logo
२०८१ बैशाख १३ बिहीवार



विद्यालय खुलाउने जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णय

शिक्षा |
प्रदेश |


विद्यालय खुलाउने जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णय


राजन रावत
हुम्ला, भदौ १३ गते । लामो समय बन्द रहेका जिल्ला भरिका सामुदायिक विद्यालयमा पठन पाठन सुचारु गर्ने जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसीएमसी) ले निर्णय गरेको छ । कोरोना संक्रमण केही कम भएको र विद्यालय खुलाउनुपर्ने माग सबैतिरबाट आईरहेका बेला केन्द्रले सोमबार बसेको बैठकबाट सो निर्णय गरेको हो ।
केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सबैतिरबाट विद्यालय खुलाउनु पर्ने माग आइरहेको र कोरोना संक्रमणको दर पनि घटेको देखिएपछि केन्द्रको बैठकबाट विद्यालय खुलाउने निर्णय गरिएको बताउनुभयो । कोरोनाको कारण लामो समय विद्यालय बन्द रहेको थिए । उहाँले सबै गाउँपालिकामा कोरोना संक्रमण घट्दो क्रममा रहेकोले केन्द्रको बैठकमा छलफलपछि विद्यालय खुलाउने निर्णय गरेको बताउनुभयो । अब जिल्ला प्रशासन कार्यालयले सात वटै गाउँपालिकामा विद्यालय खुलाउने पत्र लेख्ने र त्यसपछि अवस्था विश्लेषण गरी गाउँपालिकाले विद्यालय सुचारु गर्ने बाटो खुल्नेछ । सबै क्षेत्र खुला रहेको बेला विद्यालय मात्र बन्द गर्न नहुने चौतर्फी दबाब आई रहेको थियो । प्रजिअ आचार्यले स्मार्ट लकडाउन कार्य विधि २०७८ ले पनि सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन गर्न सकिने कुरा उल्लेख गरेको कारण केन्द्र जिल्लामा विद्यालय खुलाउने निष्कर्षमा पुगेको बताउनुभयो । केन्द्रको निर्णयपछि गाउँपालिकाले विद्यालय खुलाउँदा कोरोनाको अवस्था मूल्याङ्कन गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्ने वातावरणका तयार भएपछि विद्यालय सुचारु गर्न सक्ने बाटो खुलेको छ । हुम्ला जिल्लाका सात वटा गाउँपालिकामा १३७ वटा सामुदायिक विद्यालय  छन् भने केही निजी विद्यालय पनि रहेका छन् । यता नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका दुई वटा गाउँमा भने कोरोनाको अवधिमा पनि विद्यालयहरु सुचारु रहेका थिए । केन्द्रको बैठकमा सङ्घीय सांसद रंगमति शाही र कर्णाली प्रदेश सभा ख नम्बर क्षेत्रका सांसद जीवनबहादुर शाहीको पनि उपस्थिति थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?