logo
२०७८ माघ ५ बुधवार

  रङ्गमञ्च  



'नारीले जे भोग्छन् त्यो पुरुषले भोग्नै पर्दैन, भोग्नै सक्दैन'

मनोरञ्जन |


'नारीले जे भोग्छन् त्यो पुरुषले भोग्नै पर्दैन, भोग्नै सक्दैन'
तस्बिर : मनोजरत्न शाही


काठमाडौं,मङ्सिर १ गते । ‘म गर्भवती भइसकेँ । तिमी को हौं ? आफ्नो वास्तविक रुप भन । नत्र म जान दिन्नँ,’ रुक्मणीले पचली भैरवलाई भन्नुहुन्छ । त्यसपछि पचली भैरव आफ्नो रुप देखाउन बाध्य हुनुहुन्छ । तर, त्यसका लागि उहाँको सर्त हुन्छ ।’ म मन्त्र फुकेर अक्षता दिन्छु । त्यसले मलाई हान । म आफ्नो रुपमा आउँछु । र, त्यसपछि फेरि मनुष्यको रुपमा फर्काउन मलाई त्यहीँ अक्षताले हान्नुपर्छ,’ पचली भैरवले रुक्मिणीलाई भन्नुहुन्छ ।

टेकुस्थित कौशी थिएटरमा प्रदर्शन भइरहेको पचली भैरव नाटकको एउटा दृश्य हो, यो । कोरोना सङ्क्रमण कम भएसँगै रङ्ममञ्च गुल्जार बन्दै छ । रंगकर्मीको मुहारमा हाँसो छाएको छ । जुन थिएटरमा अहिले पचली भौरवसम्बन्धी नाटक मञ्चन भइरहेको छ । कात्तिक २५ गतेदेखि शुरु भएको उक्त नाटक मंसिर ४ गतेसम्म मञ्चन हुनेछ । जसको निर्देशन चन्द्रमान मुनिकारले गर्नुभएको छ भने नाट्य रुपान्तरण र सह–निर्देशन इँगिहोपो कोंइच सुनुवार र सबै व्यवस्थापन सुदन कुनिकारले गर्नुभएको छ । उहाँ नै नाटकमा पचली भैरवको अवतारमा देखिनुभएको छ ।

निर्देशक चन्द्रमान मुनिकार भन्नुहुन्छ, ‘दशैंको पाचौं दिन पचिमह्रमा टेकुस्थित पचली भैरवको जात्रा हुन्छ । पचली भैरवको मूर्तिलाई खटमा राखी टेकुबाट नगर परिक्रमा गराइन्छ । त्यसको भोलिपल्ट खोकनाको सिकालीमा रुद्रयाणी देवगणहरुको नृत्य प्रदर्शन हुन्छ ।’

यस कथामा पचली राजाको अलावा महिलाले समाजमा भोग्नुपर्ने पीडालाई दर्शाउन खोजिएको छ । पचली भैरवको दरवारबाट निस्किएपछि रुक्मणीले बाटोमा भोग्ने र अन्तमा पाउने सिद्धिमै नाटक घुमेको हुन्छ ।

पचली भैरवको कथा
पहिलो किराँत राजाका रुपमा मानिँदै आएका यलम्बरलाई आकाश भैरवका रुपमा नेवार समुदायले पुज्दै आएको सुदन मुनिकार बताउनुहुन्छ । टेकुस्थित पचली भैरवलाई भने किराँत वंशको दोस्रो राजा पलम्बरका रुपमा समेत लिइन्छ । कसैले पलम्बरलाई तेस्रो राजा पनि भन्ने गर्छन् । नाटक त्यही पलम्बर अर्थात् पचली भैरवमाथि रहेको मुनिकारको भनाइ छ ।

पलम्बर पनि यलम्बर जत्तिकै तन्त्र साधना र शक्ति भएका राजा थिए । फर्पिङसँगै बनेपाका राजा रहेका उहाँ एकै दिनमा काशीमा गएर स्नान गरेर फर्पिङमा आएर राज गर्नुहुन्थ्यो भनिन्छ । दिनभर राज गरेर थकान मेटाउन उहाँ बागमती नदी किनारमा रहेको पंचलिंगेश्वर क्षेत्रमा आराम गर्न आउँनुहुन्थ्यो । मनुष्यको भेषमा ध्यान र तन्त्र साधना गर्दा त्यहीँ घुम्दैगर्दा पचली भैरवको भेट त्यहाँकी एक राम्री युवतीसँग हुन्छ । ती युवतीको नाम हुन्छ रुक्मणी ।

उनीहरु बीच भेट हुन्छ । दुवैजना एक अर्काप्रति आकर्षित पनि हुन्छ्न् । माया बस्छ । तर, रुक्मणीलाई पचली भैरवको वास्तविक स्वरुप थाहा नै हुँदैन ।

‘तिमी को हौं ?’ भनेर रुक्मिणीले पचली भैरवलाई बारम्बार सोध्नुहुन्छ । पचली भैरवले रुक्मिणीको प्रश्नलाई टारदिनुहुन्छ । प्रगाढ प्रेम सम्बन्धसँगै शारीरिकसम्बन्ध हुन्छ । रुक्मिणी गर्भवती बन्न्नुहुन्छ । बिहे नगरी पेटमा बच्चा भएपछि टोलभरी हल्ला हुन्छ । आमाले केटो को हो ? बुझ्न रुक्मिणीलाई दवाव दिनुहुन्छ । त्यसपछि रुक्मणीले शास्त्रीय संगीतबाट पचली भैरवलाई बोलाउनुहुन्छ ।

पचली भैरवले भने झैं रुक्मणीले अक्षताले हान्नुहुन्छ । पचली भैरव मानिसबाट आफ्नो असली रुपमा आउँनुहुन्छ । रुक्मणी भैरवको असली रुप देखेर केही बेर अचेत जस्तै हुनुहुन्छ र डराएर भाग्नुहुन्छ । रात बित्छ । बिहान सूर्योदयको समय नजिकिएको हुन्छ । पचली भैरवलाई मनुष्यको रुपमा आउन अक्षता चाहिएको हुन्छ । तर, उहाँले कतै पनि अक्षता भेटाउँनुहुँदैन ।

पचली भैरवबाट गर्भवती भएकी रुक्मणीले बच्चा पाउँनुहुन्छ । समाजले उहाँलाई हेर्ने दृष्टिकोण नै नकारात्मक हुन्छ । छोरालाई साथिहरुले बिना बाबुको छोरा भनेर जिस्काउछन् । आफ्नी आमालाई आफूले भोग्नु परेको पीडा र तिरस्कार बारे सुनाउँछन् ।

छोराको कुरा सुनेर रुक्मणीको मन दुःखी हुन्छ । त्यसपछि पचली भैरवलाई आह्वान गर्ने निर्णयमा पुग्नुहुन्छ । रुक्मणीको चित्कार सुनेर पचली भैरव आउँनुहुन्छ । छोरा, आफ्नो बुवा देखेर खुशी हुन्छन् र मुसुक्क हाँस्छन् ।

समाजबाट पीडा भोगेकी उहाँले आफू र छोरालाईसँगै लैजान अनुरोध गर्नुहुन्छ । पचली भैरवले उक्त आग्रह स्वीकार्नुहुन्छ । रुक्मणी र छोरा दरबार पुग्छन् । तर, समाजको विभेद र कुरा काट्ने प्रवृत्ति रोकिँदैन। अन्ततः दरबार छाड्ने निर्णय गरेर उनीहरु गन्तव्यहीन यात्रामा निस्किन्छन् ।

यसमा सबैभन्दा शक्तिशाली भनिएका र संसार जितेका राजा पनि प्रेमसामु पारजित भएको देखाउन खोजिएको छ । प्रेमका बेला रुक्मणीले भोग्नुपरेको पीडालाई नाटकमा उठाएको देख्न सकिन्छ । रुक्मणीलाई राजादेखि प्रजाले गर्ने तिरस्कार ,समाजमा महिलालाई हेर्ने दृष्टिकोण र संघर्षलाई यस नाटकमा समेटीएको छ ।

त्यसैले नाटकमा रुक्मणीले पचली भैरवलाई सोध्नुहुन्छ– नारीले जे भोग्छन् त्यो पुरुषले भोग्नै पर्दैन, भोग्नै सक्दैन । अनि भोग्दै नभोगेको कुरा कसरी बुझ्नुहुन्छ ?

यस नाटकमा प्रेमका साथसाथै संस्कृतिलाई पनि झल्काइएको व्यवस्थापक सुदन मुनिकार बताउनुहुन्छ । प्रचीन कालका कथालाई यसरीनाटकमा प्रस्तुत गर्दा धेरै संघर्ष गर्नुपर्ने उहाँ सुनाउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?