भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवम् मौसम क्षेत्रका अधिकारीहरुले जनाएका छन् । बुधबार बिहान नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषित कणहरु भेटिन पुगेको उनीहरुको भनाई रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्राप्त जानकारीअुनसार बुधबार दिल्लीको वायुमा प्रदुषणको मात्रा अघिल्ला दिनहरुका तुलनामा बढेको र हावाको प्रदुषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स, एक्युआई बढेर ५०० पुगेको बताइएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषण हो । एक्युआई ५०० पुग्नु भनेको हावामा प्रदुषित वस्तुको मात्रा अति खराब रुपमा रहनु हो ।
हरियाणा राज्यको नजिक रहेको गुरुग्राम भन्ने नगर र उत्तर प्रदेश राज्यको छिमेकी नगर नोइडाको वायुमा रहेको प्रदुषणको मात्रा यति धेरै पुगेको ती समाचारहरुमा बताइएको छ । बुधबार बिहान यी दुई नगरमा लिइएको मापनमा यस्तो अवस्था रहेको स्वास्थ्य तथा वातावरण क्षेत्रका अधिकारीहरुले जनाएका छन् । उक्त मापनअनुसार ० देखि ५० सम्म एक्युआईलाई राम्रो मानिन्छ भने ५० देखि १०० लाई सन्तोषजनक मानिन्छ । त्यसैगरी १०० देखि २०० सम्मलाई मध्यम र २०० देखि ३०० एक्युआईलाई कमजोर मानिन्छ ।
त्यसैगरी ३०० देखि ४०० सम्म एक्युआईलाई अति कमजोर र ४०० देखि ५०० एक्युआईलाई कडा अर्थात एकदमै खराब मानिन्छ । अनि ५०० भन्दा बढी एक्युआई भयो भने त्यसलाई संकटकालीन अवस्थाका रुपमा लिनुपर्ने हुन्छ । यस्तो अवस्थामा कुनै पनि देशको सरकारले ती क्षेत्रहरुमा संकटकालीन अवस्थाको घोषणा गर्नुपर्ने हुन्छ । वायु प्रदुषणको यस्तो अवस्थाका कारण यहाँको जनजीवन थप अप्ठेरोमा पर्न थालेका समाचारहरू आइरहेका पनि समाचारमा जनाइएको छ ।
नयाँ दिल्ली र यहाँको वरपरको बस्तीमा समेत समस्या देखिन थालेको छ । विगतका केही हप्तादेखि नै यहाँ सडक र वरपरको क्षेत्रका निर्माण कार्यहरू ठप्प छन् भने अरू दैनिक आवश्यकताका वस्तुहरूको परिपुर्तिमा समेत अप्ठेरो परिरहेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा अघिल्ला वर्षहरुजस्तै यस पटक पनि चिसो मौसमको शुरुमै दिल्लीको आकाशको मौसममा खराबी देखिन थालेको हो । यहाँकोे वायु प्रदूषित भएकोले उत्पन्न स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै केही दिनका लागि विद्यालयहरू पनि बन्द गरिएको बताइएको थियो । यसका कारण बालबालिकालाई बढी असर पर्ने बताइएको छ । उनीहरुमा फोक्सोमा असर पार्ने भन्दै विद्यालयहरू बन्द गरिएको हो ।
त्यसैगरी सबै नागरिकलाई पनि स्वासप्रस्वासका साथै मुटुमा पनि समस्या उत्पन्न हुन सक्ने भन्दै गम्भीर स्वास्थ्य खतरा देखिएको बताइएको छ ।
यस मौसममा नयाँ दिल्लीको आकाशमा सवारीसाधनहरूको धुवाँ र धुलो, औद्योगिक उत्पादनका कारण उत्पन्न प्रदूषण, कृषिजन्य उद्योगहरूबाट निस्किएको प्रदूषित मात्राका कारण यहाँको वायु प्रदुषित हुने गरेको बताइएको छ । नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले यस प्रदूषणका कारण परिस्थिति अत्यन्तै खतरनाक भएको भन्दै वायु प्रदुषण हटाउन आवश्यक पहल गरिएको बताउनुभएको छ । दिल्लीको हावामा प्रदूषित हावाका कणको स्तर विश्व स्वास्थ्य सङ्गठनले बनाएको मानकभन्दा २० गुणा सम्म बढी भेटिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले बनाएको मानकभन्दा नयाँ दिल्लीको आकासमा बढी मात्रामा वायु प्रदूषण हुन लागेको धेरै वर्ष भएको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । यहाँका मौसमविद्हरूले पनि प्रदूषण अत्यन्त बढेका कारण त्यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको बताएका छन् ।
नयाँ दिल्लीको जनसङ्ख्या चार करोड ५० लाख रहेको छ । भारतीय राजधानी शहर नयाँ दिल्लीको प्रदूषण नियन्त्रण गर्न यहाँको सरकारलाई निकै सकस परिरहेको छ । नयाँ दिल्ली सरकारले राष्ट्रिय राजधानी नयाँ दिल्लीमा केही दिन यतादेखि यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । सवारी साधनबाट हुने प्रदुषणको मात्रालाई रोक्न यस्तो नियम बनाएको भए पनि यसबाट प्रदुषण घट्न नसकिरहेको बताइएको छ ।
यातायातका साधनबाट निस्किने धुवाँ र अत्यधिक यातायातको चाप र आवागमनका कारण उडेको धुलोका कारण भारतको राजधानी दिल्लीमा वायु प्रदूषण भएको भन्दै राज्य सरकारको यो निर्णय आएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?