logo
२०८१ बैशाख ८ शनिवार



मङ्सिरीको विद्यालयको विजोग

शिक्षा |


मङ्सिरीको विद्यालयको विजोग
फाइल तस्बीर


जाजरकोट, चैत ३० गते । चारैतिर पहाड, बीचमा अग्लो डाडा ! सोही डाडाँमा २०३९ सालमा स्थापना गरिएको हिमालय आधारभूत विद्यालय नलगाड नगरपालिका–८ मङ्सिरी ।

झ्याल, ढोका, शौचालय र खानेपानीलगायतका पूर्वाधार अस्तव्यस्त अवस्थामा विद्यालयमा निरन्तर ६१ विद्यार्थी पढिरहेका छन् । कार्यालय रहेको कोठामा मूल ढोकाबाहेक झ्यालमा समेत ढोका नहुँदा हावाहुरीले कार्यालयमा बस्न सक्ने अवस्था हिउँदयाममा नभएको प्रधानाध्यापक मनोद शर्माले बताउनुभयो ।

वर्षायाममा वर्षे झरीका कारण चुहिने हुँदा कार्यालयकै सामग्री बचाउन धौधौ पर्ने गरेको पीडा उहाँ सुनाउनुहुन्छ । यो विद्यालय अनुगमनका लागि अहिलेसम्म एक पटकमात्र शिक्षाका कर्मचारी पुगेका छन् । निम्न आर्थिक अवस्था भएका परिवारको यस गाउँमा बसाई हुँदा विद्यालयको मुहार बदल्न सक्ने अवस्था नरहेको स्थानीय भविलाल बुढाले बताउनुभयो ।

वर्षायाममा पानी पर्ने बित्तिकै विद्यालय बन्द गर्नुपर्ने अवस्था र हिउँद याममा हावाहुरीका कारण पठनपाठन गर्न चुनौती हुँदै आएको छ । विद्यालयमा तीनकोठे एक जीर्ण कच्ची भवन र अर्को दुई कोठा दिवा खाजा पकाउने कच्ची भवन भए पनि कति बेला भत्किन्छ त्यसको कुनै ठेगान नभएको प्रधानाध्यापक शर्माले जानकारी दिनुभयो । आफू दुई वर्षदेखि सो विद्यालयमा कार्यरत रहेको भन्दै विद्यालयमा जानेबित्तिकै आँखाबाट आँशु झर्ने गरेको शर्माको पीडा छ ।

राज्यको उपस्थिति नै कमजोर रहेको मङ्सिरी गाउँमा राज्यका क्रियाकलापसमेत निकै कम हुने गरेका छन् । विद्यालयमा के कति रकम आउँछ, सार्वजनिक लेखा परीक्षण हुन्छ की हुँदैन त्योसम्म गाउँलेलाई थाहा नहुने गरेको बताइन्छ । प्रधानाध्यापकसहित तीन शिक्षक, एक बालविकास शिक्षिका र एक जना कार्यालय सहयोगी सो विद्यालयमा कार्यरत छन् ।

विद्यालय सञ्चालन गर्न आधारभूत कुरासमेत नहुँदा आफू हैरान भएको प्रधानाध्यापक शर्माले गुनासो गर्नुभयो । खानेपानी घरबाट बोकेर ल्याउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । दिसा, पिसाबका लागि शौचालय नहुँदा जङ्गलमा जानुपर्ने बाध्यता छ । यता नलगाड नगरपालिकाले विद्यालयलाई सहयोग गर्ने ठूलो रकम आफूसँग नभएको भनी आफूहरुलाई पन्छ्याउने काम गरिरहेको प्रधानाध्यापक शर्माले बताउनुभयो ।

नगरप्रमुख टेकबहादुर रावलले भन्नुभयो, “यहाँको समस्याबारे अघिल्लो वर्षमात्र जानकारी आएकाले यो आर्थिक वर्षमा जस्तापाता फेर्नका लागि रु ६० हजार र शौचालय निर्माणका लागि रु ४० हजार छुट्याएको छ । नजिकै अर्को विद्यालय भए मर्ज गर्ने भन्ने थियो तर नजिक नहुँदा समस्या आइरहेको छ ।” विद्यार्थी सङ्ख्या कम छ । राजनीतिक कारण हामीलाई सहयोग नगरेको अभिभावक यज्ञबहादुर सिंहले गुनासो गर्नुभयो ।

विद्यालयमा शिक्षकको तलब भत्ता र अडिट खर्चबाहेक अन्य खर्च नआएको प्रअ शर्माले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सर्जन पुनले आफूहरुको पहुँच नहुँदा विद्यालयको यो दशा आइलागेको बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?