logo
२०८१ बैशाख १२ बुधवार



सर्लाहीका अधिकांश पालिकामा विद्यालय खुले 

शिक्षा |
प्रदेश |


सर्लाहीका अधिकांश पालिकामा विद्यालय खुले 


जनार्जन खत्री
सर्लाही, भदौ २८ गते । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि बन्द गरिएका सर्लाहीका विद्यालय धमाधम खुल्न थालेका छन् । 
जिल्लाका २० वटा पालिकामध्ये अधिकांशमा विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्न थालिएको छ । पालिकाहरुले प्रशासनसँग अनुमति लिएर धमाधम विद्यालय खोलिरहेका हुन् । जिल्लाको लालबन्दी, बलरा, बरहथवा, मलङ्गवा, कविलासी, हरिपुर, बागमती, हरिवन, हरिपूर्वा, ईश्वरपुर र गोडैता गरी ११ वटै नगरपालिका भित्रका विद्यालय खुलिसकेका छन् । 
यस्तै, नौ वटा गाउँपालिकामध्ये विष्णु, बसबरिया, धनकौल, पर्सा र चन्द्रनगर गाउँपालिकामा पनि विद्यालय सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले स्वास्थ्यका मापदण्ड पालना गरी विद्यालय खोल्न धमाधम स्वीकृति दिने काम भइरहेको बताउनुभयो । 
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कुल विद्यार्थीको ३३ प्रतिशत मात्रैको भौतिक उपस्थितिमा पढाउन अनुमति दिए पनि विद्यालयहरूले आफू अनुकूल कक्षा सञ्चालन गरिरहेका छन् । विद्यार्थी सङ्ख्या धेरै नै रहेका केही विद्यालयहरुले विद्यार्थीहरुलाई आलोपालो बोलाएर कक्षा सञ्चालन गरिरहेको जनाएका छन् । 
थोरै विद्यार्थी सङ्ख्या रहेका विद्यालयहरुले भने सम्पूर्ण विद्यार्थीलाई एकैपटक बोलाएर कक्षा चलाइरहेका छन् । हरिवनस्थित महादेव जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक जयशङ्कर सिंहले सिफ्ट तोकेर पढाइ सञ्चालन गरिरहेको बताउनुभयो । 
उहाँले कोरोनाको सङ्क्रमण निकै कम भइसकेकाले सरोकारवालाहरुसँग समन्वय गरी अब पूर्ण क्षमतामा पढाइ सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिनुभयो । जिल्लाको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिकाका प्रमुख सियाराम रायले हरिपूर्वा नगरभित्र सोमवारबाटै सम्पूर्ण विद्यालयहरु सञ्चालन गरिएको जानकारी दिनुभयो ।   

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?