logo
२०८१ बैशाख ७ शुक्रवार



बढी शुल्क नलिन मेडिकल कलेज सञ्चालक सहमत

शिक्षा |


बढी शुल्क नलिन मेडिकल कलेज सञ्चालक सहमत


काठमाडौँ, माघ १ गते । एमबीबीएस अध्ययन गर्ने विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क नलिन मेडिकल कलेजका सञ्चालकहरू सहमत भएका छन् । चिकित्सा शिक्षाको पढाइमा देखिएको समस्या समाधानका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार आयोजना गरेको छलफलमा उहाँहरू यस विषयमा सहमत हुनुभएको हो । चिकित्सा शिक्षामा विद्यार्थी भर्ना, शिक्षण शुल्क तथा पठनपाठनका सम्बन्धमा सम्बन्धित कलेज र विद्यार्थीबीच विवाद देखिएपछि मन्त्रालयले सरोकारवालासँग शुक्रबार छलफल गरेको थियो ।

छलफलमा मन्त्रालय, चिकित्सा शिक्षा आयोग, त्रिभुवन तथा काठमाडौँ विश्वविद्यालय, काठमाडौँ मेडिकल कलेज तथा नोबेल मेडिकल कलेज, अभिभावक र विद्यार्थीका प्रतिनिधिहरू सहभागी थिए । मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले यस वर्ष आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने लगायतका पाँच बुँदे सहमति भएको जानकारी दिनुभयो ।

मेडिकल कलेजमा पढ्ने विद्यार्थीलाई छात्राबासका लागि सम्बन्धित कलेजले विद्यार्थी र अभिभावकको सहमतिमा मात्रै मासिक तथा वार्षिक शुल्क तोक्न पाउने र यसका लागि कलेजलाई सम्बन्धन दिने विश्वविद्यालयले समन्वय गर्नुपर्ने निर्णय गरिएको छ ।
आगामी वर्षदेखि चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीले तिर्नुपर्ने शुल्कमा कुल अध्ययन अवधिभरको शिक्षण शुल्कबाहेक विश्वविद्यालय, विषयगत काउन्सिल र शिक्षण संस्थालाई बुझाउनुपर्ने थप शुल्कलाई आयोगले शीर्षक नै तोकेर निर्धारण गर्ने सहमति पनि भएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐनको कार्यान्वयनका क्रममा कुनै समस्या देखिएमा ऐन संशोधनका लागि आयोगले नेपाल सरकारलाई राय दिने र यस्तो राय सरोकारवालासँग छलफल गरेर सङ्कलन गर्नुपर्ने निर्णय भएको छ ।

उहाँले चिकित्सा शिक्षाको पढाइ हुने शैक्षिक संस्थामा विद्यार्थी अभावले विभिन्न विषयको भर्ना कोटा रिक्त रहने समस्यालाई समाधान गर्न एकीकृत परीक्षा प्रणालीलाई संशोधनका लागि प्रक्रिया अगाडि बढाउने सहमति भएको पनि जानकारी दिनुभयो ।
पछिल्लो समय एमबीबीएस अध्ययन गर्ने विद्यार्थीसँग ऐनले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै काठमाडौँ मेडिकल र नोबेल मडिकल कलेजविरुद्ध विद्यार्थी आन्दोलनमा छन् । दुवै कलेजले विद्यार्थीसँग ऐनले तोकेकोभन्दा फरक शीर्षकमा वार्षिक छ लाख रुपियाँसम्म बढी शुल्क लिएको विद्यार्थीको आरोप छ ।

शुक्रबारको छलफलमा सहभागी भएर फर्कने क्रममा नेपाल मेडिकल कलेजका सञ्चालक डा. सुनील शर्मालाई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थीहरूले हातपात गरेका छन् । कालो मोसो दल्ने योजनाका साथ कुरेर बसेका विद्यार्थीले शिक्षा मन्त्रालयको पहिलो तलामा हातपात गरेका थिए तर शर्मालाई कालो मोसो दल्न नपाएको प्रहरीले जानकारी दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?