logo
२०८१ बैशाख ६ बिहीवार



बागलुङका आठ स्थानीय तहमा विद्यालय सञ्चालन

शिक्षा |


बागलुङका आठ स्थानीय तहमा विद्यालय सञ्चालन



नवीन शिशिर
बागलुङ, चैत १८ गते । वायु प्रदूषणको कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खतरा बढेपछि सरकारले विद्यालयमा चार दिन सार्वजनिक बिदा घोषण गरे पनि बागलुङका केही स्थानीय तहले पठनपाठनलाई निरन्तरता दिएका छन् ।
जिल्लाका छ वटा स्थानीय तहमा नियमित कक्षा सञ्चालन भएका छन् । चार वटा स्थानीय तहमा केन्द्रीय सरकारको निर्णय अनुसार नै विद्यालय बन्द गरिएको छ ।
बागलुङ नगरपालिका, बरेङ गाउँपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका ताराखोला गाउँपालिका, तमानखोला गाउँपालिकाले सार्वजनिक सुचना प्रकाशन गर्दै विद्यालय नियमित सञ्चालन गर्न आग्रह गरेका हुन । बिदा घोषण गरेको पहिलो दिन मंगलबार अन्याेलका बीच विद्यालयको पठ पाठन बन्द भए पनि बुधबारदेखि स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका छन् ।
बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका, गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकाले विद्यालय सञ्चालन गरेका छैनन् । सरकारले विज्ञको राय अनुसार बालबालिकाको स्वास्थ्यमा असर पर्ने देखेर गरेको निर्णयलाई कार्यान्वयन गरेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाईजाले बताउनुभयो ।
विद्यालय सञ्चालन गरेका आठ वटै स्थानीय तहले आफ्नो कार्य क्षेत्रभित्रकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय नियमित पठनपाठन सुरु गर्न निर्देशन दिएका थिए । केन्द्रीय सरकारले दूषित वातावरणीय परिस्थितीको कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
कोरोना त्रासपछि भर्खर मात्रा शैक्षिक क्रियाकलपले गति लिएको तर्फ संकेत गर्दै नगरपालिकाले वातावरणीय अवस्था तथा कोभिड– १९ संक्रमणबाट बच्ने सजकता अपनाउँदै यथावत् रुपमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएको नगर शिक्षा अधिकारी दण्डपाणि शर्माले बताउनुभयो ।
नगर प्रमुख र नगर शिक्षा समितिस्तरीय निर्णय अनुसार नै विद्यालय सञ्चालनको निर्देशन भएको उहाँको भनाइ छ ।
बागलुङमा दूषित वायुको प्रभाव कम तथा कोभिड– १९ को दोस्रो लहरको जोखिम कायमै रहेकोले पठन क्रियाकलप रोक्न नसक्ने उहाँको भनाइ छ । नगरपालिका क्षेत्रका विद्यालय बन्द गर्ने वा खुला गर्ने अधिकार स्थानीय सरकारमा निहित रहेको उहाँले बताउनुभयो ।
‘कोरोना कारणले फेरि विद्यालय बन्द गर्नुपर्ने अवस्था हुनसक्छ’ उहाँले भन्नुभयो–‘यहाँ वायु प्रदूषणको प्रभाव राजधानीमा जस्तो छैन, पढाउन सकिन्छ ।’ बागलुङ नगरपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि अन्य नगर तथा गाउँपालिकाले भने विद्यालय सञ्चालनको विषयमा केही निर्णय गरेका छैनन् ।
साना बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले विद्यालय बन्द गरेको हुँदा त्यसलाई सबै तहका सरकारले कार्यान्वयन गर्नुपर्ने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कुश्मराज शर्माको भनाइ छ । नगरपालिकाको निर्देशनले बालबालिकाको स्वास्थ्यप्रति खेलवाड भएको उहाँले बताउनुभयो ।
‘कोरोनाले पठनपाठन अवरुद्ध भएको सबैलाई थाहा छ’ उहाँले भन्नुभयो–बालबालिकाको स्वास्थ्य चार दिनको पढाइभन्दा ठूलो होइन ।‘ विज्ञको राय अनुसार मन्त्री परिषदको निर्णय कार्यान्वयन नगर्नु अराजकता भएको बताउनुभयो । बालबालिकाको स्वास्थ्यमाथि खेलाँची गर्न नहुने उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?