logo
२०७८ असोज २ शनिवार

दैनिक अध्यावधिक

image
835

सङ्क्रमित

image
1234

निको भएका

image
16

मृत्यु भएका

मिति:आश्विन २, २०७८ (१७:०३)
स्राेत:https://covid19.mohp.gov.np/



खोजी पहिलो सम्पादकको

फिचर |


खोजी पहिलो सम्पादकको


 प्रकृति अधिकारी

मुलुकको जेठो अखबार गोरखापत्रका पहिलो सम्पादक को हुनुहुन्थ्यो ? यसको उत्तर गोरखापत्रसँग पनि छैन । पत्रकारिताको इतिहास खोजी गर्नेहरू थरीथरीका नाम लेख्छन् । त्यसबखत सम्पादक लेख्न अनुमति दिइएको थिएन । त्यसैले लेखिएन । खोजकर्ताहरूले चिरञ्जीवी पौडेललाई पहिलो सम्पादक भनेका छन् । नरदेवलाई पहिलो सम्पादक भन्नेहरू पनि छन् ।
त्यो बेला ‘प्रिन्ट लाइन’मा सम्पादकको नाम लेख्ने चलन थिएन । पहिलो अङ्क (१९५८ साल वैशाख २४ गते) को अन्तिम पृष्ठमा “कसैले मैले यो काम जाने को छु. जागिर पाँउ भन्न्येर एस ठाँउमा मैले धाउपाञा भनी भन्न आया. दामलिइ छापि दिन्छौं. सर्कार कोर. दुनिञाको. फाइदा हुन्या कुरा छपाउन ल्याया छापि दिन्छौं....कासि, कलकत्ता, वम्वइ, मथुरा, लखनऊ इत्यादि सहरमा छापियाको पुस्तक हरूपनि तललेखियाका ठेकानामा पाइन्छ” भनेर सम्पर्क व्यक्तिको नाम र ठेगानामा यस्तो उल्लेख गरिएको थियो– पं. नरदेव, मोतिकृष्ण शर्मा पशुपत–प्रेस, नेपाल.
माथिको विज्ञापनले पशुपत प्रेस र गोरखापत्रका जिम्मेवार व्यक्ति नरदेव तथा मोतिकृष्ण शर्मा भन्ने प्रष्ट हुन्छ । मोतिकृष्ण शर्मा को थिए ? १९९८ साल चैत २३ गतेको गोरखापत्रमा १९५० मा पशुपति छापाखानाको उद्घाटनसम्बन्धी प्रकाशित लेखमा पाशुपत छापाखानाका ‘म्यानेजर’ रिक्थदेव पाँडेले “...यो प्रेसमा मोति–कृष्ण भन्ने संयुक्त नामवाला म्यानेजर थिए । मोतिकृष्ण माने सुप्रसिद्ध साहित्यसेवी मोतिराम भट्ट र कृष्णदेव पाँडे हो । सर्वप्रथम गोरखापत्र प्रकाशित गर्ने प्रेस पनि यही हो...।” भनी लेख्नुभएको थियो । गोरखापत्रको प्रकाशनतर्फको ‘म्यानेजर’ नरदेव तथा छापाखानाका ‘म्यानेजर’ मोति र कृष्ण हुनुहुन्थ्यो भनी यकिनका साथ भन्न सकिन्छ । १९५८ साल वैशाख बदी ११ रोज २ को सनदमा “पण्डित नरदेव पाँडेले पुर्जी हेरी गोर्खाली अखबार हप्तावारी जम्मा एक हजार थान छापा गरी जारी गर्ने काम तिम्रा तालुकमा राखी बक्स्याको हुनाले...” उल्लेख हुनुबाट नरदेव गोरखापत्रको व्यवस्थापक भएकोमा द्विविधामा हुनु परेन ।

दाबी पहिलो सम्पादकको
२०१५ सालको ‘प्रेस कमिसनको रिपोर्ट’मा “यस (गोरखापत्र)का जन्मदाता तत्कालीन प्रधानमन्त्री देवशमशेर तथा प्रारम्भिक अवस्थामा यसलाई सुचारु रूपले चलाउने बझांगी राजा जय पृथ्वीबहादुर सिंह यसका पहिला नेपाली एडिटर चिरञ्जीवी शर्माहरूको यसमा विशेष योग देखिन्छ” भनी उल्लेख हुनुले पं. चिरञ्जीवी गोरखापत्रका पहिलो सम्पादक हुनुहुन्थ्यो भन्ने अडकल काट्न सकिन्छ । २०२७ सालमा रामराज पौड्यालले लेख्नुभएको पत्रकारिता शीर्षक पुस्तकको भूमिकामा बालकृष्ण समले “रामराजजीका पितामह पं. चिरञ्जीवी पौड्याल केवल प्रथम सम्पादकमध्येका मात्रै हुनुहुन्नथ्यो, उहाँ नेपाली गद्य साहित्यलाई परिष्कार गर्नेहरू मध्येका पनि एक हुनुहुन्थ्यो” भनी लेख्नुले पं. चिरञ्जीवीलाई पहिलो सम्पादक ठह¥याउन बल पुग्छ ।
नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास पुस्तकमा पं. चिरञ्जीवीको भनाइ भन्दै छोरा प्रेमराजले लेखेको प्रसङ्गलाई यसरी उल्लेख गरिएको छ, “...गोरखापत्रमा महिनाको २५ रुपियाँ तलबमा म एडिटर भएँ । काम एडिटरको थियो । तर एडिटर भनी छाप्न पाइन्नथ्यो । अखबारमा छापिने जम्मै फर्दाहरू कर्णेल डिल्ली शमशेरलाई नसुनाई छाप्ने अडर पनि थिएन । लेख्ने, फर्दा सुनाउन जाने, प्रुफ हेर्ने इत्यादि सारा काम एक्लैले गर्नुपरेको हुँदा बहुतै कष्ट भयो र पं. कृष्णचन्द्रलाई महिनावारी रु. १०।– मा भर्ना गराइ अलि सुविस्ता पाएँ...।” पं. चिरञ्जीवीले नै आफू पहिलो सम्पादक भएको दाबी गर्नुभएको देखिन्छ । समाचार लेख्न प्रयोग हुने एक हात लामो तथा एक बित्ता चौडा सेतो कागजलाई फर्दा भन्ने चलन थियो र लेखिएको समाचारलाई ‘डाइरेक्टर अफ पब्लिक इन्स्ट्रक्सन’ले सिरानमा हस्ताक्षर गरिदिएपछि मात्र छाप्न पाइन्थ्यो (स्रोतः गोरखापत्रका एक सय एक निबन्ध) ।
ग्रीष्मबहादुर देवकोटाले ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’ शीर्षक पुस्तकमा सम्पादकको नाम लेख्ने नगरेबाट यसको ‘एडिटर’ को थियो भन्ने बारेमा भन्न सकिन्न भनेर लेख्नुभएको छ । १९९१ साल जेठ ५ गतेबाट गोरखापत्रमा सम्पादक प्रेमराजको नाम उल्लेख भएको पाइन्छ । प्रेमराज चिरञ्जीवी पौड्यालका छोरा हुनुहुन्थ्यो । १९९८ साल चैत २३ गतेको गोरखापत्रबाट सम्पादक प्रेमराज होमियोप्याथिकका ‘डाक्टर’ रहेको थाहा हुन्छ । तर गोरखापत्रको शतवार्षिकी स्मारिका (२०५७) मा डा. लक्ष्मण पौडेले आफ्ना पिता प्रेमराजका बारेमा विस्तृत लेख्नु भए पनि होमियोप्याथिक ‘डाक्टर’ भएको उल्लेख गर्नुभएको छैन ।

सम्पादक अर्थात पण्डित
राष्ट्रिय अभिलेखालयमा अझैसम्म सुरक्षित रहेको उबेलाका निजामती थमौती (सिटरोल)मा उहाँको नाम कतै चिरञ्जीवी पौडेल, कतै चिरञ्जीवी पाध्या उल्लेख छ । उहाँ धेरै कालसम्म त गोरखापत्रमा रहनुभएन । त्यसबेलाको निजामती थमौतीमा चिरञ्जीवीले मासिक २२ रुपियाँ र कृष्णचन्द्रले मासिक नौ रुपियाँ पाउने गरेको देखिन्छ । निजामती थमौतीमा उल्लेख रकमअनुसार चिरञ्जीवीले आफूले मासिक २५ रुपियाँ र कृष्णचन्द्रले मासिक १० रुपियाँ पाउने गरेको हिसाब मिल्दैन । टहलुवादेखि तत्कालीन ‘श्री ५’ र ‘श्री ३’ सम्मको ठेकिएको खान्की निजामती थमौतीमा उल्लेख हुनेहुँदा त्यसमा उल्लेख रकमलाई नै विश्वास गर्नुपर्छ, व्यक्तिको भनाइ तलमाथि हुनसक्छ ।
गोरखापत्रको पहिलो अङ्कको पहिलो पृष्ठको दायाँतर्फ ‘एडिटर्को राय’ प्रकाशित भएको थियो । यो चलन प्रारम्भदेखि नै रह्यो । पण्डितका रूपमा नियुक्त गरे पनि पद र जिम्मेवारी ‘एडिटर’ नै हो । पं. चिरञ्जीवीले पनि ‘एडिटर’ लेख्न नपाइने सकार्नु भएको छ । प्रेमराजका छोरा डा. लक्ष्मणले शतवार्षिक स्मारिकामा छापा छाप्ने पण्डितका रूपमा सबैले बुझ्ने गरेको उल्लेख गर्दै ‘नेपालको किताबखानाको ढड्डीमा सम्पादक दर्जा लेखिएका पहिला व्यक्ति मेरा बुबा प्रेमराज शर्मा हुनुभयो भनेर’ लेख्नुबाट पनि औपचारिकरूपमा सम्पादक लेख्न पाउने पहिलो व्यक्ति प्रेमराज हुनुहुन्थ्यो भन्नेमा प्रष्ट हुन सकिन्छ । सो कुरा गोरखापत्रको ‘प्रिन्ट लाइन’बाट पनि पुष्टि हुन्छ ।
२०३० साल वैशाख २४ गतेको गोरखापत्रमा प्रकाशित वासुदेव शर्मा लुइँटेलको लेखमा ‘सम्पादक बाजे’ भन्ने गरेको प्रसङ्ग उल्लेख छ । उहाँले आफू नेपाल भाषा प्रकाशन समितिमा
‘पण्डित’ भइसकेको र आफूभन्दा माथि
‘प्रुफ पण्डित’ र ‘पास पण्डित’ अरू थिए भनेर लेखमा चर्चा गर्नुभएको छ । यसको अर्थ गोरखापत्रमा मात्र नभई नेपाल भाषा प्रकाशन समिति (त्यसबेलाका विद्यालय तहदेखि साहित्यसम्मका पुस्तक छाप्थ्यो) मा पनि सम्पादक, शुद्धाशुद्धि हेर्ने, स्वीकृत गर्ने सबै ‘पण्डित’ कहलिन्थे । त्यो उनीहरूको पद थियो । समितिको जागिर छाडेर गोरखापत्रमा आउनुभएका वासुदेवले सुरुमा तलब नपाएपछि समितिका हाकिम सागरमणिले
‘पण्डितजी, तपाईँको यता (गोरखापत्र) सदर नहुन्जेल समितिबाटै तलब खुवाउनू भन्ने अमिर हजुर जर्साबको प्रमाङ्गी छ...’ भन्नुले तिनताक सम्पादकलाई पण्डित नै भन्ने गरेको प्रष्ट हुन्छ ।

चिरञ्जीवी पहिलो होइन
१९५७ सालको निजामती थमौतीमा टाइप छापाखानाका चार जना कर्मचारीलाई कौसितोसाखानाबाट तलब गएको देखिन्छ । छापाखानाका पण्डित साधुराम देवकोटालाई वार्षिक चार सय रुपियाँ तोकिएको थियो । उहाँ एक्ला ‘पण्डित’ हुनुहुन्थ्यो । बाँकी हवल्दार र सिपाही पदका थिए । १९५८ साल मिति वैशाख बदी ११ रोज २ का दिन जारी सनदमा टाइप छापाखानामा रहेका प्रेस तथा कागज बुझेर साथमा लिनू भनेर नरदेवलाई जिम्मा लिन आदेश दिइएको थियो । १९५८ सालको निजामती थमौतीमा गोरखापत्रका कर्मचारीको तलब उल्लेख भएको पाइएन । १९५९ सालको निजामती थमौतीको ढड्डा नै फेला पर्न सकेन । १९६० सालको निजामती थमौतीमा यसरी उल्लेख गरिएको देखियो, “गोर्खापत्र छापाखानाको काम गर्ने तपसीलका कामदार कारिन्दा जवान १० लाई राजा जय पृथ्वीबहादुर सींमार्फत छापाखानाका हाकिम सुब्बा वीरेन्द्रकेशरी पण्डितले सही छाप गरिदियाका ३ पुस्ते हाजिरबमोजिम ६० साल वैशाख मैन्हादेखि कौसी तोसाषानाबाट तलब खाने गरी दरि दिनु भन्ने ६० साल आसिन २३ गते ६ का २ छापे सनद बमोजिम थप सो गोर्खापत्र छापाखानामा काम गर्ने कामदार कारिन्दा जवान १ को सुब्बा वीरेन्द्रकेसरी पण्डितले सही छाप गरिदियाका ३ पुस्ते हाजिरी बमोजिम ६० साल वैशाख महिनादेखि तलब खाने जवान १० के वर्ष १ के मोरु... ।” त्यो बेला गोरखापत्रमा १० जना कर्मचारीका लागि एक वर्षको जम्मा एक हजार ३८० रुपियाँ खर्च गरिएको देखिन्छ ।
१९६० सालमा गोरखापत्र छापाखानाका हाकिम वीरेन्द्रकेशरी हुनुहुन्थ्यो । उहाँले मासिक ६० रुपियाँका दरले वार्षिक छ सय रुपियाँ तलब पाएको देखिन्छ । १९७५ सालसम्म पनि उहाँको तलब वार्षिक छ सय रुपियाँ नै थियो । वीरेन्द्रकेशरी ‘गोर्खापत्र’का साथै ‘रसिद चिठी टिकट अड्डा’ र ‘केटाकेटी पढाउने किताप् तर्जुमा अड्डा’का समेत हाकिम हुनुहुन्थ्यो । १९६० सालमा गोरखापत्रमा तीन जना ‘पण्डित’ पदमा नियुक्त गरिएको देखिन्छ । क्रमशः उदयदेव पाँडे (भन्सारहिटी), चिरञ्जीवी पौडेल (नक्साल) र नरेन्द्रकेशरी अज्र्याल पण्डित (इन्द्रचोक)को नाम उल्लेख छ । त्यस वर्षको निजामती थमौतीअनुसार उदयदेवले वार्षिक तीन सय रुपियाँ, चिरञ्जीवीले वार्षिक २६४ रुपियाँ र नरेन्द्रकेशरीले वार्षिक २२२ रुपियाँ पाउने गरी ठेकिएको थियो । गोरखापत्रका एक्ला सम्पादक चिरञ्जीवी हुनुहुन्थेन र उहाँभन्दा माथि अर्का ‘पण्डित’ हुनुहुन्थ्यो भन्ने कुराको पुष्टि निजामती थमौतीबाट हुन्छ ।
कमलमणि दीक्षितले भारतबाट फर्किएका चिरञ्जीवी गोरखापत्रको ‘एडिटर’ हुनुभन्दा अघि नै गोरखापत्रको प्रकाशन सुरु भइसकेको भनी लेख्नुभएको छ (स्रोतः नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास) । निजामती थमौतीमा भएको रेकर्ड र कमलमणिको भनाइ यहाँ मेल खान्छ । तसर्थ पं. चिरञ्जीवीलाई पहिलो सम्पादक हुनुहुन्थ्यो भनी ठोकुवा गर्न सकिँदैन ।
१९६१ सालको निजामती थमौतीका अनुसार नरेन्द्रकेसरीको बढुवा भएको देखिन्छ । त्यस वर्ष उदयदेव पाँडेपछि नरेन्द्रकेसरी र तेस्रो क्रममा चिरञ्जीवीको नाम रहेको छ । लेख्नेले तल माथि गरेका होइनन् किनकि उदयदेवको वार्षिक तलब तीन सय रुपियाँ थियो भने नरेन्द्रकेशरीको पनि तीन सय रुपियाँ र चिरन्जीवीको २६४ रुपियाँ थियो । अर्थात् नरेन्द्रकेशरीको २२२ रुपियाँबाट तीन सय रुपियाँ हुनपुग्यो भने चिरञ्जीवीको तलब गत सालकै समान थियो । १९६२ साल कात्तिक १० गतेको निर्णयअनुसार कात्तिक ११ गतेबाट उदयदेव र नरेन्द्रकेशरी आफ्नै खान्गी लिएर तर्जुमा अड्डामा सरुवा भई जानुभएको थियो (स्रोतः निजामती थमौती, १९६२) । पं. चिरञ्जीवीको ठेकिएको तलबको दायाँतर्फ ‘खबर लेख्ने गरी थमौती’ भनेर जनाइएको थियो । यस साल नौसिन्दा रहेका कृष्णचन्द्र पाध्यालाई ‘करेक्सन गर्नेगरी थमौती’ गरिएको निजामती थमौतीमा प्रष्ट लेखिएको देख्न सकिन्छ ।
१९६३ सालमा हाकिम सुब्बा वीरेन्द्रकेशरी नै हुनुहुन्थ्यो भने उहाँपछिको क्रममा ‘खबर लेषने’ चिरञ्जीवी पाध्या हुनुभयो । त्यो बेलासम्म पनि चिरञ्जीवीको वार्षिक तलब २६४ रुपियाँ थियो । ‘खबर लेख्ने’ भनी उल्लेख भए पनि चिरञ्जीवीलाई सम्पादकको दर्जामा राख्न सकियो ।
यो लेखको पाँचौँ अनुच्छेदमा पं. चिरञ्जीवीको भनाइ ‘...सारा काम एक्लैले गर्नुपरेको हुँदा बहुतै कष्ट भयो र पं. कृष्णचन्द्रलाई महिनावारी रु. १०।– मा भर्ना गराइ अलि सुविस्ता पाए...’ ले उहाँ पहिलो सम्पादक हुनुहुन्थेन भन्ने कुरा पुष्टि गर्दछ किनकि १९६१ सालसम्म कृष्णचन्द्रको प्रवेश गोरखापत्रमा भइसकेको थिएन, १९६२ सालमा नौसिन्दा पदमा प्रवेश पाउनुभयो र कात्तिकदेखि ‘करेक्सन गर्ने’ पदमा उक्लिनुभयो र उकाल्ने काम पं. चिरञ्जीवी गोरखापत्रको सम्पादकीयको नेतृत्वकर्ता हुनुभएपछि भयो । कृष्णचन्द्रको वार्षिक तलब १०८ रुपियाँ थियो ।
१९७५ सालमा गोरखापत्रको हाकिम डिठ्ठा उपेन्द्रबहादुर बस्न्यातलाई बनाइयो । जबकि वीरेन्द्रकेशरी सुब्बा हुनुहुन्थ्यो । तत्कालीन पद सोपानअनुसार सुब्बाभन्दा डिठ्ठा तीन तह तल हुन्थ्यो । उपेन्द्रबहादुरले कति तलब खानुहुन्थ्यो भन्ने नखुले पनि वीरेन्द्रकेशरीको तलब छ सय रुपियाँ वार्षिक थियो । यसबीचमा उदयदेव पाँडे पुनः नियुक्त भएर आउनुभयो । उहाँलाई ‘अखबारको उल्था गर्ने’ पद दिइएको थियो । त्यसबेला कृष्णचन्द्र पाध्यालाई पनि ‘अखबारको उल्था गर्ने’ पदमा नियुक्त गरिएको थियो । १९७५ सालको निजामती थमौतीअनुसार उदयदेवले वार्षिक तीन सय रुपियाँ र कृष्णचन्द्रले वार्षिक २६४ रुपियाँ तलब बुझ्नुहुन्थ्यो ।
१९९० सालसम्म पण्डित, खबर लेख्ने, नायब मुखिया, अङ्ग्रेजी कम्पोजिटर, राइटर, करेकटर, तहलविलदार, प्रेस म्यान, कम्पोज गर्ने, कागज तह लगाउने, छापने, कालिगढ, गहल्दार, इन्समेन, कम्पोज जाँच, करक्सन गर्ने, अखबार उल्टा गर्ने, अखबारको काम गर्न, सिपाही, सार्की लगायतका पदमा थुप्रैले गोर्खापत्र छापाखानामा जागिर खाए । प्रारम्भमा चिरञ्जीवीलाई ‘पण्डित’ बनाइएको प्रामाणिक तथ्य फेला पर्न नसकेको सन्दर्भमा उहाँ नै पहिलो सम्पादक हो भनेर ठोकुवा गर्न मिल्दैन । व्यक्तिले भनेको वा लेखेको भन्दा बलियो आधार सरकारी लिखत हो । सरकारी लिखतले पं. चिरञ्जीवीलाई पहिलो सम्पादक ठह¥याउँदैन । बरु १९५८ साल वैशाख बदी ११ रोज २ को सनदमार्फत दिइएको जिम्मेवारी र १९५९ असारसम्म विज्ञापन मुनि नरदेवको नाम रहनुले सम्पादकको पनि जिम्मेवारी उहाँलाई नै थियो भन्न सकिएला । किनकी त्यो बेला सम्पादकको नाम उल्लेख नगरिए पनि ‘एडिटर्काे राय’ छापिन्थ्यो । पहिलो सम्पादकका बारेमा गोरखापत्रले कहिल्यै खोजी गरेन । चासो राखेन । अब खोजी गरिनुपर्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?