logo
२०८० चैत्र १६ शुक्रवार



वैकल्पिक विधिबाट सिकाइ निरन्तरता

शिक्षा |
मुख्य समाचार |


वैकल्पिक विधिबाट सिकाइ निरन्तरता


शेषकान्त पण्डित

काठमाडौँ, वैशाख ९ गते । बढ्दो कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले मुख्य २५ सहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द गरे पनि वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइ भने निरन्तरता दिनुपर्ने भएको छ । सङ्क्रमणका बीचमा पनि विद्यार्थीको सिकाइ निरन्तरता दिन वैकल्पिक विधिलाई जारी राख्नुपर्ने जनाइएको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले कोरोना सङ्क्रमणका कारण आगामी वैशाखभर मुख्य सहरी क्षेत्रका विद्यालयका कक्षा बन्द गर्ने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यालयले भौतिक कक्षा बन्द गरेपछि अब तुरुन्त वैकल्पिक विधिबाट पठनपाठन सुरु गरिहाल्नुपर्ने बताउनुभयो । कतिपय विद्यालयले मङ्गलबारदेखि नै अनलाइन कक्षा आरम्भ गरिसकेका छन् । सरकारले अनलाइन माध्यम, अफलाइन माध्यम, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट विद्यार्थीको सिकाइ निरन्तरता दिनुलाई वैकल्पिक विधिको पठनपाठनका रूपमा परिभाषित गरिएको छ ।
विद्यालयले आफ्नो विद्यार्थी सङ्ख्या, विद्यार्थी तथा शिक्षकको प्रविधिमा पहुँचलगायतका आधारमा वैकल्पिक विधिको चयन गर्न सक्ने छन् । विद्यालयले जुनसुकै माध्यमको प्रयोग गरेर भए पनि वैकल्पिक विधिबाट पठनपाठन गराउनुपर्ने जनाइएको छ । अनलाइनलाई मात्र वैकल्पिक विधि मान्न नहुने र अन्य विधिबाट पनि पठनपाठन गराउन सकिने जानकारी प्रवक्ता शर्माले दिनुभयो ।
यसैबीच विद्यालयले भौतिक कक्षा सञ्चालन नगरे पनि पूर्वनिर्धारित परीक्षा तालिकालाई निरन्तरता दिन सक्ने छन् ।
पूर्वनिर्धारित तालिकालाई यसले कुनै असर नगर्ने र अब वैशाख महिनाभरका लागि भने नयाँ तालिका जारी गर्न नहुने
जनाइएको छ ।

निर्धारित समयमै
यसैबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै हुने जनाएको छ । एसईईको परीक्षा र कक्षा १२ को परीक्षा जेठमै गर्ने निर्णय बोर्डले यसअघि नै गरिसकेको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले पूर्वनिधारित कार्यतालिका अनुसार नै परीक्षा सञ्चालन गरिने उल्लेख गर्दै विद्यार्थीले पनि सोहीअनुसार तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारले मुख्य सहरी क्षेत्रका २५ जिल्लामा मात्र भौतिक कक्षा बन्द गरेर वैकल्पिक विधिबाट पठनपाठन सुरु गरेको र अन्य जिल्लामा नियमित कक्षा सञ्चालन भइरहेकाले परीक्षा निर्धारित समयमै हुने उहाँले जानकारी दिनुभयो ।
परीक्षा सञ्चालनका लागि आवश्यक तयारीसमेत गरिएको उहाँले बताउनुभयो । सरकारले अर्को कुनै निर्णय गरेबाहेक बोर्डको निर्णयमा परिवर्तन नहुने जनाइएको छ । गतवर्ष कोरोना भाइरसका कारण विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर एसईईको परीक्षा सार्वजनिक गरिएको थियो । कक्षा १२ को परीक्षा बोर्डले नै सञ्चालन गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?