logo
२०८१ बैशाख ८ शनिवार



सिन्धुलीमा प्रभावकारी बन्दै ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम

प्रदेश |


सिन्धुलीमा प्रभावकारी बन्दै ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम


बाबुराम देवकोटा 
सिन्धुलीमाढी, भदौ ३० गते । सिन्धुली जिल्लाको विभिन्न सामुदायिक विद्यालयमा सञ्चालित ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ ।
उक्त कार्यक्रम सञ्चालन भएको विद्यालयमा विद्यार्थीले स्वास्थ्य जाँचको सुविधा विद्यालयमा पाउन थालेपछि अभिभावक समेत उक्त कार्यक्रमप्रति आकर्षित देखिएको सम्बन्धित विद्यालयले जनाएका छन् । उक्त कार्यक्रम सञ्चालन भएको कमलामाई नगरपालिका–४ स्थित जनज्योत मावि फोस्रेटारका अनुसार नर्सको व्यवस्था भएपछि छात्रा महिनावारी भएको बेला तीन/चार दिन विद्यालय नआउने क्रम रोकिएको छ । नर्सले प्रत्येक दिन विहान १० बजेदेखि ४ बजेसम्म र आवश्यक परेको बेलामा अन्य समयमा पनि विद्यार्थीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने काम हुँदै आएको छ ।
विद्यालयमा प्रत्येक तीन महिनामा बालबालिकाको स्वास्थ्य जाँच गरिन्छ । वर्षमा तीन पटकसम्म आँखा, मुख र कानको परीक्षण र सिकाइमा विशेष समस्या भएका विद्यार्थीहरूको शारीरिक, मानसिक र संवेगात्मक अवस्थाको परीक्षण गर्ने गरिएको विद्यालयकी नर्स सन्ध्या ढकालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘विद्यालयमा सात सयभन्दा बढी त छात्रा भएकाले महिनावारीको समस्या धेरै देखापरेको छ । छात्राहरु महिनावारी गडबडी, तल्लो पेट दुख्ने, रगत धेरै बग्ने लगायतका समस्या लिएर आउने गरेका छन् । विद्यार्थीहरू पनि अहिले आफैँ सचेत भएका छन् ।’
विद्यालयमा नर्स आएपछि शिक्षक, विद्यार्थी र अभिभावक सबैमा खुसी छाएको विद्यालयका प्रधानाध्यापक भीमविक्रम थापाले सुनाउनुभयो । उहाँका अनुसार विद्यार्थी र शिक्षक मात्रै होइन अभिभावक पनि स्वास्थ्यसम्बन्धी समस्याका साथै केही परामर्श लिनु परे नर्ससँगै सल्लाह लिने गरेका छन् । नर्सको व्यवस्थासँगै प्याड वितरण, सरसफाइ, मासहिस्टेरिया जस्ता समस्या समाधान भएको छ । 
‘अहिले विद्यालयमा कक्षा १ देखि १२ सम्मका सबै विद्यार्थीको रेकर्ड राखिएको छ,’ उहाँले भन्नुभयो, ‘अहिले हाम्रो विद्यालय एउटा सानो स्वास्थ्य चौकी जस्तै छ । एउटा बेड, प्राथमिक उपचारका उपकरण र सामान्य औषधिहरु सबै छ ।’ विद्यार्थीहरुलाई कुनै चोटपटक लाग्यो भने पढाइ छुटाएर स्वास्थ्य चौकी लानु पर्ने अवस्था थियो, अहिले विद्यालयमै नर्सको व्यवस्था भएपछि सहज भएको उहाँको भनाइ छ । विद्यालय नर्सले विद्यार्थीको स्वास्थ्य जाँच मात्र नगरी घण्टी खाली भएको बेलामा विद्यार्थीलाई स्वास्थ्य सम्बन्धी कक्षा लिएर सल्लाह दिने काम पनि हुँदै आएको उहाँले बताउनुभयो ।
विद्यार्थी सङख्या बढी भएको, त्यसमा पनि छात्राको सङख्या बढी भएको, दलित विद्यार्थी धेरै रहेका, स्कुलको जिपिए बढी आएको, पिछडा वर्ग रहेका र दुई कोठा उपलब्ध गराउन सक्ने विद्यालय हेरेर कार्यपालिकाको बैठकबाट निर्णय गराई विद्यालय छनौट गरेर तीन वर्षदेखि सिन्धुली जिल्लाका नौ वटै स्थानीय तहमा गरी २७ वटा विद्यालयमा उक्त कार्यक्रम सञ्चालन हुँदै आएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।
उक्त एकाइका अनुसार बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्लामा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ नौ वटै स्थानीय तहको तीन÷तीन विद्यालयमा सञ्चालन हुँदै आएको छ । पहिलो वर्ष नमुनाका लागि एउटा विद्यालयमा, दोस्रो वर्ष आठ वटा र तेस्रो वर्ष १८ वटा विद्यालयमा उक्त कार्यक्रम सञ्चालन भएको थियो ।
अहिलेको कोभिडको समयमा उक्त ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ झन् उपयोगी देखिएको मरिण गाउँपालिका शिक्षा शाखा संयोजक नवराज बराल बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘अन्य सामान्य अवस्थामा समेत उक्त कार्यक्रम विद्यार्थीको स्वास्थ्य समस्या समाधानका लागि उपयोगी थियो । झन् अहिले त कोभिडको समय छ, उक्त कार्यक्रमको महत्त्व अझ बढेर गएको छ ।’
मरिण गाउँपालिकामा तीन वटा विद्यालयमा उक्त कार्यक्रम सञ्चालन भई रहेको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?