logo
२०८० चैत्र १६ शुक्रवार

बोडेको ऐतिहासिक नीलबाराही नाच (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-08-27-45306
तस्बिर : विकास द्वारे


यलु जोशी
भक्तपुर, भदौ ११ गते । भक्तपुरको थिमिस्थित बोडेको प्रसिद्ध तथा ऐतिहासिक नीलबाराही नाच बिहीबार रातभरि नचाएर शुक्रवार बिहान सम्पन्न भएको छ ।
बोडेमा राक्षसले दुःख दिएपछि नीलबाराही देवीले एक स्थानीय बासिन्दालाई नाच सिकाएर पठाएपछि वर्षौँदेखि शुरु भएको नाचमा दैवी शक्ति प्राप्त हुने जनविश्वास छ ।
प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरातिबाट अर्थात् भाद्र द्वितीयादेखि पञ्चमीसम्म मध्यरातिबाट सुरु हुने नाच चार दिन चार रात बोडेका विभिन्न स्थानमा प्रदर्शन गरिने नाचगणका सदस्य भुवन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले नाच नारायणस्थान लाछीबाट शुरु भई लायकु छें, विष्णु घाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनःनारायणथानमा प्रदर्शन गरेर समापन गरिने बताउनुभयो ।
नाचमा धाँ बाजा, भुस्या, काँय, पाँगा बाजाको तालमा परम्परागत शैलीमा देवी र देवगण नाच्ने गुठीका नाइके प्रेमचन्द्र अदुवा श्रेष्ठले बताउनुभयो ।
उहाँले नीलबाराही नाचको देवगणमा भैरव एक, द्वारपाल दुई तथा बाराही, कुमारी, गणेश र सिंह चार चार गरी १९ जनाको समूह हुन्छ । देवगणका ९ सहयोगी र वाद्यवादक गरी एक सय जनाभन्दा बढी व्यक्ति नाचमा क्रियाशील हुने प्रस्ट पार्नुभयो ।
नाइके श्रेष्ठका अनुसार, किंवदन्ती परापूर्वकालमा बोडेको उत्तरपूर्वी दिशाको जङ्गलमा रहेकी नीलबाराही देवीले मानिसको रूप धारण गरी बोडे शहरमा आएर स्थानीय धों जातका एक मानिसलाई जङ्गलमा लगेर चार दिनसम्म राखी सो नाचको सम्पूर्ण विधि विधान सिकाएर पठाएको र उनैले यो नाच शुरु गरेको हो ।
विभिन्न देवीदेवताको आकृतिको मुकुण्डो लगाएर घण्टौँसम्म टोलटोल घुमेर दैनिक १० देखि १४ घण्टासम्म नाच्नुपर्ने यो नाच चलिरहँदा देवगणले खान, बस्न, बोल्न, घामपानीमा छाता ओड्न, दिसा पिसाब गर्न र जुत्तासमेत लगाउन नहुने नियम रहेको श्रेष्ठले बताउनुभयो । नीलबाराही गुठी नै सञ्चालन गरी स्थानीयले नाचलाई जोगाउँदै आएका छन् । 

तस्बिर : विकास द्वारे