logo
२०८० चैत्र १६ शुक्रवार



स्नातकको भर्नातिर विश्वविद्यालय

शिक्षा |


स्नातकको भर्नातिर विश्वविद्यालय


शेषकान्त पण्डित

काठमाडौँ, माघ २१ गते । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेलगत्तै विभिन्न विश्वविद्यालयले स्नातक तहको भर्ना कार्यक्रम प्रारम्भ गर्न प्रतिस्पर्धा नै चलेको छ । सार्वजनिक नतिजाबाट झन्डै चार लाख ३३ हजारभन्दा बढी विद्यार्थीलाई एकै पटक उच्च शिक्षामा ढोका खुलेपछि विश्वविद्यालयहरूले भर्ना कार्यक्रम सुरु गर्नेभएका हुन् ।
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको शैक्षिक सत्र फागुनमा गर्ने निर्णय गरेको छ । शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले स्नातक तहको शैक्षिक सत्र फागुनमा प्रारम्भ गर्ने निचोडमा विश्वविद्यालय पुगेको जानकारी दिनुभयो । विश्वविद्यालयले तीन महिना पछि सारेर भर्ना कार्यक्रम सुरु गर्नेभएको हो । यसअघि मङ्सिरमा स्नातक तहको पहिलो वर्षको भर्ना गर्ने गरिएको थियो ।
पोखरा विश्वविद्यालयले कक्षा १२ को नतिजा सार्वजनिक भएलगत्तै भर्ना सुरु गरिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले जानकारी दिनुभयो । विश्वविद्यालय मातहतका कलेजले भर्ना कार्यक्रम जारी राखेको र अब नतिजा आएलगत्तै आङ्गिक क्याम्पसमा समेत भर्ना खोलिने जनाइएको छ ।
नेपाल संस्कृत विश्वविद्यालयले माघबाट स्नातक तहको भर्ना कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ । संस्कृत विश्वविद्यालयमा शैक्षिक सत्र कहिलेबाट प्रारम्भ गर्ने भन्ने निर्णय विश्वविद्यालयको सभाबाट गर्ने परम्परा छ ।
विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले माघबाटै स्नातक तहको पठनपाठन सुरु गरिने जानकारी दिनुभयो । विश्वविद्यालयले प्राकशास्त्री तह उत्तीर्ण गरेका विद्यार्थीलाई पुस महिनामै स्नातक तहमा भर्ना गरिसकेको छ ।
संस्कृतबाहेकका अन्य विषय अध्ययन गरेका कक्षा ११ र १२ का विद्यार्थीलाई छ महिना संस्कृत अध्यापन गराएर स्नातक तहमा अध्ययनका लागि बाटो खुला गर्ने गरिएको छ । यसलाई प्राकशास्त्री तह भन्ने गरिएको छ । अब कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई समेत भर्ना गरी माघबाटै पठनपाठन प्रारम्भ गरिने जनाइएको छ ।
कक्षा १२ को नतिजा सार्वजनिक भएलगत्तै मध्यपश्चिम विश्वविद्यालयले स्नातक तहका लागि भर्ना आह्वान गर्दैछ । विश्वविद्यालयका कुलपति प्रा.डा. नन्दबहादुर सिंहले स्नातक तहका कार्यक्रम माघबाटै प्रारम्भ गरिने जानकारी दिनुभयो ।
काठमाडौँ विश्वविद्यालयले स्नातक तहमा भर्ना कार्यक्रम जारी राखेको छ । कक्षा १२ को नतिजा प्रकाशित हुन बाँकी रहे पनि विद्यार्थीलाई भर्ना गर्ने कार्यक्रम जारी राखिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले जानकारी दिनुभयो । विश्वविद्यालयले स्नातक तहका सबै कार्यक्रम सेमेस्टर प्रणालीमा सुरु गर्ने गरेको छ ।
फागुनबाट स्नातक तहको शैक्षिक सत्र प्रारम्भ गरिने छ । कोरोना भाइरसको प्रभावका कारण केही महिना ढिला गरेर भर्ना कार्यक्रम सुरु गरिने भएको हो । आगामी चार वर्षभित्र हाल बिग्रेको स्नातक तहको शैक्षिक सत्र मिलाउने योजना विश्वविद्यालयले बनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?