logo
२०८० चैत्र १६ शुक्रवार



राम्रो शिक्षा दिऊँ अभियान प्रभावकारी

शिक्षा |
खुला |


राम्रो शिक्षा दिऊँ अभियान प्रभावकारी


उपेश महर्जन

काठमाडौँ, कात्तिक २ गते । करिब डेढ दशकदेखि धनुषाका चारवटा स्थानीय तहमा सञ्चालित ‘निक शिक्षा दिअ’ अभियानले राम्रो प्रभाव पारेको पाइएको छ ।
यो अभियानले दलित र मुस्लिम समुदायका बालबालिकालाई विद्यालयसम्म पु¥याउन शैक्षिक सामग्री वितरण गरिरहेको छ । यसको प्रभावस्वरूप केही वडाका सबै बालबालिका विद्यालय भर्ना भएका छन् । लक्ष्मीनियाँ गाउँपालिकासहित नगराइन, सबैला र गणेशमान चारनाथ नगरपालिकामा आसमान नेपालको यो परियोजना सञ्चालित छ ।

परियोजनाका टिम लिडर दिलीप यादवले कोरोना भाइरस (कोभिड–१९) महामारीको पहिलो र दोस्रो लहरमा बालबालिकाको सिकाइको निरन्तरता, मनोसामाजिक असर तथा प्रभाव कम गर्न शिक्षण सिकाइका विभिन्न विकल्प प्रयोग गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार एक टोल, एक शिक्षक परिचालन गर्दै अभ्यास पुस्तिका वितरण, ‘एकले पाँच जनालाई पढाउने’ र ‘घरमे स्कुल, अभिभावक बनु शिक्षक’ अभियान र मोबाइलबाट शिक्षण तथा प्रश्नोत्तर सोध्ने, हाजिरीजवाफ प्रतियोगिता गर्ने अभियान सञ्चालन भएका थिए ।
आमा समूह, छात्रा सञ्जाल, बालक्लब गठन गरेर सामाजिक र आर्थिक रूपमा पछाडि परेर विद्यालय जान नपाएका बालबालिकालाई विद्यालयसम्म पु¥याउने, विद्यालयमा पनि निरन्तर अनुगमन र विभिन्न शैक्षिक गतिविधि हुँदै आएका छन् ।
यसरी क्रियाकलाप भएपछि करिब ८० प्रतिशत विद्यार्थी नियमित रूपमा विद्यालय पुगेका र ३० प्रतिशतबाट बढेर ६० प्रतिशतसम्म शैक्षिक क्षमता बढेको आसमान नेपालको तथ्याङ्कमा उल्लेख छ । गणेशमान चारनाथ नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख छोटी मुखियाले लामो समयदेखि सञ्चालनमा आएको यस परियोजनाका कारण शैक्षिक गतिविधिमा राम्रो प्रभाव परेको बताउनुभयो ।

गणेशमान चारनाथ नपा–१०, लालटोलको जनता राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययन गर्नुभएका मुखियाले १५ वर्षअघिको स्मरण गर्दै नयाँ भवन, शौचालय, खानेपानीलगायतको भौतिक सहयोग गरेपछि पढाइको वातावरण बनेको बताउनुभयो ।
सोही विद्यालयका शिक्षक साफिद राइनले धनुषा जिल्लामा रहेका मुस्लिम समुदायले सरकारी विद्यालयबाट शिक्षा लिन थालेको बताउनुभयो । उहाँका अनुसार मदरसामा रहने मौलानाले मदरसालाई नेपाल सरकारको सरकारी निकायमा दर्ता गरेसँगै सरकारी बजेटसहित शैक्षिक रूपमा फाइदा लिएका छन् । अहिले ती विद्यार्थीले उर्दु र कुरानको शिक्षासँगै नेपाली, अङ्ग्रेजी, विज्ञान, गणितलगायतका शिक्षा पनि लिएका छन् ।
यस्तै लक्ष्मीनियाँ गाउँपालिकाको नगडियास्थित ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमोदकुमार लाल कर्णले यस अभियानबाट शिक्षक, अभिभावक र विद्यार्थीमा पढ्ने तथा पढाउनुपर्छ भन्ने जागरण बढेको बताउनुभयो । सामाजिक परिचालिका पुनम यादवले यस अभियानका कारण विद्यार्थी, शिक्षक र अभिभावकमा पढाउनुपर्छ भन्ने धारणा बढेको बताउनुभयो ।

गणेशमान चारनाथ नपाको गौरी छात्रा सञ्जालकी सचिव अर्मिसाकुमारी अधिकारीले विगतमा विद्यालय नजाने मुस्लिम समुदायका बालबालिका पढ्नुपर्छ भनेर विद्यालयमा जान थालेको बताउनुभयो ।
होटलमा बालश्रम गरिरहनुभएका लक्ष्मीनिया गाउँपालिका–३ का शङ्कर धन्कारले यस संस्थाबाट दुई वर्षअघि उद्धार गरेर अध्ययन गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । अपाङ्गता भएर हिँड्डुल गर्न असमर्थ सात वर्षका आशिक महरा पनि दातृ निकायले उपलब्ध गराएको ह्विलचेयर पाएर खुसी हुँदै नियमित विद्यालय गइरहनुभएको छ ।
घरभन्दा टाढा रहेको विद्यालयमा धेरै कष्टका साथ आमाले उहाँलाई पिठ्यूँमा बोकेर पु¥याउनुहुन्थ्यो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?