logo
२०८० चैत्र १६ शुक्रवार



विद्यार्थी अभावमा दश विद्यालय बन्द

शिक्षा |
खुला |


विद्यार्थी अभावमा दश विद्यालय बन्द


अमरराज नहर्की
तनहुँ, फागुन ११ गते । विद्यार्थीको अभावको कारण तनहुँको शुक्लागण्डकी नगरपालिको ग्रामिण क्षेत्रका दश वटा सामुदायिक विद्यालय बन्द भएका छन् । सुविधाको खोजी गर्दै गाउँ छोडेर शहर झर्नेहरुको बढेसँगै तनहुँको शुक्लागण्डकी नगरपालिको ग्रामिण क्षेत्रका गाउँ रिक्तिन थालेपछि विद्यार्थी सङ्ख्या घट्दै गएकोले बन्द भएका हुन् ।

कतिपय ग्रामिण क्षेत्रमा निजी विद्यालय खुलेकाले सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुको अर्को कारण हो । नगरपालिकाका शिक्षा शाखाका प्रमुख नवराज चापागाईँका अनुसार कुलुङ मर्दशा प्रावि, जलदेवि प्राथमिक विद्यालय, भैरव प्राथमिक विद्यालय, सूर्यादय प्राथमिक विद्यालय, इन्द्रज्योती आधारभूत प्राथमिक विद्यालय विद्यार्थी अभावले बन्द भएका छन् । त्यस्तै शान्ति वर्ष प्राथमिक विद्यालय, सिमाना प्राथमिक विद्यालय, मर्दशा गुलशन प्राथमिक विद्यालय र दारुङ कुलुङ मर्दशा प्राथविमक विद्यालय पनि बन्द भएका छन् ।

भौतिक सम्पत्ती पायक पर्ने नजिकैको विद्यालयमा उपलव्ध गराउने र विद्यार्थी सङ्ख्या धेरै भएको विद्यालयमा शिक्षकहरु पठाउने गरिएको छ । ‘१५० घर भएको गाउँमा १० घरमा सिमित भएको अवस्था भएकाले थोरै विद्यार्थी हुँदा विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको छ,’ वडा नम्बर १४ का अध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो ।

नगरपालिकाभित्र तीन प्रतिशत विद्यालय छोडने दर रहेको छ । दिवा खाजाको व्यवस्था गरिएपछि बालविकास र कक्षा एक–पाँचमा विद्यार्थी बढ्न थालेको शिक्षा शाखाले जनाएको छ । शाखाका अनुसार कक्षा एक–पाँचका दुई हजार ६३७ र बालविकासका एक हजार ५५ गरि कुल तीन हजार ६९२ जना विद्यार्थीहरुलाई दिवा खाजा उपलव्ध गराउँदै आएको सो शाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?