logo
२०८१ बैशाख १३ बिहीवार



न्यून विद्यार्थी भए भौतिक कक्षा उपयुक्त

शिक्षा |


न्यून विद्यार्थी भए भौतिक कक्षा उपयुक्त


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २६ गते । न्यूून विद्यार्थी भएका विद्यालयलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराएर भौतिक रूपमा विद्यालय सञ्चालन गरिनु सान्दर्भिक हुने शिक्षा क्षेत्रका सरोकारवालाले बताउनुभएको छ । कोरोना सङ्क्रमण न्यूून भएका तथा विद्यालयमा एक सय जनाभन्दा कम विद्यार्थी अध्ययन गर्ने विद्यालयलाई अब स्वास्थ्य सुरक्षालाई विचार गरी भौतिक रूपमै सञ्चालन गर्नुपर्ने सरोकारवाला पक्षको सुझाव छ ।
नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी न्यूून विद्यार्थी भएको र जोखिमसमेत नभएको विद्यालयलाई दशैँलगतै विद्यालय सञ्चालका लागि प्रेरित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । धेरै जिल्लामा दशैँअघि पनि विद्यालय खुलेको र दशैँपछि पूर्ण रूपमा खुला हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
सरकारी तथ्याङ्कअनुसार नेपालमा २५ जनाभन्दा कम विद्यार्थी अध्ययन गर्ने विद्यालयको सङ्ख्या तीन हजार आठ सय छ । यसका साथै ५० जनाभन्दा थोरै विद्यार्थी अध्ययन गर्ने विद्यालय नौ हजारको र एक सयभन्दा कम विद्यार्थी अध्ययन गर्ने विद्यालयको सङ्ख्या १३ हजार पाँच सयको हाराहारीमा छन् ।
धेरै विद्यालयमा विद्यार्थीको सङ्ख्या र जनसङ्ख्याको चापसमेत धेरै नभएको अवस्थामा विद्यालय खोल्नुपर्छ भन्ने आफूहरूको मान्यता रहेको उहाँले बताउनुभयो ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष कृष्ण थापा जोखिमको अवस्था हेरी अब विद्यालय सञ्चालन गरिनुपर्ने र सरकारले आफ्नो अनुगमनको पाटो सशक्त बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । स्थानीय सरकारले आफ्नो अनकूूलतामा विद्यालय खोल्दै गएको उहाँले बताउनुभयो ।
दशैँअघि नै धेरै ठाउँमा विद्यालय खुलेको र दशैँपछि यो क्रम झनै बढ्ने उहाँको भनाइ छ । दशैँपछि वैकल्पिक विधिबाट पढाउने क्रम लगभग न्यूून हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?