logo
२०८० चैत्र १६ शुक्रवार



राष्ट्रियसभा निर्वाचन : विवेकशील साझा र राप्रपा सहभागी नहुने

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचन तयारी पूरा

राजनीति |


राष्ट्रियसभा निर्वाचन : विवेकशील साझा र राप्रपा सहभागी नहुने
मतदान स्थलको अवलोकन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे । तस्बिरः राममणि दाहाल


राममणि दाहाल
हेटौँडा, माघ ११ गते । राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । अन्य समूह र महिला समूहमा गरेर दुई जना राष्ट्रिय सभा सदस्यका लागि बुधबार हेटौँडा औद्योगिक क्षेत्रको सभाहलमा मतदान हुँदैछ ।

मङ्गलबार निर्वाचन आयोग बागमती प्रदेश कार्यालय, हेटौँडामा बसेको सर्वपक्षीय बैठकमा निर्वाचनलाई पारदर्शी, स्वतन्त्र र निष्पक्ष बनाउने बारेमा छलफल भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन, २०७८ का निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने र एक घण्टापछि मतगणना सुरु हुनेछ ।

निर्वाचन आयोगले जारी गरेको २१ बुँदे स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार निर्वाचनमा मतदान गर्न आउने मतदाताले स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गर्नुपर्ने छ । निर्वाचन आयोग बागमती प्रदेश कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले कोरोना भाइरस सङ्क्रमण भएका मतदातालाई छुट्टै मतदानको व्यवस्था गरिने जानकारी दिनुभयो ।

सभाहल परिसरमा दुई वटा मतदान केन्द्र रहने भन्दै प्रदेश सभाका सदस्यका लागि मतदान केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखका लागि मतदान केन्द्र (ख)को व्यवस्था गरिएको छ ।

यसैबीच राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान हुने स्थलको तयारीको बारेमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, मन्त्री, प्रदेश सभाका सदस्य र प्रतिपक्षी दल एमालेका नेताले अवलोकन गर्नुभएको छ ।

राष्ट्रियसभा सदस्यका लागि यस प्रदेशमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा (एकीकृत समाजवादी) का गोमादेवी तिमिल्सिनाले राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवारी दिनुभएको छ ।

यस्तै, एमालेबाट गोपाल शाक्य र निरकुमारी कुँवर तथा नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ र गीता काफ्ले उम्मेदवार बन्नुभएको छ।

विवेकशील साझा र राप्रपा सहभागी नहुने

यसैबीच बागमती प्रदेशमा हुने राष्ट्रिय सभाको मतदानमा विवेकशील साझा पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी नबन्ने भएका छन् ।

विवेकशील साझा पार्टीको बागमती प्रदेशसभा संसदीय दलको मङ्गलबार भएको बैठकले निर्वाचनमा सहभागी नहुने निर्णय गरेको संसदीय दलका नेता रमेश पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय सभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार नरहेको र अहिलेका उम्मेदवारबाट राष्ट्रिय सभामा अपेक्षा अनुसारको भूमिका निर्वाह नहुने भन्दै सहभागी नभएको उहाँले प्रष्ट पार्नुभयो ।

यस्तै राप्रपाका प्रदेश सभाका सदस्य रीता माझीले पार्टीको पदाधिकारी बैठकको निर्णयअनुसार राष्ट्रियसभा सदस्यको मतदानमा पार्टी सहभागी नहुने बताउनुभयो । बागमती प्रदेश सभामा राप्रपाका दुई जना र विवेकशील साझा पार्टीका तीनजना प्रदेश सभाका सदस्य छन् ।

बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचन प्रयोजनका लागि प्रदेशसभा सदस्य १०९ जना र ११९ स्थानीय तहका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखसहित ३४६ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । प्रदेश सभाका सदस्यको मतभार ४८ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको मतभार १८ रहने व्यवस्था रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?