logo
२०८१ बैशाख ११ मंगलवार



स्कुले विद्यार्थीका लागि ‘मेनु’ तयार

विद्यालयमा ताजा खाजा तयार पारेर विद्यार्थीलाई खुवाउनुपर्ने मापदण्ड

शिक्षा |


स्कुले विद्यार्थीका लागि ‘मेनु’ तयार


शेषकान्त पण्डित

काठमाडौँ, फागुन ९ गते । सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजा अनिवार्य रूपमा पकाएरै खुवाउनुपर्ने भएको छ । स्थानीय उत्पादनको अधिकतम प्रयोग गरी विद्यालयमा ताजा खाजा तयार पारेर विद्यार्थीलाई खुवाउनुपर्ने मापदण्ड सरकारले तयार पारेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलले दैनिक एक जना विद्यार्थीले १५० देखि दुई सय ग्रामसम्म ताजा खाजा खान पाउने गरी खाजा कार्यक्रम देशभर कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । यसले विद्यार्थीको पौष्टिक पक्षका साथै पठनपाठनमा समेत सकारात्मक प्रभाव पार्ने जनाइएको छ ।
सरकारले यस पटक कर्णालीका विद्यार्थीलाई प्रतिदिन २० रुपियाँ र अन्य क्षेत्रका विद्यार्थीलाई प्रतिदिन १५ रुपियाँका दरले खाजा खर्च उपलब्ध गराएको छ । यस कार्यक्रमबाट सामुदायिक विद्यालयका कक्षा ५ सम्मका २८ लाखभन्दा बढी विद्यार्थीले दैनिक निःशुल्क खाजा खान पाउनेछन् । यसका लागि सरकारले यस वर्षको बजेटमा सात अर्ब ७२ करोड ९३ लाख रुपियाँ विनियोजन गरेको छ ।
केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले दिवा खाजा कार्यक्रमबाट आर्थिक चलायमान हुने बताउनुभयो । यसका साथै तयारी खाजा राम्ररी पकाएर मात्रै विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने, खाना तयार भइसकेपछि जति सक्दो छिटो विद्यार्थीलाई वितरण गर्नुपर्ने छ । यसैगरी दूध, तरकारी, सुप तथा अन्य खाद्यवस्तुलाई राम्ररी पकाउनुुपर्ने आन्तरिक कार्यविधि विद्यालयले पालना गर्नुपर्ने भएको छ । पाकेको खाजा बालबालिकालाई वितरण गर्नुअघि चाखेर सुरक्षित रहेको सुनिश्चित गर्ने, कक्षागत पालोअनुसार तल्लो कक्षाका विद्यार्थीलाई पहिलो प्राथमिकता दिनुपर्ने, सफा, स्वच्छ स्थानको प्रबन्ध गर्ने, साबुनपानीले हात धोएर मात्र खाजा खाने बानीको विकास गर्नुपर्ने जिम्मेवारीसमेत विद्यालयले पूरा गर्नुपर्ने भएको छ ।
विद्यालयले दिवा खाजालाई प्राथमिकतामा साथ सञ्चालन गर्नुपर्नेछ । यसका लागि खाजा व्यवस्थापन उपसमिति कार्यदल, आमा वा अभिभावक समूह गठन गर्नुपर्ने तथा यसको अनुगमनका लागि एक जना शिक्षक फोकल शिक्षक तोक्नुपर्ने प्रावधान बनाइएको छ । यसमा विद्यालयमा खुवाइने खाजाबाट प्राप्त हुने पौष्टिक तìव, सरसफाइलगायतका पक्षमा समेत विशेष ध्यान दिनुपर्ने भएको छ ।
घरपरिवारले घरमै बनाएको खाजालाई बढी प्राथमिकता दिने र कम गुणस्तरको बजारबाट जङफुड किनेर खाने बानीमा विस्तारै हट्ने विश्वास निर्देशक पौडेलले व्यक्त गर्नुभयो । यसबाट बच्चाको स्वास्थ्य राम्रो भई विद्यार्थीको विद्यालय नियमित आउने क्रममा समेत वृद्धि हुने जनाइएको छ ।
दिवा खाजाका लागि ६० खालको खाजाको मेनु तयार पारिएको छ । सोही मेनुमा आधारित भएर विद्यालयले विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउनुपर्नेछ ।
नेपाल शिक्षक महासङ्घका उपाध्यक्ष तिलक कुँवर विद्यालय तहमा खाजा छुट्टीपछिको पठनपाठन राम्ररी सञ्चालन हुन नसकेको उल्लेख गर्दै दिवा खाजा कार्यक्रमले विद्यार्थीमा ऊर्जा आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीलाई लक्षित गरी ल्याइएको दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाइनुपर्ने बताउनुभयो । कतिपय विद्यार्थी भोकै विद्यालयमा आउने गरेको उल्लेख गदै उहाँले दिवा खाजाले विद्यार्थीलाई पछिल्लो कक्षासमेत जाँगरका साथ अध्ययन गर्ने बानीको विकास हुने बताउनुभयो ।

विद्यालयमा करेसाबारी
दिवा खाजाका लागि केही ताजा तरकारी आपूर्ति गर्न र सिकाइ प्रयोगशाला उपलब्ध गराउन विद्यालयहरूले करेसाबारी व्यवस्थापन गर्नुपर्ने भएको छ । कतिपय पाठ्यपुस्तकमा विषयवस्तुका रूपमा रहेका विषयलाई सिकाउन पनि करेसाबारी राम्रो प्रयोगशाला बन्न सक्ने जनाएको छ । जग्गा तथा स्रोत साधन भएका कतिपय विद्यालयले यस खालको अभ्यास विद्यालयमै गरेर विद्यार्थीलाई ताजा तरकारी गराउन सके यसबाट सकारात्मक सन्देश जाने सम्बद्ध अधिकारीहरूको भनाइ छ ।
स्थानीय भूमिका भएको उब्जनीलाई महìव दिने तथा कृषक एवं कृषिजन्य सङ्घ, संस्थासित मिलेर दिवा खाजालाई अघि बढाउन पर्नेमा जोड दिइएको छ । यसबाट विद्यार्थीले पौष्टिक तìवसहितको ताजा खाजा खान पाउने र स्थानीय तहले कृषक तथा कृषिमा लगानी गर्ने वातावरण बन्ने अधिकारीहरूको भनाइ छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?