logo
२०८१ बैशाख १२ बुधवार



खाजाका कारण टिकाउ दर वृद्धि

शिक्षा |


खाजाका कारण टिकाउ दर वृद्धि



गोेरखापत्र समाचारदाता


काठमाडौँ, चैत २८ गते । दिवा खाजा खान पाएका विद्यार्थीहरू बढी समयसम्म विद्यालयमा टिक्ने गरेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले
गरेको अध्ययनले सो तथ्य औँल्याएको हो ।
अध्ययनको निष्कर्षअनुसार नेपालको दिवा खाजा कार्यक्रममा भएको प्रत्येक एक अमेरिकी डलर बराबरको लगानीले पाँच दशमलब दुई अमेरिकी डलर बराबरको प्रतिफल दिएको पनि देखाएको छ । दिवा खाजा कार्यक्रमका कारण भर्ना दरमा समेत वृद्धि भएको डब्लूएफपीले प्रकाशन गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
डब्लूएफपीले आगामी सन् २०२३ सम्ममात्र दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने भएको छ । सुरुमा २९ जिल्लामा लागू भएको यो कार्यक्रम अहिले जाजरकोट, दैलेख, अछाम, बाजुरा, डोटी, बझाङ र दार्चुला गरी सात जिल्लामा लागू भइरहेको छ । आगामी वर्षबाट दैलेखमा कार्यक्रम कटौती हुने भएको छ । ती जिल्लाका एक हजार ४३२ विद्यालयका एक लाख ५६ हजार विद्यार्थीले दिवा खाजाका रूपमा दाल–भात वा जाउलो खान पाइरहेका छन् ।
चालू आर्थिक वर्षबाट नेपाल सरकारले विश्व खाद्य कार्यक्रमको सहयोग रहेका बाहेक देशभरिका सबै विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरेको छ । खाजाका लागि विभिन्न ६० वटा मेनु बनाइएको छ ।
शिक्षाका लागि खाद्य कार्यक्रमका उपनिर्देशक प्रकाश सापकोटाले आगामी सन् २०२४ बाट हाल डब्लूएफपीले सहयोग गरेका विद्यालयहरूमा समेत नेपाल सरकारको लगानीमा दिवा खाजा कार्यक्रम लागू हुने जानकारी दिनुभयो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दिवा खाजा व्यवस्थापनका लागि प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ । ती प्रशिक्षकले स्थानीय तहका कर्मचारीलाई प्रशिक्षण दिने र स्थानीय तहका कर्मचारीले विद्यालयका प्रधानाध्यापकलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
प्रशिक्षणमा बोल्दै शिक्षा सचिव रामप्रसाद थपलियाले खाजाका लागि स्थानीय तह तथा प्रधानाध्यापकलाई जिम्मेवार र जवाफदेही बनाउनु जरुरी रहेको बताउनुभयो ।
केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले बजारबाट खरिद गर्दा उपलब्ध रकमले नपुग्न सक्ने भएकाले स्थानीय तहमा उत्पादन भएका खाद्य सामग्रीको प्रयोग गरेमा आर्थिक समस्या नहुने दाबी गर्नुभयो । दिवा खाजाका लागि कर्णाली प्रदेशमा दैनिक प्रतिविद्यार्थी २० रुपियाँ र अन्य स्थानमा १५ रुपियाँ उपलब्ध गराउने गरिएको छ । यस वर्ष कक्षा ५ सम्मका २९ लाख ४० हजार विद्यार्थीलाई खाजा खुवाउन सात अर्ब ७२ करोड ९३ लाख रुपियाँ खर्च गरिँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?