logo
२०८१ बैशाख ८ शनिवार



गुल्मीमा २७ हजार विद्यार्थीलाई कोरोनाविरुद्धको मोडर्ना खोप प्रदान

शिक्षा |
स्वास्थ्य |


गुल्मीमा २७ हजार विद्यार्थीलाई कोरोनाविरुद्धको मोडर्ना खोप प्रदान



तिलाचन पाण्डे
तम्घास, पुस ११ गते । गुल्मीमा २७ हजार ८३४ विद्यार्थीले कोरोना विरुद्धको मोडर्ना खोप लगाएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । १२ वर्ष देखि १७ वर्ष उमेर समूहका २७ हजार ८३४ विद्यार्थीहरुलाई खोप प्रदान गरिएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो । कुल ३० हजार डोज खोप जिल्लामा उपलब्ध भएकोमा २७ हजार ८३४ डोज खोप प्रदान गरिएको अाचार्यले बताउनुभयो ।

जिल्लाका ९३ वटै वडाका स्वास्थ्य संस्था र स्वास्थ्य संस्थादेखि दुरीको हिसाबले टाढा भएका विद्यालयहरुमै गई खोप प्रदान गरिएको उहाँको भनाइ छ । कतिपय विद्यालयमा विद्यार्थीहरु अनुपस्थित भएको र खोप लिनबाट छुटेका विद्यार्थीहरुलाई पनि समावेश गर्ने गरी स्वास्थ्य कार्यालय लागेको उहाँले बताउनुभयो । १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई प्रदान गरिएको खोपको आधारमा ९२ प्रतिशत उपलब्धी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

पुस ५ गतेदेखि ९ गतेसम्म चलेको अभियानमा स्वास्थ्य संस्थाका स्वास्थ्य कर्मीहरुले इमानदारीका साथ काममा लागिपरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, गुल्मीमा जनसङ्ख्याको हिसाबमा १८ वर्षभन्दा माथिका ८० प्रतिशत नागरिकहरुले खोप पाएका छन् भने ४२ प्रतिशत नागरिकहरुले दोस्रो मात्राको खोप पाएको आचार्यले जानकारी दिनुभयो । गुल्मीमा अहिलो सक्रिय सङ्क्रमितको सङ्ख्या आठ जना छ भने सङ्क्रमणका कारण ९७ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?