logo
२०८० चैत्र १६ शुक्रवार



चेपाङ बस्तीका ४१ किशोरीले पास गरे एसइई, उच्च शिक्षा अन्योलमा

शिक्षा |
प्रदेश |


चेपाङ बस्तीका ४१ किशोरीले पास गरे एसइई, उच्च शिक्षा अन्योलमा
फाइल तस्विर


शिवकुमार काशी
हेटौँडा । भदौ ९ गते । घर छाडेर विद्यालय आसपासमै बसेर अध्ययन गरेका मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नं ६ का चेपाङ बस्तीका ४१ जना किशोरीसहित ५३ जनाले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नु भएको छ । गाउँमै उच्च शिक्षा अध्यापन हुने विद्यालय नहुँदा उनीहरुको उच्च माध्यमिक शिक्षाको यात्रा भने अन्योलमा परेको छ ।
राक्सिराङ गाउँपालिका ६ सिलिङ्गेस्थित राष्ट्रिय माध्यमिक विद्यालयबाट भर्खरै प्रकाशित २०७७ सालको एसइई परीक्षामा २५ जना चेपाङसहित ४१ जना छात्रा र १२ जना छात्रले एसएइ परीक्षा पास गरेको प्रधानाध्यापक तारानाथ दुवाडीले बताउनुभयो । उहाँका अनुसार ६० जनाले एसइइको फर्म भरे पनि ५३ जना मात्रै सहभागी हुनु भएको थियो ।
“राक्सिराङ गाउँपालिकाकै इतिहासमा एकै विद्यालयबाट यति धेरै छात्राहरु एसइई पास गरेको पहिलो घटना हो”, प्रधानाध्यापक दुवाडीले भन्नुभयो–“पास भएकामध्ये २ जना छात्राको विवाह भएकाले उच्च माध्यमिक तहमा पढ्न सक्ने अवस्था छैन भने बाँकी सबै उच्च कक्षामा जान चाहन्छन् ।”
दुर्गम चेपाङ बस्तीमा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालयका साबिक काँकडा गाविस अन्तर्गत पर्ने एक मात्रै माध्यमिक विद्यालय हो । गत वर्ष पनि २४ जना छात्रा र ११ जना छात्रले सो विद्यालयबाट एसइई पास गर्नु भएको थियो ।
कक्षा ११ तथा अन्य प्राविधिक शिक्षाका लागि सहर बजार जानुपर्ने भएकाले एसइई पास भएका विद्यार्थीहरु अप्ठ्यारोमा परेको प्रधानाध्यापक दुवाडी बताउनुहुन्छ । उहाँका अनुसार एसइई पास गर्ने अधिकांश विद्यार्थीहरु विद्यालय आउन÷जान दैनिक ५ घण्टा पैदल हिँड्नुपथ्र्याे । टाढा टाढाका विद्यार्थीलाई दिगो विकासका लागि एकता नेपाल र लिसा हिमालय इभी नामक गैरसरकारी संस्थाले आवास, खानपान र कापीकलमको व्यवस्था गरेर एसइईसम्मको यात्रामा सघाएको हो । “संस्थाकै सहयोगमा छात्राहरु विद्यालयमा भरिभराउ भएर यत्रो संख्यामा एसइई पनि पास भए”, प्रधानाध्यापक दुवाडीले भन्नुभयो–“विद्यार्थीहरुको उच्च शिक्षाका लागि पनि आवश्यक व्यवस्था मिलाउन दिगो विकासका लागि एकता नेपालसँग कुराकानी भइरहेको छ ।”
दुर्गम चेपाङ बस्तीका गाउँ गाउँमा छात्राहरुलाई दिवा खाजा, पोसाक, स्टेशनरी लगायत सहयोगले छात्रभन्दा बढी छात्राहरुको संख्या विद्यालयहरुमा रहेको राक्सिराङ ७ स्थित टिकेढुंगा प्रावि व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर प्रजा (चेपाङ) ले बताउनुभयो । अब गाउँमै उच्च शिक्षा अध्ययन गर्ने विद्यालयको आवश्यकता भएको उहाँले बताउनुभयो । गाउँमा उच्च माध्यमिक अध्यापन गराउने विद्यालय नहुँदा अधिकांश छात्रछात्राहरुको अध्ययन यात्रा रोकिने गरेको उहाँको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?