logo
२०८१ बैशाख ११ मंगलवार



गुल्मीमा भौतिक उपस्थितिमै धमाधम खुल्न थाले विद्यालय

शिक्षा |
खुला |


गुल्मीमा भौतिक उपस्थितिमै धमाधम खुल्न थाले विद्यालय
फाइल फाेटाे



तिलाचन पाण्डे
तम्घास, भदौ २६ गते । गुल्मीमा भौतिक उपस्थितिमै धमाधम विद्यालयहरु खुल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले विद्यालय संचालन गर्ने अधिकार स्थानीय तहलाई दिएपछि भौतिक उपस्थितिमै धमाधम विद्यालयहरु खुल्न थालेका हुन् ।
कालीगण्डकी गाउँपालिकाले भदौ १३ गतेबाट भौतिक उपस्थितिमै विद्यालयहरु संचालन गरेको शिक्षा शाखाका प्रमुख अग्निधर पराजुलीले जानकारी दिनुभयो । विद्यार्थी संख्या धेरै भएका विद्यालयहरुमा समूह विभाजन गरेर स्वास्थ्यका मापदण्डरु पालना गर्दै संचालनमा ल्याएको पराजुलीले बताउनुभयो ।
यस्तै, सत्यवती गाउँपालिकाले गत आइतबारबाटै विद्यालयहरु संचालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले जानकारी दिनुभयो । गाउँपालिकाको कार्यपालिकाको बैठककले विद्यालय संचालन गर्ने निर्णय गरेअनुसार नै विद्यालय संचालनमा ल्याइएको रेग्मीको दाबी छ ।
धुर्कोट गाउँपालिका पनि जोखिमको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्डलाई पालन गरी भदौको पहिलो हप्ताबाटै विद्यालयहरु संचालन गरेको गाउँपालिकाले जनाएको छ ।
चन्द्रकोट, इश्मा गाउँपालिका, मुसिकोट र रेसुङगा नगरपालिका २७ गते आइतबारबाट विद्यालयहरु संचालन गर्ने गरी तयारी गरेको प्रमुख प्रशासकीय अधिकृतहरुले जानकारी दिनुभएको छ । गुल्मीदरवार गाउँपालिकाले भने २८ गते सोमबारबाट विद्यालय संचालन गर्ने जनाएको छ ।
गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले स्थानीय तहलाई संक्रमणको अवस्था हेरेर विद्यालय संचालन गर्ने वा नगर्ने भन्ने बारेमा अधिकार दिदाँ नै उत्तम हुने भएकाले यस्तो निर्णय गरिएको दाबी गर्नुभयो ।
जिल्लामा ५११ सामुदायिक र ५४ संस्थागत गरी ५६५ विद्यालयहरुमा ६९ हजार ८१८ विद्यार्थी संख्या रहेको शिक्षा तथा समन्वय इकाई गुल्मीले जनाएको छ ।
जिल्लामा कोरोनाका सक्रिय संक्रमित ३२४ जना रहेका छन् भने संक्रमणका कारण ९६ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?