logo
२०८१ बैशाख ४ मंगलवार



‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’

मुख्य समाचार |


‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अवरुद्ध प्रक्रियालाई गति दिँदै १९औँ सार्क शिखर सम्मेलन छिटो आयोजना गर्नुपर्ने बताउनुभएको छ । ३७औँ सार्क बडापत्र दिवसको अवसरमा सार्क सदस्य राष्ट्रका जनता तथा सरकारलाई बुधबार बधाई तथा शुभकामना सन्देश दिनुहुँदै उहाँले सार्क शिखर सम्मेलनको प्रारम्भिक आह्वान तथा सार्क प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले सार्क प्रक्रियालाई सक्रिय बनाएर नयाँ जीवन दिन पनि आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले दिनुभएको शुभकामना सन्देशमा सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका भएको औँल्याउँदै यसले सार्क क्षेत्र तथा दक्षिण एसियाका जनताको हित गर्न सघाएको उल्लेख छ । सन्देशमा उहाँले भन्नुभएको छ– “क्षेत्रीय सद्भाव प्रवद्र्धन गर्ने, गरिबी र असमानताको अन्त्य गर्ने तथा न्यायपूर्ण एवं समावेशी समाज निर्माण गर्ने हाम्रो प्रयासले आवश्यक शक्ति बटुल्न बाँकी रहेको छ ।”

कोभिड–१९ को महामारीबाट उत्पन्न चुनौती र कमी कमजोरीलाई औँल्याउँदै कोभिडपश्चात्को पुनः प्राप्ति तथा पुनर्निर्माणमा केन्द्रित रहेर क्षेत्रीय समझदारी एवं ऐक्यबद्धतालाई पुनः आत्मसात् गर्नुपर्ने आवश्यकता रहेको सुझाव उहाँले दिनुभएको छ । सार्क सङ्गठन यस क्षेत्रका जनताका लागि व्यापक फाइदा पु-याउन र उनीहरूको जीवनस्तर उकास्नका लागि गठन भएको स्मरण गर्नुहुँदै प्रधानमन्त्री देउवाले सङ्गठनलाई सक्षम बनाउन रचनात्मक भूमिका निर्वाह गर्न नेपाल प्रतिबद्ध रहेको सन्देशमा प्रस्ट गर्नुभएको छ । उहाँले समान सामाजिक–सांस्कृतिक मूल्यमान्यता बोकेको सार्क क्षेत्र असीम सम्भावनाको क्षेत्र भएकाले यी सम्भावनालाई पुनर्जीवित पार्न राजनीतिक इच्छाशक्तिलाई जागरुक बनाउँदै अवरुद्ध सार्क प्रक्रियालाई गति दिन सकिने औँल्याउनुभएको छ ।

सात वर्षअघि नेपालमा १८औँ सार्क शिखर सम्मेलन भएको थियो । त्यसपछि पाकिस्तानमा हुनुपर्ने तय भएको १९औँ शिखर सम्मेलन हुनसकेको छैन । सार्कका प्रमुख साझेदार मुलुक भारत र पाकिस्तानको आपसी राजनीतिक द्वन्द्वका कारण शिखर सम्मेलन हुन नसकेको भन्दै विज्ञहरूले बारम्बार चिन्ता व्यक्त गर्नुभएको छ ।

बडापत्र दिवस मनाइयो
सार्क सदस्य मुलुकहरूले बुधबार विविध कार्यक्रमसहित ३७औँ सार्क बडापत्र दिवस बनाएका छन् । सार्क सदस्य मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूले यस अवसरमा विशेष सन्देश जारी गर्नुहुँदै आपसी हित र क्षेत्रीयताको प्रवद्र्धनमा जोड दिनुभएको छ । नेपालस्थित सार्क सचिवालयका महासचिव इसाला रूवान विराकुनले पनि सार्क बडापत्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?