logo
२०८० चैत्र १५ बिहीवार



अक्सिजन सिलिन्डरको परीक्षण

खुला |


अक्सिजन सिलिन्डरको परीक्षण
फाइल तस्बिर


प्रकृति अधिकारी

ललितपुर, जेठ ५ गते । नेपालमा पहिलो पटक अक्सिजन ग्यास सिलिन्डर परीक्षण गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का वैज्ञानिकले तयार गरेको अक्सिजन ग्यास सिलिन्डर मङ्गलबार परीक्षणगरिएको हो ।
परीक्षणका क्रममा ग्यासको दबाब २३५ बार (एकाइ) पुगेपछि सिलिन्डरमा जोडिएको पाइप फुटेको थियो । ग्यास सिलिन्डरमा ग्यासको दबाब २२५ बारसम्म भए सुरक्षित मानिन्छ ।
नास्टका प्रविधि सङ्काय प्रमुख डा. रवीन्द्रप्रसाद ढकालले सिलिन्डरले न्यूनतम दबाब थेगेकाले सुरक्षित भन्न मिल्ने जानकारी गराउँदै भन्नुभयो, “अब पुनः परीक्षण गरेर ग्यासको दबाब ३७५ बारसम्म पु¥याउँछौँ । सिलिन्डर ग्यासको कुन तहको दबाबमा पुगेर विस्फोट हुन्छ भन्ने परीक्षण नगर्दासम्म यसको व्यावसायिक उत्पादन गर्नुहुँदैन ।”
नास्टका सहकुलपतिसमेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा सो परीक्षण गरिएको थियो । नेपालमा हालसम्म पनि यस्तो सिलिन्डर निर्माण हुने गरेको छैन भने आयातित सिलिन्डरको गुणस्तरसमेत परीक्षण हुने गरेको छैन । डा. ढकालले विदेशबाट ल्याइएका सिलिन्डरको गुणस्तर परीक्षण गर्न अब सम्भव हुने बताउनुभयो । नास्टले स्टिलको प्रयोग गरी आफैँ सिलिन्डर तयार गरेको थियो ।
कोरोनाको दोस्रो लहरपछि अक्सिजन ग्यास भर्ने सिलिन्डरको चरम अभाव देखिएको छ । नास्टले ग्यास सिलिन्डरको परीक्षण उत्पादन गर्न लागेको खबर सुनेकाले दुईवटा उत्पादन कम्पनीले सम्पर्क गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “अब सिलिन्डरको ब्रेकिङ प्वाइन्टसम्मको पुनः परीक्षणपछि कम्पनीलाई हामीले विकास गरेको प्रविधि हस्तान्तरण गर्नेछौँ ।”
सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठले ठूला अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट नहुनु विडम्बना भएको बताउँदै थप्नुभयो, “विगतमा अस्पताल सञ्चालन अनुमति दिँदा अक्सिजन प्लान्टको व्यवस्था अस्पतालभित्र अनिवार्य हुनुपर्ने नियम बनाइएको भए आज अभावको समस्या भोग्नुपर्ने थिएन ।” अहिले सडकलगायतका विकास निर्माणले नागरिक जीवनको रक्षा हुन सक्दैन भन्दै राज्यले सम्पूर्ण स्रोत र साधनलाई नागरिक जीवनको रक्षामा प्रयोग गर्ने उहाँले बताउनुभयो ।
नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले स्वाब परीक्षण गर्न मोबाइल भ्यान तयार गरी नास्टले सुरक्षाका तीनवटै निकायलाई हस्तान्तरण गरेको बताउनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?