logo
२०८० चैत्र १६ शुक्रवार



तनहुँमा विद्यालय भौतिक उपस्थितिमै सञ्चालन

शिक्षा |
प्रदेश |


तनहुँमा विद्यालय भौतिक उपस्थितिमै सञ्चालन


अमरराज नहर्की
तनहुँ, भदौ १६ गते । कोभिड–१९ सङ्क्रमणले गर्दा बन्द रहेका तनहुँका विद्यालयमा भौतिकरुपमै उपस्थित भई विद्यालय सञ्चालन भएका छन् । स्थानीय तहले भौतिक दूरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गर्न सक्ने विद्यालयले उपस्थितिमा भौतिक रुपमा विद्यालय सञ्चालन गर्न पाउने भए पछि जिल्ला भित्रका अधिकांश विद्यालय खुलेका हुन् ।
नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको अवधारणा अनुरुप सञ्चालन गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘‘सङ्क्रमणको अवस्था हेरेर स्थानीय तहसँग स्वीकृत लिएर स्वास्थ्य मापदण्ड अपनाएर कक्षा सञ्चालन गर्न अनुमति छौँ सोही अनुरुप अधिकांश विद्यालय खुलेको पाएका छौँ’’ सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । स्थानीय तहले सामुदायिक तथा निजी विद्यालयमा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अवस्था नभए भौतिक उपस्थितिमै कक्षा कोठा सञ्चालन सूचना जारी गरेका छन् । सोही अनुरुपमा जिल्लाका सबै विद्यालयहरुमा प्रत्यक्ष रुपमा पठनपाठन सञ्चालन गरिएको छ । कुनै पनि विद्यार्थीको पढाइ अवरुद्ध नबनाउन प्रत्यक्ष विधि नै उपयुक्त भएकाले भौतिक उपस्थितिमै पठनपाठन गरिएको विद्यालयहरुले जनाएका छन् । दमौलीस्थित बाल मन्दिर माध्यामिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र खनालले अधिकांश अभिभावको न्यून आयस्तर भएकाले कतिपयको मोबाइल नहुने, धेरै बच्चा भएकाले मोबाइल भएपनि पर्याप्त मात्रा नहुने जस्ता कारणले पढाई सुनिश्चित हुने अवस्था नआएकाले अभिभावक, शिक्षकहरुसँग छलफल पछि प्रत्यक्ष विधिमा पढाई सञ्चालन गरिएको जानकारी दिनुभयो । ‘‘अभिभावक काममा जानु पर्ने र शिक्षकले पनि प्रत्यक्ष निगरानी राख्न नपाउँदा सिकाइ स्तर थाहा नहुने भएकाले प्रत्यक्ष रुपमा सञ्चालन गरेका छौँ’’ प्रधानाध्यापक खनालले भन्नुभयो । सोही विद्यालयका शिक्षक उपेन्द्र न्यौपानेले बजारको भिडभाडमा विद्यार्थीहरु हिँडी राख्ने, चौरमा पनि खेल्न दौडिने जस्ता कारणले गर्दा विद्यालयमा नै सुरक्षाका मापदण्ड पालन गरी पढाउन उपयुक्त भएको बताउनुभयो । ‘‘सबै क्षेत्र खुलिसके विद्यालय मात्रै बन्द गरेर हुँदैन, स्वास्थ्यको मापदण्ड पालना गरी सूचारु गर्न उपयुक्त भएकाले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गरेका छौँ’’ शिक्षक न्यौपानेलले भन्नुभयो । सम्भव भएसम्म वैकल्पिक विधिको प्रयोग गरी नियमित कक्षा सञ्चालन गर्ने त्यसो हुन नसके भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न स्थानीय तहले अनुरोध गरेका छन् । व्यास नगरपालिका प्रमुख वैकुष्ठ न्यौपानेले दिउँसो २ बजेसम्म सुरक्षाको मापदण्ड अपनाएर प्रत्यक्ष रुपमै सञ्चालन गर्न अनुमति प्रदान गरिएको जानकारी दिनुभयो । ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी कम भएकोले भौतिक दूरी कायम राख्न समस्या नभएको नगरप्रमुख न्यौपानलेले जानकारी दिनुभयो । ‘‘४० वटा विद्यालयमा १०० भन्दा कम विद्यार्थी छन् भौतिक दूरी कायम गर्न समस्या छैन, धेरै विद्यार्थी भएको स्थानमा समूह विभाजन गरी सञ्चालन गर्न अनुमति दिएका छौ’’ नगर प्रमुख न्यौपानले भन्नुभयो । अनलाइनको पहुँच नपुगेका विद्यार्थीको पठन पाठन अवरुद्ध हुन बाट रोक्नको लागि स्वास्थ्य मापदण्ड पालना गरेर आइतबारबाट विद्यालय सञ्चालन गर्ने अनुमति दिए अनुरुप कक्षा सञ्चालन भएको व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रराज रेग्मीले जानकारी दिनुभयो ।
स्वास्थ्य मापदण्ड पालना गरी बढीमा २५ जना विद्यार्थी उपस्थित गराई विद्यालय सञ्चालन गर्न अनुमति दिइएको रेग्मीले बताउनुभयो । साधन र स्रोत नपुगेको सुविधा विहीन अभिभावक र विद्यार्थीले भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्न माग भई आएकाले सञ्चालन गर्न अनुमति दिइएको रेग्मी बताउनुहुन्छ । मास्क र सेनिटाइजरको व्यवस्था गर्ने, प्रार्थना, खेलकुद गतिविधि सञ्चालन नगर्ने जस्ता मापदण्ड अपनाएर शैक्षिक गतिविधि सञ्चालन गर्न अनुमति दिइएको स्थानीय तहले जनाएका छन् । देवघाट गाउँपालिकाका अधिकांश विद्यालयमा भौतिक रुपमै सञ्चालन आएका छन् । ‘‘अनलाइनको पहुँच नपुगेको विद्यालयमा स्वास्थ्य सावधानी अपनाएर भौतिक दूरी कायम गर्दै खोल्नका लागि निर्देशन दिइएको देवघाट गाउँपालिकाका शिक्षा अधिकृत होमनाथ लामिछानेले जानकारी दिनुभयो । देवघाट गाउँपालिका–३ साराङघाट स्थित भृकुटी माध्यामिक विद्यालयका प्रधानाध्यापक तोपबहादुर कुँवरले अधिकांश विद्यार्थीका अभिभावक विपन्न भएकाले मोबाइलको पहुँच नपुग्ने, नेट राम्रोसँग नटिप्ने जस्ता समस्याले भौतिक रुपमै सञ्चालन गरिएको जानकारी दिनुभयो । विद्यार्थीहरुलाई बाटोमा आवतजावत गर्दा समेत भौतिक दूरी कायम गर्न, कक्षा कोठामा तोकिएको स्थानमा भौतिक दूरी कायम गरी बस्न, मास्क अनिवार्य लगाउन, सम्भव भए सेनिटाइजर समेत लिएर आउन, जस्ता नियम बनाइएको छ । बिरामी भएको वा ज्वरो आएको अवस्थामा विद्यार्थीहरुलाई विद्यालयमा उपस्थित नहुन, शरीरको तापक्रम नापेर मात्रै कक्षामा प्रवेश गराउने व्यवस्था स्थानीय तहले निर्देशन दिएका छन् ।
सबै अभिभावकको चाहाना प्रत्यक्ष विधि नै रहेकोले सुरक्षाका मापदण्ड पालना गरी भदौ २० गतेबाट प्रत्यक्ष रुपमै कक्षा सञ्चालन गर्ने निर्णय भएको दमौलीस्थित सत्यवती माध्यामिक विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । सो विद्यालयमा दुई हजार ५ सय विद्यार्थी अध्ययन गर्छन् । सिफ्ट माध्यमबाट कक्षा सञ्चालन गरेर विद्यार्थीहरुको चाप घटाएर प्रत्यक्ष रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय भएको प्रधानाध्यापक पौडेल बताउनुहुन्छ । सहरी क्षेत्रका विद्यालयले अनलाइन प्रणालीमार्फत कक्षा सञ्चालन गरिरहे पनि ग्रामीण क्षेत्रमा भौतिक तथा अनलाइन दुवै रुपमा कक्षा सञ्चालन हुन सकेको थिएन । भौतिकरुपमा विद्यालय सञ्चालन गरिएसँगै विद्यार्थीहरु मास्कको प्रयोग सहित विद्यालय जान थालेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?