logo
२०८१ बैशाख १३ बिहीवार



विद्यालय जान पाएपछि विद्यार्थी खुुसी

शिक्षा |
प्रदेश |


विद्यालय जान पाएपछि विद्यार्थी खुुसी


धनगढी समाचारदाता

धनगढी, भदौ २४ गते । गैर सिकाइमूलक कार्यमा समय बिताएका विद्यार्थी नयाँ शैक्षिक सत्र सुरु भएको अढाइ महिनापछि विद्यालय जान पाउँदा खुसी हुन थालेका छन् । कोरोना महामारीका कारण गत वैशाखदेखि विद्यालय बन्द गरिएको थियो । झन्डै पाँच महिनापछि गत आइतबारबाट कैलालीका विद्यालयहरू पूर्ण रूपमा खोलिएको छ ।

‘छ पास गरेर सात कक्षामा पुगेकाले विद्यालय जान हतार भएको थियो’, रामपुरस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत स्वप्निल चौधरीले भन्नुभयो, ‘बल्ल विद्यालय गएर नयाँ कक्षामा पढ्न पाउँदा खुसी लागेको छ ।’ आफ्नो विद्यालयले दुई ‘सिफ्ट’ गरेर पढाउने गरेको र आफूहरूको कक्षा ११ बजेपछि सुरु हुने गरेको उहाँले जानकारी दिनुभयो ।
गत वैशाखबाट दोस्रो लहरको कोरोना महामारी बढेसँगै मुलुकभरि नै बन्दाबन्दी गरिएको थियो । सरकारले यसअघि नै बन्दाबन्दी खुकुलो पारे पनि विद्यालय सञ्चालनको अनुमति भने दिएको थिएन । विद्यालय सञ्चालन नहुँदा विद्यार्थीले मोबाइल गेम खेल्ने, खेत, कुलोमा बल्छी खेल्ने जस्ता गैर सिकाइमूलक कार्यमा समय व्यतित गरेका थिए ।

विद्यालय सञ्चालन नभएपछि पढ्ने बानी नै बिग्रेको उल्लेख गर्दै पवेरास्थित जन कल्याण माध्यमिक विद्यालय अध्ययनरत विद्यार्थी सरस्वती चौधरीले अब विद्यालय जान पाउँदा खुसी लागेको उल्लेख गर्नुभयो । ‘विद्यालय नखुलेको बेला दिनभरि घरमै बस्नुपर्ने बाध्यता थियो’, उहाँले भन्नुभयो, ‘विद्यालय खुलेपछि साथीभाइसँग भेटघाट गर्न पाएको छु । विद्यालयमा समय बितेको पत्तै हुँदैन ।’
कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि विद्यार्थीको सिकाइ प्रणालीमा ठूलो असर परेको छ । उनीहरू धेरै समय खेल्नमै बिताएकाले बानी बिग्रिसकेको छ ।

विद्यार्थीको सिकाइमा असर पर्न नदिनका लागि इन्टरनेटको पहुँचमा रहेका क्षेत्रमा भर्चुअल (अनलाइन) विधिबाट पठनपाठन गराइएको थियो । तर सो सुविधाबाट वञ्चित ग्रामीण क्षेत्रका विद्यार्थी खेल्नमै तल्लीन थिए ।
यो जिल्लामा सङ्क्रमण घटेपछि गएको बिहीबार कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले विद्याल सञ्चालन गर्न पाइने निर्णय गरेको थियो । सो निर्णयपछि सरकारी, निजी धेरै विद्यालय खुलेका छन् । तर अभैm पनि कतिपय विद्यालय भने सञ्चालन भइसकेका छैनन् ।

डीसीसीएमसीको निर्णयअनुसार स्मार्ट लकडाउनको कार्यविधिको परिभित्र रहेर विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय कैलालीले आदेश जारी गरेको छ । यसैगरी यो जिल्ला अझै पनि ‘रेड जोन’मा रहेकाले सकेसम्म अनलाइबाट नै पठनपाठन गर्न सुझाव दिइएको छ ।
कैलालीमा ५७३ वटा सामुदायिक र ३५५ वटा संस्थागत गरेर जम्मा ९२८ वटा विद्यालय रहेका छन् । यो जिल्लामा बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म गरेर दुई लाख १५ हजार ७२१ जना विद्यार्थी रहेका छन् ।

चार पालिकाले गरे विद्यालय सञ्चालन

बैतडी समाचारदाताका अनुसार कोरोना सङ्क्रमितको दर कम हुन थालेपछि बैतडीका चारवटा स्थानीय तहले विद्यालयको पठन पाठन सञ्चालन गरेका छन् ।
कोरोना सङ्क्रमितको दर कम हुँदै गएपछि दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकाले यसअघि नै विद्यालयको पठनपाठन सञ्चालन गरेका हुन् भने दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाले आइतबारदेखि विद्यालय सञ्चालन गरेका छन् ।
कोरोनाको दोस्रो लहरपछि बन्द भएका विद्यालयको पठनपाठन सुरु भएको दशरथचन्द नगरपालिकाका शिक्षा शाखा संयोजक मोहन नाथले बताउनुभयो ।

शिक्षा संयोजक नाथले भन्नुभयो, “कोरोनाको प्रभाव कम भएपछि नगर क्षेत्रभित्रका सबै विद्यालयलाई भदौ २१ देखि २७ गतेसम्म पठनपाठन सञ्चालन गरिसक्न नगरपालिकाले निर्देशनसमेत दिएको छ ।”
विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य रूपमा पालना गर्नुपर्ने उहाँले बताउनुभयो । यसैगरी पाटन नगरपालिकाले पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको नगर प्रमुख केशवबहादुर चन्दले बताउनुभयो । बैतडीमा कुल १० वटा स्थानीयमा ५६२ वटा विद्यालय रहेका छन् ।
स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरेर स्थानीय तहले विद्यालय सञ्चालन गर्दा वैकल्पिक विधि अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो ।

दार्चुलामा पनि खुल्दै विद्यालय


दार्चुला समाचारदाताका अनुसार कोरोना सङ्क्रमणका कारण लामो सयमदेखि बन्द रहेका विद्यालय खुल्ने भएका छन् ।
दार्चुलामा आइतबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेको हो ।

विद्यालय सञ्चालन गर्दा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनभित्र रहेर सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनुभयो ।
विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको बारे अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ ।

अब स्थानीय तहले कोरोनाको अवस्था हेरेर विद्यालय सञ्चालन गर्न सक्ने प्रजिअ जोशीले बताउनुभयो । जनजीवन सहज बनाउँदै लैजानका लागि सरकारले स्मार्ट लकडाउनको अवधारणा अघि सारेको छ ।
दार्चुलाका नौवटा स्थानीय तहमध्ये आठवटा स्थानीय तह तत्कालका लागि कोरोना सङ्क्रमित शून्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । दार्चुलामा ११ जना मात्रै कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
लेकम गाउँपालिकाको लटिनाथ नमुना मावि चौपाता लगायत केही सीमित विद्यालयले साउनदेखि पठनपाठन सुरु गरेको भए पनि अधिकांश विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ छुटिरहेको छ ।

लेकम गाउँपालिकाका एक जना अभिभावकले भन्नुभयो, कोरोनालाई बहाना बनाएर विद्यार्थीहरूको भविष्यमाथि खेलबाड भइरहेको छ, शिक्षकहरूको तलब आएकै छ, अधिकांश शिक्षक त जिल्ला बाहिर र तराईका जिल्लाहरूमा घर गएर बसेका छन् । गाउँघरमा भएका शिक्षक पनि व्याक्तिगत काम गरिरहेका छन् तर सरकारको तलब बुझेर विद्यार्थीको भविष्(यबारे चासो, चिन्ता व्यक्त गरिएको देखिँदैन । आफ्नो जिम्मेवारी पूरा गर्न शिक्षकहरू समेत तत्काल जाग्नुपर्ने बेला आएको उहाँको भनाइ छ ।

सरोकारवाला निकायले समयमै निर्णय नगरे विद्यालय व्यवस्थापन समितिकै निर्णय गरेर भए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भौतिक रूपमा पठनपाठन गर्नुपर्ने लटिनाथ नमुना मावि चौपाताका प्रधानाध्यापक केशवराज विष्टले बताउनुभयो ।
स्वास्थ्य सतर्कता अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने र कोरोना खोप नपाएका शिक्षक, विद्यार्थीहरूलाई जतिसक्दो चाँडो खोपको व्यवस्था गर्नुपर्ने हुनैनाथ मावि रातामाटाका शिक्षक मनोज जोशीले बताउनुभयो ।

अछाममा वैकल्पिक पढाइ

अछाम समाचारदाताका अनुसार लामो समयसम्म कोरोना महामारीका कारण बन्द रहेका अछामका विद्यालयमा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण गर्न थालिएको छ ।
शैक्षिक सत्रको चार महिना बितिसक्दा पनि कोरोना सङ्क्रमणका कारण विद्यालयमा पठनपाठन सञ्चालन नभएपछि विद्यालयले वैकल्पिक शिक्षाबाट पठनपाठन थालिएको हो ।
विद्यार्थीको पठनपाठनमा अवरोधलाई कम गर्न टोल शिक्षा, सीयूजी सिमको प्रयोग र विद्यालयमा टोल अनुसारका विद्यार्थीलाई शिक्षा दिन थालिएको छ ।

‘टोल शिक्षा र सीयूजी सिमबाट कक्षा सञ्चालन भइरहेका छन् ।’ तुर्माखाँद गाउँपालिकाका शिक्षा शाखा प्रमुख टेकबहादुर साउँदको भनाइ छ । “छवटा टोलमा शिक्षक र विद्यार्थीको पालो लाएर टोल शिक्षा दिइरहेका छौँ,” सदरमुकाम मङ्गलसेनस्थित शोडषा माविका शिक्षक धनकुमार केसीले भन्नुभयो ।

कोरोना सङ्क्रमणको दर कम भएको र विद्यार्थीले शिक्षाबाट वञ्चित हुने अवस्था आएपछि कार्ययोेजना तयार पारेर वैकल्पिक माध्यमबाट शिक्षा दिन थालिएको बताइएको छ ।
कोरोनाका कारण सिकाइ अवरुद्ध भएको भन्दै शिक्षण सिकाइमा सहजीकरण गर्न टोल शिक्षाको तयारीमा रहेको चौरपाटी गाउँपालिका–५, लुङ्ग्रास्थित दयापिपलतोला माविले टोल शिक्षा तालिका बनाएर सूचना सार्वजनिक गरेको छ ।
वैकल्पिक शिक्षा दिनका लागि चौरपाटी गाउँपालिकाका हरेक वडामा छलफल भइरहेको गाउँपालिकाका सूचना अधिकारी कमल साउँदको भनाइ छ । शिक्षा विकास तथा समन्वय एकाइसँगको भर्चुअल बैठकमा वैकल्पिक माध्यमबाट विद्यार्थीको पठनपाठन सञ्चालन गर्न स्थानीय तहका प्रमुख, शिक्षा शाखा र प्रधानाध्यापकसँगै सरोकारवालाको केही दिनअघि छलफल भएको थियो ।

निषेधाज्ञाका जारी गरेर विद्यालय सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले रोकेका कारण विद्यार्थीहरू अध्ययन निरन्तरता नभएको भन्दै वैकल्पिक माध्यम अपनाइएको बत(ाइएको छ ।
लामो समयदेखि पठनपाठन बन्द हुँदा अछामका ४९० सामुदायिकसहित करिब ५०० विद्यालयमा अध्ययनरत बालबालिकाको पठनपाठन प्रभावित भइरहेको छ । बालबालिका विद्यालय जान नपाएपछि शिक्षा आर्जनबाट वञ्चित हुने भएकाले विद्यालय सञ्चालनमा ल्याउन अभिभावको माग रहँदै आएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?