logo
२०७८ कार्तिक ११ बिहीवार



सिकाइ उपलब्धि उच्च

शिक्षा |


सिकाइ उपलब्धि उच्च
फाईल तस्विर



शेषकान्त पण्डित

काठमाडौँ, भदौ ५ गते । कक्षा १० मा अध्ययनरत १४ र १५ वर्ष पूरा भएका विद्यार्थीले औसतभन्दा उच्च सिकाइ उपलब्धि हासिल गरेको पाइएको छ । १४/१५ वर्ष उमेर समूहबाहेक कम वा बढी उमेरका विद्यार्थीको उपलब्धिमा गणितमा २८, नेपालीमा ४० र अङ्ग्रेजीमा ४० अङ्कको अन्तर देखिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले शुक्रबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले यस्तो औँल्याएको हो । यसका लागि बालबालिकालाई समयमै सही उमेरमा भर्ना गर्न अभिभावकलाई सचेत गराउनुपर्ने सुझाव दिइएको छ । केन्द्रका महानिर्देशक शिवकुमार सापकोटाका अनुसार कक्षा १० मा १४ वर्षमा नै अध्ययन गर्नु भनेको कक्षा १ मा ४ वर्षमा नै भर्ना हुनु हो । कक्षा १० मा १६ वर्षभन्दा बढी उमेरमा अध्ययन गर्नु भनेको ढिला भर्ना हुनु वा कक्षा दोहो-याउने नै मुख्य कारण देखिएको जानकारी सापकोटाले दिनुभयो ।

कक्षा १० मा गणित र विज्ञानमा करिब एक तिहाइ र अङ्ग्रेजीमा आधा जति विद्यार्थी कक्षाको सिकाइ तहभन्दा तल रहेको अध्ययन प्रतिवेदनले औँल्याएको छ । यो अवस्थामा कक्षा १० को शैक्षिक गुणस्तरमा खासै सुधार आउन नसकेको भन्दै प्रतिवेदनले सरकारका तर्फबाट शिक्षामा पर्याप्त लगानी बढाउनुपर्ने र कार्यक्रमको आवश्यकता औँल्याएको छ ।
यसका साथै छात्रा र छात्रबीचको उपलब्धिमा भिन्नता देखिएको छ । पाँच सय अङ्कलाई आधार मानेर गरिएको एक अध्ययनमा छात्र छात्राबीच गणितमा १८, विज्ञानमा १६ र अङ्ग्रेजीमा १० अङ्कको भिन्नता देखिएको छ ।

नेपाली विषयमा भने भिन्नता देखिएको छैन । छात्रा र छात्रबीच देखिएको यो भिन्नतालाई न्यून गर्न छात्राका लागि छात्रवृत्ति कार्यक्रम तथा थप सुविधाको प्रबन्ध गरी उपस्थिति बढाउन सुझाव दिइएको छ ।
अध्ययनले प्रदेशहरू बीचको विद्यार्थी उपलब्धिको अङ्कमा धेरै अन्तर देखिएको छ । प्रदेशहरूबीच सिकाइको असमानता उच्च रहेको र मुख्य रूपमा प्रदेश १, सुदूरपश्चिम र कर्णाली प्रदेश उपलब्धिका हिसाबले पछाडि रहेको देखिएको छ । यस खालको असमानता हटाउनुपर्ने सुझाव अध्ययन प्रतिवेदनले दिएको छ ।

कक्षा १० का विद्यार्थीको गणित, विज्ञान, नेपालीमा सिकाइ उपलब्धि पत्ता लगाउन यो अध्ययन गरिएको थियो । अध्ययनमा ४५ हजार विद्यार्थीलाई सहभागी गराइएको थियो । जसमा एक हजार आठ सय विद्यालय, एक हजार आठ सय प्रधानाध्यापक र तीन हजार छ सय शिक्षकको प्रतिक्रिया लिइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?