logo
२०८१ बैशाख ४ मंगलवार



जुम्लाको हिमा गाउँपालिकामा पढाई सुरु

शिक्षा |
प्रदेश |


जुम्लाको हिमा गाउँपालिकामा पढाई सुरु


नेत्र शाही

जुम्ला, भदौ, २१ गते । जुम्लाको हिमा गाउँपालिकाले विद्यालयमा पठनपाठन सुरु गरेको छ । गाउँपालिकाले भदौ १५ गतेबाट विद्यालय सञ्चालनमा ल्याएको बताएको हो । 
गाउँपालिकाको शिक्षा शाखा प्रमुख शंकर धितालका अनुसार गाउँपालिकाको दुई क्षेत्रमा ८२ जनाको कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएकाले कार्यपालिको बैठकको निर्णय अनुसार विद्यालय स्वास्थ मापदण्ड पालन गर्ने गरी खुलाइएको जानकारी दिनुभयो । 
जिल्ला प्रशासन कार्यालयले शिक्षा शाखा प्रमुखहरुको उपस्थितिमा विद्यालय सुचारु गर्ने आधारको विषयमा आयोजना गरिएको बैठकमा विद्यालय सुचारु गरिएको शाखा प्रमुख धितालले जानकारी दिनुभयो । स्थानीय तहको निर्णय अनुसार १५ गते वाट आफ्नो विद्यालयमा स्वास्थ्य मापदण्ड अनुसार विद्यालय खुलमइएको कालिका माध्यमिक विद्यालयका शिक्षक खम्बा शाहीले जानकारी दिनुभयो । 
यसै गरी जिल्लाका स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुले कोरोना महामारीका बिचमा शिक्षा क्षेत्रमा भइरहेका गतिविधि र विद्यालय सञ्चालन गर्ने विषयको छलफल गरेका छन् । प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले शिक्षा शाखाले एक हप्ता भित्र शिक्षा क्षेत्रको जोखिम प्रतिकार्य योजना ल्याउने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार यस अघि जिल्ला कोभिड व्यवस्थापन समितिले पनि निर्णय गरेपनि शिक्षा शाखालाई जिम्मेवारी दिएर एक सातामा जोखिम कार्ययोजना सहितको प्रतिवेदन पेस गर्ने निर्देशन गरिएको हो । 
बैठकमा शिक्षा शाखा प्रमुखहरुले शिक्षा क्षेत्र धरापमा परिसकेकाले स्वास्थ्य क्षेत्रको मापदण्ड पालना गरेर विद्यालय खुलाउनुपर्नेमा जोड दिएका छन् । उनीहरूले विद्यार्थीहरु मेला, पर्व र अन्य काममा जाने भएकाले त्यहाँ भन्दा विद्यालयमै सुरक्षित हुनेमा सुझाव दिएका छन् । 
सरकारले पछिल्लो समयमा स्मार्ट लकडाउन कार्यविधि समेत बनाएको छ । स्वास्थ्यको मापदण्ड अनुसार हरेक साता कोरोना परीक्षण गरेर एक सय जनामा परीक्षण गरेमा ५ जना भन्दा मुनी पोजेटिभ आएमा मात्रै विद्यालय सुचारु गर्न पाइने मापदण्ड रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डाक्टर राजीव शाहले जानकारी दिनुभयो । उहाँका अनुसार त्यो कार्यविधिका विषयमा स्थानीय तहमा छलफल बहस र सचेतना आवश्यक रहेको छ । 

शिक्षा समन्वय इकाई प्रमुख मकरबहादुर भण्डारीका अनुसार प्राय शिक्षकहरुले खोप लगाई सकेको भन्दै छुटेकालाई अनिवार्य खोप लगाउने व्यवस्था गर्न अनुरोध गर्नुभयो । उहाँले आधार तयार गरेर मात्र विद्यालय खोल्नुपर्नेमा जोड दिनुभयो । यसै गरी चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाले ८ वटा विद्यालयमा कोरोना परीक्षण गरिएको स्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले जानकारी दिनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?