logo
२०८१ बैशाख ५ बुधवार



विश्वविद्यालयको पाठ्यक्रममा समावेशिताको विषय समावेश हुनुपर्ने  

शिक्षा |


विश्वविद्यालयको पाठ्यक्रममा समावेशिताको विषय समावेश हुनुपर्ने  
फाइल तस्बिर


काठमाडौँ, साउन ४ गते । सञ्चार क्षेत्रका विज्ञ तथा प्राध्यापकले समावेशिताको विषयवस्तुलाई विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्न नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।जागरण मिडिया सेन्टरद्वारा यहाँ आज आयोजित ‘विश्वविद्यालयको पत्रकारिता शिक्षामा समावेशिता’ विषयक अन्तरक्रियामा उहाँहरुले पत्रकारिता अध्ययन हुने विश्वविद्यालयको पाठ्यक्रमबारे अध्ययन÷अनुसन्धान गरी नीतिगत सुधारसँगै समावेशिताको विषय वस्तुलाई समावेश गर्नुपर्ने धारणा राख्नुभयो ।  

 त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार विभागकाका प्रमुख चिरञ्जीवी खनालले त्रिविको पत्रकारितासम्बन्धी पाठ्यक्रममा समावेशिताबारे केही विषयवस्तु समावेश भए पनि पर्याप्त नभएको बताउनुभयो । उहाँले अनुसन्धान र छलफलका आधारमा पाठ्यक्रम समावेशी विषयलाई समावेश गर्न सकिने बताउनुभयो । पूर्वाञ्चल विश्वविद्यालय, पत्रकारिता विषयगत कमिटीका अध्यक्ष डा सुरेश आचार्यले पूर्वाञ्चल विश्वाविद्यालयको पत्रकारितासम्बन्धी समावेशी विषयलाई समावेश गर्न सकिने तर त्यसका लागि अनुसन्धान र आधार आवश्यक पर्ने बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालय, मिडिया तथा भाषा अध्ययन विभागका विभागीय प्रमुख सुद्यांशु दाहालले आमसञ्चार माध्यममा सिमान्तकृत समुदायको विषय वस्तुको लागि त्यो समुदायको भौतिक सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।    
खुल्ला विश्वविद्यालय, पत्रकारिता विभागका संयोजक विकाश ढकाल, पोलिगन कलेजका प्रिन्सिपल अविरल थापा र मदन भण्डारी कलेजका प्राध्यापक भवानीश्वर गौतमले समयअनुसार पाठ्यक्रममा समावेशी विषयलाई समावेश गर्न जरुरी रहेको जोड दिनुभयो ।

 अनुसन्धानकर्ता जेवी विश्वकर्माले पत्रकारिता क्षेत्र समाज सुधारको एउटा औजार भएको बताउँदै पत्रकारिता विषयको पाठ्यक्रमलाई नै समावेशी बनाउनुपर्छ भन्नुभयो । जागरणका अध्यक्ष कमला विश्वकर्माले विषयवस्तु र सहभागिताको हिसावले आमसञ्चार माध्यम समावेशी हुनुपर्ने बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?