logo
२०८१ बैशाख १३ बिहीवार



पुस्तकालयमा पढ्न झिसमिसेमै लाम

शिक्षा |
मुख्य समाचार |


पुस्तकालयमा पढ्न झिसमिसेमै लाम


सूर्यप्रसाद पाण्डे

काठमाडौँ, पुस २५ गते । खेम पाठक अचेल गोङ्गबुबाट हरेक दिन बिहान ५ बजे नै त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय कीर्तिपुर पुग्नुहुन्छ । ५ बजे नपुग्ने हो भने पुस्तकालयभित्र छिर्नै मुस्किल पर्ने उहाँ बताउनुहुन्छ ।
लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धाको तयारीमा रहनुभएका पाठकको बिहानदेखि साँझ ६ बजेसम्म पुस्तकालयभित्रै बित्छ । पुसको ठन्डीमा सिउसिउ गर्दै थानकोटका कृष्ण रिजालको पनि दैनिकी उस्तै छ । उहाँले पनि नेपाल राष्ट्र बैङ्कको परीक्षाको तयारी गरिरहनुभएको छ ।

पाठक र रिजाल मात्रै होइन, अहिले दैनिक सयौँ विद्यार्थी केन्द्रीय पुस्तकालयमा पढ्न बिहानै कीर्तिपुर पुग्ने गरेका छन् । पुस्तकालयभित्र बसेर अध्ययन गर्न विशेष र सामान्य गरी दुईथरी अध्ययन कक्ष छन् । विशेष अध्ययन कक्षमा विद्यार्थीको आकर्षण बढी छ । यसमा तीन कोठा छन् । एउटा कोठामा ४० जना बस्न पाउँछन् ।
पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठका अनुसार तीन कोठामा १२० जना मात्रै अटाउँछन् ।

समयमै नआउने हो भने बस्न कुर्सी अभाव हुने र भित्र छिर्नै नपाउने त्रासका कारण विद्यार्थी एकाबिहानै लाइन लाग्ने गरेको उहाँले बताउनुभयो ।
यो कक्ष बिहान ६ देखि बेलुका ६ बजेसम्म खुल्छ । यसमा बिजुली, पानी, शौचालय तथा आरामदायी कुर्सी छन् । इन्टरनेट सुविधा पनि छ । साथै आफ्नै पुस्तक लगेर पढ्न पनि पाइन्छ ।

अर्को कक्ष भने बिहान नौ बजे मात्रै खुल्छ । यहाँ विद्यार्थीले आफैँ पुस्तक लिएर जान पाउँदैनन् । पुस्तकालय प्रमुख श्रेष्ठले भन्नुभयो, “सामान्य कक्षमा विद्यार्थीबाहेक जो कोही पनि आएर एकछिन पढेर जान पाउँछ तर आफ्नै सामग्री लिएर प्रवेश गर्न पाउँदैन । यही भएर पनि विशेष कक्षमा विद्यार्थीको आकर्षण बढी छ । ”

विशेष कक्षमा पढ्ने अधिकांश विद्यार्थी सरकारी जागिरको तयारी गर्ने हुन्छन् । सबैको उद्देश्य एकै हुने भएकोले पनि त्यहाँ बसेर पढ्दा थप आनन्द आउने अध्ययन कक्षमा भेटिनुभएका दिनेश अधिकारीले बताउनुभयो । उहाँ पनि नेपाल राष्ट्र बैङ्कको परीक्षाको तयारीमा हुनुहुन्छ ।

त्यहाँ पढ्न आउने विद्यार्थीले खाना तथा खाजा पनि नजिकैको क्यान्टिनमा खान्छन् । खाना ९० रुपियाँमै पाइन्छ । खाजा तथा चियासमेत सस्तो पाउने हुनाले विद्यार्थी बिहान आएदेखि बेलुका मात्रै घर फर्कन्छन् । पढाइप्रति विद्यार्थीको लगनशीलता देखेर विश्वविद्यालयका पदाधिकारीहरूले समेत चासो राखेको पुस्तकालय प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पुस्तकालयमा बसेर पाँच करोडभन्दा बढी स्रोत सामग्री प्रयोग गर्न सकिन्छ । जसमा अडियो, भिडियो, जर्नल, शोधग्रन्थलगायतका छन् ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?