logo
२०८१ बैशाख १३ बिहीवार



दिवा खाजाले बढायो विद्यार्थी

शिक्षा |
प्रदेश |


दिवा खाजाले बढायो विद्यार्थी


सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, पुस ३० गते । सिन्धुली जिल्लाको सामुदायिक विद्यालयमा दिवा खाजाको व्यवस्था गरेपछि विद्यार्थीको चाप ह्वात्तै बढेको छ । सामुदायिक विद्यालयमा प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई नेपाल सरकारले दिवा खाजाको बन्दोबस्त गरेसँगै विद्यार्थीको जनसङ्ख्या बढ्न थालेको विद्यालयले जनाएका छन् । कमलामाई नगरपालिका–५ फोस्रेटारस्थित जनज्योति माविमा दिवा खाजाकै प्रभावले अहिले १५० जना विद्यार्थी बढेका छन् ।

विद्यालयका प्रधानाध्यापक भीमविक्रम थापा भन्नुहुन्छ, “दिवा खाजाको व्यवस्था हुनुअघि शिशु कक्षादेखि पाँच कक्षासम्म २९० जनाको हाराहारीमा विद्यार्थी हुन्थे, अहिले बढेर विद्यार्थी सङ्ख्या ४५० नाघेको छ । यो सबै दिवा खाजाको प्रभाव हो ।” उहाँका अनुसार अहिले पनि दैनिकजसो दुई÷तीन जना बालबालिका भर्ना गर्न अभिभावक आउने गरेका छन् । शैक्षिक सत्रको बीचमा भर्ना गर्दा प्राविधिक समस्या हुने भएकाले उनीहरूलाई शैक्षिक सत्र सुरु भएपछि वैशाखमा लिएर आउनु भन्दै फर्काउने गरेको प्रधानाध्यापक थापाले जानकारी दिनुभयो ।

शिशु कक्षादेखि कक्षा १२ सम्म अहिले एक हजार छ सयको हाराहारीमा विद्यार्थी रहेको उहाँले जानकारी दिनुभयो । दिन फरक पारी खीर, तरकारी चिउरा, जाउलो र शुक्रबार अण्डा खाजा दिने गरेको विद्यालयले जनाएको छ ।जिल्लामा ५६३ वटा सामुदायिक विद्यालयमा शिशु कक्षादेखि प्राथमिक तहमा अध्ययनरत विद्यार्थीको जनसङ्ख्या ४३ हजार २२१ रहेको शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले जनाएको छ । एकाइका सूचना अधिकारी दुर्गाप्रसाद काफ्ले दिवा खाजाको प्रभाव राम्रो परेको बताउनुहुन्छ ।

कुनै विद्यालयले आफैँ खाजा बनाएर विद्यार्थीलाई दिने गरेको र कुनै विद्यालयले खाजाको पैसा अभिभावकलाई दिने गरेको पनि उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमै खाजा दिन थालेपछि विद्यार्थी बढ्न थालेको छ ।” एक जना विद्यार्थीलाई दैनिक खाजा खुवाउन १५ रुपियाँका दरले खाजाको पैसा आउँछ । “१३ रुपियाँ भए खाजा पुग्ने रहेछ । बाँकी रहेको पैसाबाट पाँच हजार रुपियाँमा एक जना भान्से राखेका छौँ,” जनज्योति माविका प्रअ थापाले सुनाउनुभयो । विद्यालयमा बालबालिकाको उपस्थितिमा उल्लेख्य वृद्धि ल्याउने र विद्यालयबाहिर रहेकालाई समेत समेट्ने उद्देश्यसाथ बन्दोबस्त गरिएको दिवा खाजाले सकारात्मक प्रभाव परेको शिक्षकको अनुभव छ ।

दिवा खाजाकै प्रभावका कारण बालबालिकामा विद्यालय कम आउने र आएका पनि विद्यालयमा समय पूरा नबस्नेजस्ता समस्या हटेका छन् । सोही विद्यालयकै शिक्षिका करुणा घिमिरेका अनुसार अहिले विद्यालय समयमा नआउने, विद्यालय छोड्ने र पूरा समय विद्यालयमा नबस्ने विद्यार्थीको बानीमा सुधार आएको छ । उहाँले भन्नुभयो, “पहिला भर्ना भएका विद्यार्थी पनि नियमित विद्यालय आउँदैनथे । अहिले त विद्यालय आउनेबित्तिकै आजको खाजा के छ ? भनेर सोध्छन् । दिवा खाजाको प्रभावले गर्दा शतप्रतिशत विद्यालय आउने र समयसम्म बस्ने गरेका छन् ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?