logo
२०८१ बैशाख १४ शुक्रवार



गोरखापत्रको त्यो ‘लाइभ रिपोर्टिङ’

मुख्य समाचार |


गोरखापत्रको त्यो ‘लाइभ रिपोर्टिङ’


प्रकृति अधिकारी

काठमाडौँ, फागुन ८ गते । ठ्याक्कै ७० वर्षअघि अर्थात् २००७ साल फागुन ८ गतेको गोरखापत्रमा प्रकाशित समाचार जिज्ञासु तथा शोधकर्ताका लागि अझै पनि महìवपूर्ण स्रोत र दस्तावेज बन्न सक्छ । वि.सं. २००७ फागुन ७ गते नारायणहिटी दरबार परिसरमा प्रजातन्त्र स्थापनाको घोषणा गरिएको ऐतिहासिक एवं विशिष्ट समारोहको स्थलगत रिपोर्टिङलाई गोरखापत्रले प्रत्यक्ष सम्प्रेषणको शैलीमा प्रकाशित ग¥यो । समाचारदाताको नाम उल्लेख नभए पनि समाचार प्रस्तुतिको शैली बुलन्द थियो किनकि दुई घण्टाको त्यो समारोहका हरेक पललाई नछुटाई तयार गरिएको समाचारलाई अहिले पनि पढ्दा प्रत्यक्ष प्रसारण हेरिरहेको जस्तो अनुभव हुन्छ ।
त्यसको तीन दिनअघि २००७ साल फागुन ५ गतेको गोरखापत्रमा ‘श्री ५ महाराजाधिराज त्रिभुवन वीर विक्रम शाहदेवको नेपाल सवारी’ शीर्षकमा पहिलो पृष्ठ एउटै समाचारले भरिएको थियो । तत्कालीन राजा त्रिभुवनको स्वदेश फिर्तीका कारण नेपाल सहर विशेष चहकिलो थियो भन्दै समाचारमा लेखिएको थियो, “सडक, झ्याल, कौसी, छाना, बारदली समेत दर्शनार्थी जनताको भीड थियो । सबैभन्दा ज्यादा भीड थियो हवाइ अड्डामा ।”
त्यस बखत गोरखापत्र सातामा तीन पटक छापिन्थ्यो । सोही कारण फागुन ५ पछि फागुन ८ गते गोरखापत्र छापिएको थियो । फागुन ८ गते सोमबारको अङ्कमा ‘श्री ५ महाराजधिराजको शाही घोषणा’ शीर्षकमा मुख्य समाचार छापियो । सँगै शाही घोषणा पनि छापिएको थियो । “आज नारायणहिटी दरबारमा श्री ५ महाराजधिराजबाट गरिबक्सिने शाही घोषणाको समारोह थियो । फ्रन्टको दुईतिर टाँगिएका सामियानामा देब्रेपट्टी जङ्गी निजामती अफिसर र दाहिने पट्टी नेपाली काँंग्रेसका मानिसहरू बसेका थिए” समाचारमा त्यो दृश्यलाई यसरी प्रस्तुत गरिएको थियो ।
समाचारका अनुसार पौने ३ बजेतिर ‘मिनिस्टर साहेब’, ब्रिटिस राजदूत, विदेशी पाहुना समारोहस्थल आइपुगेका थिए । अपराह्न २ः५५ मा तत्कालीन युवराज महेन्द्र र केहीपछि तत्कालीन प्रधानमन्त्री मोहनशमशेर समारोह स्थल पुग्नुभएको थियो । ठीक ३ बजे भारतीय राजदूत उपस्थित भए भने त्यसपछि माहिला र कान्छा शाहाजादा त्यहाँ पुगेका थिए । सवा ३ बजे मातृकाप्रसाद कोइराला, भरतमणि शर्मा, गणेशमान सिंह पुगेपछि स्वदेशी विदेशी फोटोग्राफरहरूका क्यामेरा धमाधम चल्न थालेको समाचारमा उल्लेख छ ।
इतिहासकार पुरुषोत्तमशमशेर जबराले त्यस दिनको स्मरण गर्दै भन्नुभयो, “मैले पनि फोटो खिचिरहेको थिएँ । आफू क्यामेराम्यान भएकाले अरूको तस्बिर आए, मेरो आएन । मैले खिचेका ती तस्बिर अझैसम्म सुरक्षित छ ।”
समाचारअनुसार साढे ३ बजेतिर श्री ३ महाराज र चुनिने मन्त्रीहरू समेतको मूल बैठकमा प्रवेश भयो । तत्कालीन राजा त्रिभुवन बस्नुहुने कौच अगाडिको दुई लहर गरी राखिएका मेचमध्ये अगाडिको लहरमा मोहनशमशेर, बीपी कोइराला, सुवर्णशमशेर, चूडाराजशमशेर तथा पछाडिको पङ्क्तिमा गणेशमान, यज्ञबहादुर बस्न्यात, भरतमणि शर्मा बस्नुभएको थियो । तीन बजेर ३५ मिनेटमा दुई जना ‘स्टाफ अफिसर’को पछि राजा त्रिभुवनको आगमन भएको थियो । “त्यसपछि मेजर विजयबाट शाही घोषणाको एक प्रति श्री ५ का बाहुलीमा टक्र्याइबक्सियो । चार बज्न बीस मिनेट बाँकीमा मौसुफबाट शाही घोषणा गरिबक्सियो” समाचारमा लेखिएको छ । समाचारअनुसार नारायणहिटी दरबारभित्रको त्यो समारोहलाई सबै जनताले देख्न नपाए पनि सुन्न पाऊन् भनेर टुँडिखेलसम्म लाउडस्पिकरको व्यवस्था गरिएको थियो । भाषण सकिएपछि बैठकमा भाषणका प्रतिहरू धमाधम बाँडिएका थिए ।
पौने चार बजे तत्कालीन राजा त्रिभुवनसमक्ष प्रधानमन्त्री मोहनशमशेरले शपथ ग्रहण गर्नुभयो र अन्य मन्त्रीले प्रधानमन्त्रीसमक्ष शपथ लिनुभयो । यो कार्य ४ बजेर ५ मिनेटमा सकिएको गोरखापत्रले छापेको थियो । राजाले ४ बजेर १० मिनेटमा पोटिकामा गई सलामी लिनुभयो । पोटिकामा ‘ग्रुप फोटो’ खिचिएको दृश्यलाई पनि समाचारमा जनाइएको थियो ।
क्रमशः सबै बिदा हुन थाले । पाँच बजेतिर सबैको सवारी फिरेको र सो महोत्सव सुसम्पन्न भएको भन्दै गोरखापत्रको त्यो समाचारमा लेखिएको थियो, “निजामती, जङ्गी अफिसर कर्मचारीहरूमा भाषणका प्रतिहरूको हारालुछ थियो ।”
मुख्य समाचारको सँगै शाही घोषणा पनि छापियो । मन्त्रिमण्डलको पहिलो सभा भोलि ३ बजे सिंहदरबारमा बस्ने समाचार पनि छापिएको थियो । त्यसै दिनको गोरखापत्रले ‘आदर्श नेपाल’ शीर्षकमा सम्पादकीय पनि छाप्यो । अर्काे अङ्क अर्थात् फागुन १० गते ‘नेपालमा मन्त्रिमण्डलको पहिलो बैठक हिजो सिंहदरबारको ग्यालरी बैठकमा भयो’ भनेर समाचार छापियो । काठमाडौँको त्यो समाचारको ‘डेटलाइन’ नयाँ दिल्ली थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?