logo
२०८१ बैशाख ११ मंगलवार



'येँ देय् म्हसीके' अर्थात् 'काठमाडौं चिनौं ' पाठ्यपुस्तक विमोचन

शिक्षा |


'येँ देय् म्हसीके' अर्थात् 'काठमाडौं चिनौं ' पाठ्यपुस्तक विमोचन



गाेरखापत्र अनलाइन

काठमाडाैं, फागुन २९ गते । काठमाडौं महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक तथा पाठ्यक्रम ‘येँ देय् म्हसीके’ (काठमाडौं चिनौं) को विमोचन गरेको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागले आयोजना गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा ती पुस्तकको विमोचन गर्नुभयो ।
विमोचन कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले काठमाडौँ महानगरपालिकाले स्थानीय शिक्षाको क्षेत्रमा ऐतिहासिक र साहसिक काम गरेको भन्दै प्रसंशा गर्नुभयो ।
प्रमुख शाक्यले यःमरि, मरुहिटी, क्वहिटी, थँहिटी आदि जस्ता रैथाने शब्दहरू अरु भाषामा बुझाउन सकिँदैन, ती कुराहरूलाई बुझ्ने मात्र होइन विद्यार्थीहरूले त्यसलाई आत्मसात समेत गर्न सकुन् भन्ने उद्देश्यले त्यस्ता स्थानहरूको अवलोकन भ्रमणसहित स्थानीय भाषामै पढाउने गरी पाठ्यक्रम तयार पारेको जानकारी दिनुभयो ।
यस्तै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि यहाँका गुठी–परम्परा, जात्रा–पर्वलगायतका बारेमा विदेशमा जानकारी दिनलाई शिक्षा उपयोगी हुने बताउनुभयो ।
आधारभत तह कक्षा १ देखि कक्षा ८ सम्म हुने भए पनि आज कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक विमोचन गरिएको हो । काठमाडौं महानगरपालिकाले आफु मातहत रहेका सम्पूर्ण सामुदायिक र निजी विद्यालयहरूमा यसै वर्षदेखि उक्त पाठ्यपुस्तक पठनपाठन गर्ने निर्णय गरिसकेको छ ।
नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैँले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाले सोही व्यवस्था अन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?