logo
२०८१ बैशाख ७ शुक्रवार

   सिफारिस कार्यान्वयन भएन   



शिक्षक सेवा आयोगको काम ठप्प

शिक्षा |
राष्ट्रिय |


शिक्षक सेवा आयोगको काम ठप्प


प्रकृति अधिकारी

काठमाडौँ, चैत १४ गते । सिफारिस भएको दुई महिना बित्दासमेत शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त हुन सकेको छैन । विगत छ महिनादेखि पदाधिकारी नियुक्त नहुँदा आयोगका सम्पूर्ण काम
ठप्प छ ।
पदाधिकारी नहुँदा प्राथमिकदेखि माध्यमिक तहसम्मका करिब १२ हजार नयाँ शिक्षक पदपूर्तिको विज्ञापन रोकिएको छ । दुई हजार सात सय शिक्षक बढुवा हुन पाएका छैनन् । आयोगका अनुसार रिक्त भएका शिक्षक अधिकांश प्राथमिक तह छन् ।
शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख दिनेश श्रेष्ठले भन्नुभयो, “दैनिक प्रशासनिक काममा मात्र व्यस्त हुँदै आएका छौँ । ” नियुक्ति, बढुवा र स्थायी अध्यापन अनुमतिपत्र वितरणका कार्य ठप्प भइदिँदा आयोगका कर्मचारी फुर्सदिला
बनेका छन् ।
लोक सेवा आयोगका तत्कालीन अध्यक्ष उमेश मैनाली, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका तत्कालीन सचिव गोपीनाथ मैनाली र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा रहनुभएको सिफारिस समितिले शिक्षक सेवा आयोगका अध्यक्ष र दुई सदस्यको नाम सिफारिस गरेको थियो ।
आयोगको अध्यक्षका लागि नेपाल सरकारका पूर्वसचिव मधु रेग्मी र सदस्यमा शिक्षा सेवाका पूर्वसहसचिव डा. डिल्लीराम रिमाल र शिक्षक नन्दकुमारी महर्जनको नाम सिफारिस गरिएको थियो । उपयुक्त कुनै पनि कारण नदेखाई सो सिफारिसलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा ल्याएको छैन । आयोगको इतिहासमा पहिलोपटक सार्वजनिक आवेदन आह्वान गरी प्रस्तुतिलगायतका आधारमा पदाधिकारी छनोटको विधि अपनाइएको थियो ।
विद्यालयबाट दैनिक शिक्षक निवृत्त हुने क्रम जारी रहन्छ । निवृत्त हुनासाथ सो पदमा विगतमा लिइएको आयोगको परीक्षामा करार सूचीमा रहेकाहरूमध्येबाट विद्यालयले नयाँ शिक्षक नियुक्त गर्न पाउने व्यवस्था छ । अहिले देशभरि १० हजारभन्दा बढी यस्ता शिक्षक नियुक्त भएको अनुमान गरिएको छ ।
राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरेलले दैनिक सरदर ३५ जना शिक्षकले अवकास पाउने गरेको जानकारी दिनुभयो ।
किताबखानाको तथ्याङ्कअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नयाँ शिक्षक पदपूर्तिका लागि शिक्षक सेवा आयोगलाई तथ्याङ्क पठाइदिनुपर्ने नियम छ । आयोगका प्रशासकीय प्रमुख श्रेष्ठले भन्नुभयो, “शिक्षकहरूले अवकास पाइरहेका हुन्छन् र ती रिक्त पदमा नियुक्तिका लागि केन्द्रले तथ्याङ्क पठाउने काम नियमित गरिरहेको छ । ”
सिफारिसलाई थन्क्याइदिनुको कारणका बारेमा जिज्ञासा राख्दा मन्त्रालयका प्रवक्ता दीपक शर्माले समस्याहरू जानकारी भएको तर यसबारेमा आफू केही नबोल्ने जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?