logo
२०८१ बैशाख ८ शनिवार



बालबालिकालाई टेण्टमै पठनपाठन

शिक्षा |


बालबालिकालाई टेण्टमै पठनपाठन
फाईल तस्विर


 नवीन लामिछाने मनाङ, असोज ६ गते ।जिल्लाको प्रवेशद्वारमा रहेको सुन्दर बस्तीको गाउँ बाढीपहिराले तहसनहस भएको छ । जिल्लाकै सुन्दर बस्तीमध्ये एकमा पर्ने तालगाउँमा रहेको भानु माध्यमिक विद्यालय गत असार १ मा मस्र्याङ्दीमा आएको बाढीले गाउँसँगै डुबानमा प-यो ।

गाउँमा बाढी पसेपछि विद्यालय जोगिने कुरै भएन । गाउँवासी जङ्गलमा स्थानान्तरण भए । विद्यालयको भौतिक संरचना केही मात्र देखिन्छ । अझै पनि बस्तीमा बाढीको जोखिम उत्तिकै छ । पहिलेको बस्तीमा गाउँवासी बस्ने अवस्थामा छैनन् । झन् विद्यालयमा पठनपाठन गर्न सक्ने अवस्था नै छैन ।

भविष्यका कर्णधारका रूपमा विकास भइरहेका बालबालिकाको भविष्य बनाउने जिम्मेवारी विशेषगरी जनप्रतिनिधिलाई दिइएको छ । जनप्रतिनिधिको सक्रियतामा बाढीपीडित बालबालिका पठनपाठनको व्यवस्था गरिएको छ । बालबालिकाको भविष्य बनाउनका लागि टेण्टमा नै पठनपाठन गर्ने व्यवस्था गरिएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बालबालिकाको भविष्य बनाउने जिम्मेवारी भएकाले टेण्टमा नै भए पनि पठनपाठनको व्यवस्था गरिएको छ । “प्रकृतिले बालबालिकाको भविष्यमा नै पु-याएको क्षतिको पूर्ति गर्नुपर्ने जिम्मेवारी हाम्रो हो, भविष्य निर्माणका लागि टेण्टमा नै पढ्ने व्यवस्था गरिएको छ, पठनपाठन सुरु पनि भइसकेको छ”, अध्यक्ष घलेले भन्नुभयो ।

बाढीपहिराका कारण स्थानान्तरण भएका बालबालिकाको भविष्यलाई लक्ष्य गरी पठनपाठनको व्यवस्था गरिएको उहाँले बताउनुभयो । भर्खरै मात्र कोभिड–१९ बाट केही हदसम्म तङ्ग्रिएको अवस्थामा पुनः बाढीले थलिएका बेला गाउँपालिकाका जनप्रतिनिधिले सहयोग पु¥याएको भानु माविका प्रधानाध्यापक श्याम पन्थीले बताउनुभयो ।

उहाँका अनुसार जनप्रतिनिधिकै सहयोगले यहाँका बालबालिकाले पठनपाठन गर्ने भएका छन् । “उहाँहरुको सहयोगले अस्थायी तवरबाट टेण्ट टाँगी बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चतता गरिदिनुभएको छ”, पन्थीले भन्नुभयो ।

बालबालिकाको पठनपाठनका लागि ताल गुम्बाको प्राङ्गणमा व्यवस्थापन गरिएको छ । बाढीले बालबालिकाको मनोवैज्ञानिक असर पनि पारेको छ । यससँगै बाढीबाट बालबालिकामा पारेको मनोवैज्ञानिक असरलाई समेत निराकरण गरी उनीहरुको उज्ज्वल भविष्य निर्माणमा उहाँहरुको महत्वपूर्ण भूमिका र योगदानप्रति तालगाउँवासी खुसी भएका छन् ।

नासों–१ ताल गाउँस्थित भानु माविमा हालसम्म पनि मस्र्याङ्दी नदी बगिरहेको छ । तीन मावि र एक आधारभूत विद्यालयमा बाढीका कारण क्षति पुगेको छ । यी विद्यालयमा पठनपाठन गराउन सक्ने अवस्था नरहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नारायणप्रसाद रेग्मीले बताउनुभयो ।

“जोखिमको अवस्थामा तालगाउँका बालाबालिकाका लागि पठनपाठन सञ्चालन गर्न लागिएको छ, टेण्टमा नै तयारी गरिएको छ, बालबालिकाकाको नैसर्गिक अधिकारबाट बञ्चित गराउनु हुँदैन भनेर गाउँपालिकाको सहयोगमा तयारी गरिएको छ”, रेग्मीले भन्नुभयो । बाढीपहिरापछि मनाङमा कोभिड न्यूनीकरण भएसँगै विद्यालय खुला गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै नासों–६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाश ज्योति माविलाई एकतर्फ मर्स्याङ्दी नदी र अर्कोतर्फ दूधखोलाले क्षति पु¥याएको छ । कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा पठनपाठनका लागि मर्स्याङ्दी नदीमाथिको झोलुङ्गे पुलमार्फत जानुपर्ने भए पनि बाढीले पुल बगाएपछि विद्यालयसम्म पुग्नसमेत सकिँदैन ।

जिल्लाका चार माविमा मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँस्थित अन्नपूर्ण माविमात्रै बाढीबाट जोगिएको रेग्मीले जानकारी दिनुभयो । सदरमुकामस्थित चामे गाउँपालिका–४ स्थित नमुना विद्यालय लोकप्रिय माध्यमिकमा आउजाउका लागि नेपाली सेनाको श्रमदानमा फड्के र तारबार गरिदिएपछि पठनपाठन सञ्चालन भइसकेको छ । छात्राबाससहितको विद्यालयको एक चौथाइ भागमात्रै बाँकी रहे पनि पठनपाठन भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?