logo
२०८१ बैशाख ७ शुक्रवार



संरक्षण अभावमा लोप हुँदै पञ्चेबाजा

मनोरञ्जन |


संरक्षण अभावमा लोप हुँदै पञ्चेबाजा



सहदेव बस्नेत
खलङ्गा, असोज ३० गते । पछिल्लो समय जाजरकोटका स्थानीय बाजाहरु लोप हुँदै गएका छन् । पछिल्लो समय बजारमा भित्रिएका आधुनिक बाजाका कारण दमाहा बाजा लोप हुँदै गएका हुन् ।

विवाह, न्वारन र स्थानीय चाडमा अनिवार्य रुपमा बजाउनु पर्ने यहाँको दमाहा, सहनाई लगायतका लोक काजाहरु पछिल्लो समय लोप हुँदै गएको सरोकारवालाहरुको भनाइ छ । मेलाहरुमा स्थानीय बाजा नहुँदा मेलाको रौनक समेत कमि हँुदै गएको स्थानीयहरु बताउँछन् । दमाहा बाजाको छुट्टै महत्व रहे पनि युवा पुस्ताले बजाउन चासो नदिँदा जिल्लामा हुने विभिन्न मेला महत्व समेत लोप हुँदै गएको जानकारहरु बताउँछन् ।

बजारमा आधुनिक बाजा आएपछि युवा पुस्ताले दमाहा बजाउन खासै चासो नदेखाएपछि बाजा बजाउने पेसा समेत संकटमा पर्न थालेको नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बाजा बजाउने पेशागत रुपमा रहेका समुदायलाई राज्यले उचित संरक्षण नगर्दा नयाँ व्यवसायतिर लागेका छन् ।”
बाजा हाम्रो पहिचान र गौरव हो भन्ने पहिचान राज्यले भुलेको शाहको आरोप छ । स्थानीय संस्कृति संरक्षणको लागि नीति निर्माण गरी नागरिकस्तरमा जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने शाहको भनाइ छ । जिल्लाको कला–संस्कृतिसँग जोडिएको दमाहा बाजा क्रमिकरुपमा लोप हुने अवस्थामा पुगेपछि यहाँका बुढापाकाहरु चिन्तित बनेका छन् ।

जिल्लाका दलित परियार अर्थात (ढोली) थरका व्यक्तिले मात्रै उक्त बाजा बजाउने चलन रहेको थियो । परियार थरका व्यक्तिले मात्रै उक्त बाजा बजाउने चलन भए पनि बाजा बनाउने काम लुहार समुदायले गर्दै आएका थिए । यो पेशातर्फ युवा पुस्ताको ध्यान तान्न नसक्दा दमाहा बाजा नै लोप हुने अवस्थामा पुगेको छेडागाड नगरपालिकाका विष्णु बिकले बताउनुभयो ।

आधुनिक बाजा भित्रिएका कारण आफूहरुले पुर्खौंदेखि बजाउँदै आएको दमाहा लोप हुने अवस्थामा पुगेको छेडागाड नगरपालिका दमाहा बादकको भनाइ छ । जिल्लामा हुने हरेक शुभकार्यमा गाउँघर नै गुञ्जायमान हुने गरी विभिन्न ताल र शैलीमा उक्त दमाहा बाजा बजाउने चलन हराउँदै गएको जाजरकोटका लोक कलाकार शेरबहादुर अधिकारी बताउनुहुन्छ ।

उहाँले पेशातर्फ युवा पुस्तालाई उत्प्रेरित गर्न नसक्दा दमाहा बाजा नै लोपोन्मुख अवस्थामा पुगेको र कला संस्कृतिको पहिचान दमाहा बाजा लोप हुन थालेपछि हामीले यसको संरक्षण गर्ने अभियान चलाउँन जरुरी रहेको छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?