logo
२०८१ बैशाख ८ शनिवार



बर्दियाका चार पालिकामा ‘बालिका शिक्षाकालागि एक रुपियाँ अभियान’  

शिक्षा |
प्रदेश |


बर्दियाका चार पालिकामा ‘बालिका शिक्षाकालागि एक रुपियाँ अभियान’  


सिराज खान 
नेपालगञ्ज, भदौ २५ गते । अति विपन्न र गरिब परिवारका बालिकाको पढाई खर्चमा सहयोग गर्ने उद्देश्यले बर्दियाका चार वटा पालिकामा ‘बालिका शिक्षाका लागि एक रुपियाँ अभियान’ सञ्चालन गरिएको छ । 
बर्दिया जिल्लाको गुलरिया, बाँसगढी र राजापुर नगरपालिका तथा बढैयाताल गाउँपालिकामा रहेका परिवर्तनका संवाहक युवाले सो अभियान सुरु गरेका हुन् । 
ग्रामीण क्षेत्रका अधिकांश बालिकाहरुलाई पठनपाठनका लागि स्टेसनरी, पोसाक लगायतको समस्याका कारण उनीहरूको पढाई अवरुद्ध हुन थालेको पाइएपछि उनीहरूलाई सहयोग गर्ने उद्देश्यले सो अभियान सञ्चालन गरिएको अभियानमा संलग्न युवाले बताएका छन् । 
गाउँघरमा धेरै विपन्नले आफ्ना छोरीका लागि कलम, कपी र अन्य स्टेसनरी समेत खरिद गर्न नसक्दा विद्यालय पठाउन छाडेको पाईएपनि आफूहरूले ‘छोरी शिक्षाका लागि एक रुपियाँ अभियान’ सञ्चालन गरेर रकम संकलन सुरु गरेको बाँसगढीका परिवर्तनका संवाहक युवा सन्दीप पौडेलले बताउनुभयो । 
उहाँले सो अभियानमा सबैले सहयोग गरिरहेको जनाउँदै संकलन भएको रकमलाई विपन्नका छोरीहरुको शिक्षामा खर्च गरिने बताउनुभयो । 
सोही प्रकारको अभियान गुलरिया र राजापुर नगरपालिका तथा बढैयाताल गाउँपालिकामा पनि सुरु गरिएको पौडेलले बताउनुभयो । 
‘बालिका शिक्षाका लागि एक रुपियाँ अभियान’ सञ्चालन गर्नु निकै सकारात्मक काम भएको जनाउँदै गुलरिया नगरपालिकाका उपमेयर सुशिला गिरीले यो अभियानले धेरै विपन्नका छोरीहरुको पठनपाठनमा सहयोग पुग्ने बताउनुभयो । 
उक्त अभियान सञ्चालन गर्नु अघि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबले चारवटै पालिकाका १७ जना परिवर्तनका संवाहक युवालाई नेतृत्व विकास तथा अभियान सञ्चालन सम्बन्धी दुई दिने तालिम दिएको थियो । 
सो तालिमबाट उत्साहित भएर ती युवाले मात्रै आ आफ्नो तर्फबाट सो अभियानमा ३ हजार ५०० रुपियाँ संकलन गरेर अभियानको सुरुवात गरेको तालिमका सहजकर्ता निरज न्यौपानेले बताउनुभयो ।  
बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालको सहयोगमा बर्दियाका ती चार पालिकामा ‘बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम’ परियोजना सञ्चालन गरिरहेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?