logo
२०८१ बैशाख ७ शुक्रवार



कोरोनाले विथोलिँदै शैक्षिकसत्र, चैतमा पूरा हुन मुस्किल

शिक्षा |


कोरोनाले विथोलिँदै शैक्षिकसत्र, चैतमा पूरा हुन मुस्किल


काठमाडौं,मङ्सिर ५ गते । दशैँ–तिहार सकिएसँगैै देशभरका विद्यालयले भौतिक रुपमा कक्षा सञ्चालन गरेका छन् । सरकारले यो वर्षकौ शैक्षिकसत्र असार १ गतेबाट चैत मसान्तसम्मलाई तोकेको छ । वैशाख १६ गतेबाट निषेधाज्ञा सुरु भएसँगै विद्यालय बन्द थिए । पठनपाठन ठप्प थियो । कोरोना संक्रमण घट्दै गएसँगै विद्यालय भौतिक रुपमै सञ्चालन हुन थालेका हुन् ।

सरकारको मापदण्डलाई आधार भान्ने हो भने अब पाँच महिनामा शैक्षिकसत्र सकिन्छ । तर, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिकसत्र चैत मसान्तमै सक्ने सोच बनाएको छ । एक महिनाको अवस्थालाई हेरेर मात्र शैक्षिकसत्रको बारेमा बोल्न सकिने शिक्षा तथा मानव स्रोत विकास केन्द्र सूचना अधिकारी माधवप्रसाद दाहालले बताउनुभयो । ‘पुस मसान्तसम्म विद्यालयले कति पाठ्यक्रम सक्छन् हेरौँ ,त्यसपछि मात्र शैक्षिकसत्रलाई चैतमै सकेर वैशाखदेखि नयाँ सत्र सुरु गर्ने वा जेठ मसान्तसम्म लाने भन्ने विषयमा छलफल हुन्छ,’ दाहालले भन्नुभयो ।

मन्त्रालय नै अन्यौलमा
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले शैक्षिकसत्र चैतमै सकिन्छ भनेर भन्न नसकिने बताउनुभएको छ । ‘हामीले यस वर्षको शैक्षिकसत्र चैत मसान्तसम्म सक्ने त भनेका हौँ तर एक–डेढ महिनापछि मात्र शैक्षिकसत्र कहिले सकिन्छ भनेर भन्न सकिन्छ,’ शर्माले भन्नुभयो ।
सकेसम्म चैत्र मसान्तमै शैक्षिकसत्र सक्ने योजनमा लागेको उहाँको भनाइ छ । ‘सकेसम्म यो वर्षको शैक्षिक सत्र चैत्र मसान्तमै सक्ने योजना छ तर एक महिनामा विद्यालयले पाठ्यक्रम कति सके त्यो बुझ्छौँ, त्यसपछि मात्र शैक्षिकसत्रको बारेमा टुङ्गो लाग्छ,’ शर्माले भन्नुभयो ।

२०७७ सालबाटै बिथोलियो शैक्षिकसत्र
कोरोनाका कारण २०७७ सालबाट नै शैक्षिकसत्र बिथोलिएको छ । २०७७ सालको पहिलो महिनाबाटै विद्याल बन्द भए । विद्यार्थीको पढाई प्रभावित भयो । योसँगै शैक्षिक क्षेत्र पनि बिथोलिएको छ । ०७७ सालको शैक्षिकसत्रलाई नै लम्ब्याउनु परेको थियो । वैशाखबाट सुरु भएको शैक्षिकसत्र चैत्र मसान्तमा सकिनु पर्ने भए पनि ०७८ को जेठ मसान्तसम्म लम्ब्याइएको थियो । असार १ गतेबाट सुरु भएको शैक्षिक सत्र १० महिनामै सकेर चैत्र मसान्तमा सक्ने सरकारको सोच थियो । तर, ०७८ सालको शैक्षिकसत्र पनि केही पर सर्न सक्ने मन्त्रालयका प्रवक्ता शर्माको भनाइ छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रको सोच भने यो वर्षको शैक्षिकसत्र चैतमै सकेर आगामी वैशाखबाट नियमित शैक्षिक सत्र कायम गर्ने रहेको छ ।

शैक्षिकसत्र समापनमा हतार गर्नु हुँदैन : विज्ञ
शिक्षाविद् प्रा.डा बालचन्द्र लुइटेलले यो वर्षको शैक्षिक सत्र चैत्र महिनामै सक्न हतार गर्न नहुने बताउनुभएको छ । विद्यार्थीले अब बाँकी रहेको समयमा पाठ्यक्रममा भएका सम्पूर्ण कुरा सिक्न नसक्ने भएकाले यो शैक्षिक सत्रलाई जेठ मसान्तसम्म लम्ब्याउनुपर्ने बताउनुभयो । ‘अब बाँकी पाँच महिनामा विद्यार्थीले के सिक्ने ? शिक्षकले कति पढाउने ? हतारमा पाठ्यक्रम सकेर विद्यार्थीले केही बुझ्दैनन् । यो वर्ष जेठ मसान्तसम्म, अर्को वर्ष वैशाख त्यसपछिको वर्षमा चैत्रमा ल्याउन सकिन्छ,’ उहाँले भन्नुभयो । विद्यार्थीलाई सहज हुनेगरी शैक्षिक सत्र कायम गर्नुपर्ने उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?