logo
२०८० चैत्र १६ शुक्रवार



भद्रकालीमा १२ वर्षमुनिका बालकको गुरुकुल शिक्षा

शिक्षा |
खुला |


भद्रकालीमा १२ वर्षमुनिका बालकको गुरुकुल शिक्षा


काठमाडौँ, चैत ३० गते । प्राचीन गुरुकुल पद्धतिलाई अनुशरण गर्दै राजधानीको भित्री भेगका ६० बालकलाई भद्रकाली मन्दिरको सत्तलमा लगातार तीन वर्ष तीन रातसम्म शिक्षादीक्षा दिइएको छ ।

वटु नाट्येश्वर गुठीमा आबद्ध २०० परिवारका ६० बालकलाई आइतबार भद्रकाली मन्दिरको सत्तलमा यज्ञ गरी शिक्षा दीक्षा दिइएको हो । बालकहरु शिक्षादीक्षाका लागि शनिबार रात बस्ने गरी मन्दिरको सत्तलमा बास बसेका थिए । महर्जन र डङ्गोल थरका ६० बालकले तीन वर्षसम्म शिक्षादीक्षा पाएसँगै गुठीमा हुने गतिविधिमा भाग लिन पाउने भएका छन् । प्राचीनकालमा तीन वर्षसम्म भद्रकाली सत्तलमै बसेर शिक्षादीक्षा दिइन्थ्यो । आधुनिकतासँगै तीन वर्षका स्थानमा प्रत्येक वर्ष एक÷एक रात राख्न थालिएको गुठीका उपसचिव दीपक महर्जनले राससलाई जानकारी दिनुभयो ।

बालकलाई गुठी राख्नकै लागि बनाइएको भद्रकाली सत्तल हाल विभिन्न नाममा अतिक्रमण भएकाले एक रात राख्न पनि मुस्किल हुन थालेको गुठीका अधिकारीको गुनासो छ । बालक तीन वर्षसम्म सत्तलमै बसेर शिक्षा,दीक्षा लिँदा चैत्रकृष्ण चतुर्दशीका दिन अभिभावक दूध चिउरा खुवाउन आउने गर्छन् ।

बालकको तीन वर्षमा सकिने कर्म गत वर्षमै सकिनुपर्नेमा कोरोना महामारीका कारण बन्दाबन्दी गरिएपछि यसपटक समापन गरिएको हो । सङ्कटा र वटुको भद्रकालीलाई मूल भद्रकाली मन्दिरमा ल्याई जात्रासमेत गरिएको छ । भद्रकालीको आइतबार राति टुँडिखेलमा जात्रासमेत सम्पन्न गरिएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?