logo
२०८० चैत्र १५ बिहीवार

  दृश्य समाचार  



नेपालमा रात्री विद्यालय, आकर्षण बढ्दै, संख्या घट्दै

शिक्षा |
भिडियो |


नेपालमा रात्री विद्यालय, आकर्षण बढ्दै, संख्या घट्दै


दृश्यमा मनोजरत्न शाही र केशव गुरुङ्ग
काठमाडौँ, मङ्सिर १२ गते । व्यस्त सहरी जीवनमा पठनपाठनलाई निरन्तरता दिनेको सङ्ख्या बढ्दै जाँदा पछिल्लो समय रात्री विद्यालयमा आकषर्ण बढ्दै गएको छ । देशका विभिन्न ठाउँमा रहेका रात्री विद्यालय बन्द भए पनि काठमाडौँको नन्दी रात्री विद्यालयमा विद्यार्थीको संख्या उल्लेख्य रहेको छ।

धरान, विराटनगर, पोखरा, संखुवासभालगायत देशैभर रात्री विद्यालय सञ्चालनमा रहे पनि अहिले काठमाडौँको नक्सालमा रहेको नन्दी रात्री विद्यालय मात्र सञ्चालन हुँदै आएको छ । कक्षा ६ देखि १२ सम्म पढाइ हुने यस विद्यालयमा हाल दुई सय जना विद्यार्थी पठनपाठन गर्दे आएको नन्दी रात्री विद्यालयका प्रधानध्यापमक राजेश हुमागाईंले जानकारी दिनुभयो । विद्यालयमा पुरुष भन्दा महिला विद्यार्थीको सङ्ख्या धेरै छ । पढाइ छोडेका गृहिणीले पुनः पढाइलाई निरन्तरता दिने इच्छा राखेका कारण रात्री विद्यालयमा पुरुष भन्दा महिला विद्यार्थीको उपस्थिति बढी हुने गरेको प्रधानध्यापक हुमगाईंको भनाइ छ ।

विद्यालयमा १३ शिक्षक कार्यरत हुनुहुन्छ । पछिल्लो शैक्षिक सत्रमा मात्र करिब ९० जना विद्यार्थी भर्ना भएको र रात्री पठनपाठनमा विद्यार्थीको संख्या उल्लेख्य बन्दै गएको विद्यालय प्रशासनले जनाएको छ । वि.सं. २००४ सालमा स्थापना भएको विद्यालय सरकारले सञ्चालन गर्दे आएको नेपालभरको एकमात्र रात्री विद्यालय हो । ग्रामीण क्षेत्र भन्दा सहरी क्षेत्रमा यस प्रकारका विद्यालयको आकषर्ण देखिन्छ ।

अतिरिक्त विद्यालय अन्तर्गत अनौपचारिक शिक्षाको निर्देशिका र पाठ्यक्रम भित्र रहेर स्थानीयतहबाट स्वीकृति लिएर विद्यालय सञ्चालन गर्न पाउने अधिकार सुरक्षित छ । यस्तो प्रावधानले रात्री विद्यालय बन्द हुने अवस्था भए पनि नन्दी रात्री विद्यालयलाई नमुनाको रुपमा लिएर सञ्चालन गर्दै आएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनुभयो । ‘एउटा मात्र बाँकी रहेको रात्री विद्यालय बन्द हुने अवस्था छैन’, प्रवक्ता शर्मा भन्नुहुन्छ, ‘मन्त्रालयले यसलाई नमुनाको रुपमा पनि लिएर सञ्चालन गर्दे आएको छ ।’

विषेश विद्यालय बनाउन माग
अभिभावकले यसलाई रात्रीसँगै विषेश विद्यालयको रुपमा घोषणा गरेर पठनपाठन गर्नुपर्ने माग गर्दे आएका छन् । उमेर र लैङ्गिक हिसाबले अन्य विद्यालयसँग तुलना गर्न नमिल्ने भएकाले असमान उमेर र लैङ्गिक हिसाबले अत्यावश्यक रहेकाले विषेश विद्यालय बनाउनुपर्ने नक्सालका चन्दकान्त पौडेलले सुझाव दिनुभयो ।

विद्यालयमा ११ वर्षदेखि ६० वर्ष उमेर समूहका विद्यार्थी पठनपाठन गर्छन् । विद्यालय साँझ पाँच बजेदेखि नौ बजेसम्म कक्षा सञ्चालन हुने गरेको छ । दिवा भन्दा रात्री समय पठनपाठन गर्दा हो–हल्ला कम हुने, घरायसी तनावसमेत कम हुने भएकाले पढाइ प्रभावकारी हुने विद्यार्थीले बताएका छन् । रात्री विद्यालयमा उज्यालोका लागि विद्युत र सोलारको मात्र खर्च बढी हुने विद्यालय प्रशासनको भनाइ छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीलगायत नेताले कक्षा १० सम्म पढ्नु भएको विद्यालयको तथ्याङ्कमा उल्लेख छ । विद्यालयबाट एसएलसी पास गरेकामध्ये नेपाल सरकारको कर्मचारी प्रशासन, प्रहरी र नेपाली सेनाको उच्चपदमा पुग्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?