logo
२०७८ कार्तिक ९ मंगलवार

  दृश्य समाचार  



'इन्द्रजात्रा काठमाडौंको मात्र जात्रा होइन'

खुला |
समाज |


'इन्द्रजात्रा काठमाडौंको मात्र जात्रा होइन'


मनोजरत्न शाही / केशब गुरूङ्ग
काठमाडौँ, असोज २ गते । राजधानीमा इन्द्रध्वज ठड्याइएसँगै इन्द्रजात्रा सुरु भएको छ । इन्द्रदेवताको जात्रा नै इन्द्रजात्रा हो । विशेष गरी नेवाः समुदायले यसलाई “येँया” को रुपमा मान्ने गरेको संस्कृति तथा सम्पदामा कलम चलाइरहनु भएका सुरेश किरण मानन्धरले बताउनुभयो ।

इन्द्रलाई नेवाः भाषामा येँयाद्यः भन्ने चलन छ । “या” को अर्थ जात्रा हो । उहाँले भन्नुभयो, “इन्द्रजात्रा मृत्यु संस्कारसँग जोडिएको पर्व हो ।” यसमा मृत्यु संस्कारका धेरै जसो संस्कारहरु आउने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार इन्द्र स्वर्गका देवता, देवताहरुको राजा भएकाले खास गरी राजाहरुले आफ्नो राज्य सुरक्षा र विस्तारका लागि आफ्नो राज्यमा कसैले पनि हस्तक्षेप गर्न नसकोस् भन्नका लागि इन्द्रजात्रा मनाएको देखिन्छ ।

तर यो जात्रा जब नेपालमा प्रवेश गर्यो, इन्द्रमण्डलहरु इन्द्रलाई राजाको राजा मात्र नभइ मानिसको मृत्यु भइसकेपछि जाने ठाउँ स्वर्गकोसमेत देवता भएका कारणले मृत्युसँग जोडेर मनाएको पाइन्छ । जात्रा शुरु भएपछि विभिन्न पर्वहरु चलाइन्छ । जस्तो दागिङ्ग, इन्द्रलाई बाधेर राख्ने चलन, बौमत यि कुराहरु मृत्युसँग जोडेर आउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मृत्युसँग किन जोडिन्छ भने, इन्द्र स्वर्गका राजा हुन् । त्यसैले मृत्युसँग जोडेर यि पर्वहरु गरेको देखिन्छ ।

कसै–कसैले “येँ” भनेको काठमाडौँ, काठमाडौँमा मनाउने भएकाले यसलाई “येँया” भनेको पनि पाइन्छ । तर वास्तवमा यो काठमाडौँमा मात्र मनाइने भएकाले येँया भनिएको होइन । यो इन्द्रको जात्रा भएकाले इन्द्रजात्रा भनिएको हो । यो देशभर मनाइने जात्रा हो । यसमा तीनवटा देवताको जात्रा हुन्छ । ती देवताहरु इन्द्र, भैरव र कुमारी हुन् । यि तीन देवताको मूल जात्रा नै इन्द्रजात्रा रहेको उहाँको भनाइ छ ।

इन्द्रजात्रामा विभिन्न प्रकारका जात्राहरु जोडिएको उल्लेख गर्दै मानन्धरले भन्नुभयो, “इन्द्रजात्रा मूलः लिङ्गो टड्याउनेदेखि शुरु हुन्छ ।” यसमा विभिन्न कालखण्डका जात्राहरु जोडिदैँ आएको छ । पुराणमा उल्लेख रहेको भन्दै उहाँले भन्नुभयो, “ इन्द्रजात्रा मनाउँदा बाजाहरु धुमधामसँग बजाउनुपर्ने, खुशियाली मनाउनुपर्ने हुन्छ ।” यसमा लाखे, पुल्गीसि, दागि, बौमत, दिपखः मागली, व्यखः दश आवतार जस्ता कुरा पछि जोडेर आएको उहाँको बुझाइ छ ।

उहाँका अनुसार यसमा लिच्छिबि, मल्ल र शाहकालीन केही कुराहरु जोडिदैँ आएका छन् । अहिले थाहै नपाइ नयाँ–नयाँ तत्वहरु जोडिदैँ आएको उहाँको अनुभव छ । भैरवको मुखताः भैरवको मुखबाट जाँड अर्पण गर्ने चलनलाई भैरवको मुखताः भन्ने गरिन्छ । यसको चलन इन्द्रजात्रामा मात्र नभइ केही इतिहासको अभिलेखहरुमा पाटनको रातो माछिन्द्रनाथको जात्रा चलाउँदा पनि पहिले जाँड अर्पण गर्ने चलन रहेको उहाँले बताउनुभयो ।

उहाँले जाँड अर्पण गरेमा टाउको सम्बन्धी कुनै पनि रोग निको हुने किबदन्ती रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ राजा रणबहादुर शाहको पालामा राखिएको हनुमान ढोकाको हथुवाको मूर्ति हो ।” उहाँका अनुसार राजा रणबहादुर शाहलाई एक प्रकारको मनासिक रोग भएकाले त्यो निको पार्न मूर्ति स्थापना गरिएको भन्ने चलन छ । त्योसँगै ठूलो घण्टा पनि राखिएको छ ।

तर तान्त्रिक विश्वस गर्ने मानिसहरु भने तर्पण गर्ने चलन रहेको बताउनुभयो । इन्द्रजात्राको बेला गरेको तर्पण सामूहिक हुने भएकाले त्यो वर्षभित्र मृत्यु भएका सबैलाई तपर्ण हुने विश्वस छ । खास गरी पहिले राजाहरुले आफ्ना देशबासी रही मृत्यु भएकाहरुको सम्झनामा तर्पण गर्ने चलन थियो ।

यस्तै, कुमारी जात्रा एक छुट्टै जात्रा हो । यसको आफ्नै परम्परा छ । यो जात्राको इन्द्रजात्रासँग कुनै सम्बन्ध नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ कुमारीलाई नजर गराउने, घोडेजात्रा, चाँगुनारायणको यात्रा जुन कुमारीलाई देखाउने चलन छ ।” इन्द्रजात्रालाई खास गरी कुमारीले हेर्न आउने हो । इन्द्रलाई कुमारीले हेर्न आउँदा कुमारीको पनि दर्शन गर्न पाइने परम्परा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?