logo
२०८० चैत्र १५ बिहीवार



खोप लगाएपछि चिकित्सकले भन्नुभयो: 'बल्ल ढुक्क भइयो, धन्य सरकार'

पढ्नै पर्ने |


खोप लगाएपछि चिकित्सकले भन्नुभयो: 'बल्ल ढुक्क भइयो, धन्य सरकार'
तस्बिर : कविता थापा/नवराज कट्टेल/सिराज खान/अमृत बास्कुने/नवीन शिशिर विक/अविनाश चौधरी/अमरराज नहर्की/टीकाराम उप्रेती


काठमाडौंँ, माघ १४ गते । नेपालमा आजबाट देशव्यापी रूपमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सुरु भएको छ । खोप पहिलो चरणमा चिकित्सक, नर्स तथा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, सरसफाइ गर्ने व्यक्तिलाई लगाइदैछ । केही दिनअघि भारत सरकारको अनुदानमा १० लाख डोज खोप नेपाल ल्याइएको हो ।

गोरखापत्र विराटनगर समाचारदाता नवराज कट्टेल अनुसार प्रदेश १ का आठ जिल्लामा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दास र वरिष्ठ कन्सल्टेन्ट फिजिसियल डा.दिपक सिग्देलले विराटनगरमा बुधबार पहिलो खोप लगाउनुभएको हो ।
कोशीको कोभिड–१९ अस्पताल परिसर केन्द्रमा औपचारिक कार्यक्रमकाबीच डाक्टरद्वयले खोप लगाउँदै सरकारप्रति आभार व्यक्त गर्नु भएको छ । कोशीका मेसु दासले स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर सरकारले खोप सेवा ल्याएकोमा आभार व्यक्त गर्दै नागरिकका लागि पनि आवश्यक खोपको प्रबन्ध मिलाउनका लागि आग्रह गर्नुभएको थियो । उहाँले आफूलाई बल्ल ढुक्क भएको बताउँदै अब कोरोना भाईरसको जोखिम विस्तारै निस्तेज हुने विश्वास व्यक्त गर्नुभयो ।
यसैगरी डाक्टर सिग्देलले खोप लगाउँदा कोरोनाबाट सुरक्षित हुनसकिने बताउँदै अनावश्यक हल्ला र अफवाहको पछि नलाग्न आग्रह गर्नुभएको थियो । उहाँले खोपबारे भएका अध्ययन र परीक्षणहरुले त्यसको प्रमाणिता पुष्टि गरेपछि मात्रै मानव शरिरमा लगाईने भएकोले सबैले खोप अभियानमा सरिक हुनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश १ का आन्तरिक मामला तथा कानुन एवं सामाजिक विकासमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख उपस्थितिमा राष्ट्रिय खोप अभियान अन्तर्गतको कार्यक्रममा प्रदेशमा सुरुवात गरिएको हो । कार्यक्रममा मन्त्री कार्कीले सरकारले कोरोनाको भयावहबाट नागरिकको सुरक्षाका लागि चालेका कदम सही भएकै कारण विकसित मुलुकको तुलनामा मानवीय क्षति कम भएको बताउनुभयो ।
उहाँले विश्वमा कोरोनाको खोप परीक्षण भएको दुई महिनाभित्रैको अवधिमा नेपालमा कोभिड–१९ विरुद्धको खोप भित्र्याउन सफल भएको बताउनुभयो ।
बुधबारदेखि सुरु भएको राष्ट्रिय खोप अभियान कार्यक्रम प्रदेश १ का ८ जिल्लाका १९ केन्द्रमा सरकारी तथा निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारी, सफाइ कर्मचारी, एम्बुलेन्स चालक, शववाहन चालक समेतलाई खोप लगाउने कार्यक्रम राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशानालयका निमित्त स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार आठ जिल्लाका २८ हजार ६०५ जनालाई खोप उपलब्ध भएको दश दिनभित्रमा खोप लगाइसकिनेछ ।  बाँकी ४ जिल्लामा बिहीबारदेखि र २ जिल्लामा शुक्रबारदेखि खोप लगाइने भएको छ । बिहीबार र शुक्रबार ७ खोपकेन्द्रमा यसको प्रारम्भ हुने भएको हो । प्रदेश १ मा ३५ हजार ५७६ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

हाम्रा डोल्पा समाचारदाता विष्णुलाल बुढाका अनुसार हवाई सेवाका कारण ढिलो गरी आजै डोल्पा पुगेको कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
जिल्लामा एक मात्र खोप केन्द्र जिल्ला अस्पताल डोल्पामा दिउसो २ बजेतिर डा. शंकर रावतले खोप लिएर खोपको उद्घाटन गराउनु भएको थियो । ढिलो गरी सुरु भएको खोप बुधवार २० जनालाई खोप लगाइएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । बुधवार सुरुमा डा. रावत र अन्त तथा २० औं खोप लगाउने व्यक्तिमा स्वास्थ्य सेवा कार्यालय डोल्पाका कोरोना फोकल पर्सन टेकबहादुर गुरुङले खोप लिनु भएको थियो ।
बुधवार खोप लगाइएका कुनैमा पनि खोपले प्रतिकुल असर गरेको छैन । बेलुकी यो समाचार तयार पारुन्जेल सबैको स्वास्थ्य राम्रो रहेको स्वास्थ्य सेवा कार्यालय डोल्पाका मेडिकल सुपरिटेन्डेन्ट एवम् स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डा. सिजन रावलले जानकारी दिनु भयो ।
हवाई उडानको समस्याका कारण बुधवार मात्र ६ सय ५ जनालाई हुने १ सय २१ भाइल तथा १ हजार २ सय १० डोज खोप डोल्पा पुगेको थियो । केही खेर जाने अनुमानका साथ डोल्पामा स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयम् सेविका र एम्बुलेन्स चालक गरी ५ सय १४ जनालाई खोप लगाइने स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ ।
खोप लगाइसके पछि कुनै समस्या आएमा तत्काल त्यसको उपचार गर्न सजिलो होस् भनेर जिल्ला अस्पताल डोल्पामा जिल्ला भरिमा एउटा मात्र खोप केन्द्र कायम गरिएको छ ।
बुधवारबाट सुरु भएको खोपको तालिका अनुसार डोल्पामा १४ र १५ गते जिल्ला अस्पताल डोल्पाका, १६ र १७ गते ठुलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकाका, १९ र २० गते मुड्केचुला र जगदुल्ला गाउँपालिकाका, २१ र २२ गते डोल्पोबुद्ध र काइके गाउँपालिकाका र २३ र २४ गते शे फोक्सुण्डो र छार्का ताङसोङ गाउँपालिकाका स्वास्थ्यकर्मीहरु र महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई खोप लगाउने कार्य तालिका बनाइएको स्वास्थ्य कार्यालय डोल्पाले जानकारी दिएको छ ।

 

यसैबीच गोरखापत्रका नवलपरासी पुर्व (नवलपुरमा)का समाचारदाता ज्ञानु पंगेनीका अनुसार  बुधबारदेखि कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. गोपाल खनाललाई पहिलो खोप लगाउदै खोप अभियानको शुरु भएको छ । सरकारले कोभिड १९ विरुद्धको खोप ल्याएसंगै जिल्ला जिल्लामा खोप अभियान शुरु भएको हो ।
नवलपुरका लागि पहिलो चरणमा एक सय १७ भायल खोप आएको छ । एउटा भायलमा दश डोज हुने भएकाले एक हजार एक सय सत्तरी डोज खोप आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले बताउनुभयो । खोप प्रयोगका क्रममा १० प्रतिशतको हाराहारीमा नष्ट हुन सक्ने भएकाले प्राप्त खोपबाट करिब एक हजार ५० जनालाई लगाउन सकिने प्रमुख चापागाईले बताउनुभयो । पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम सेवीका, स्थानीय तहका सरसफाई कर्मी , एम्बुलेन्स तथा शव वहान चालक, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी ,वृद्धा आश्रममा रहेका जेष्ठ नागरिकलाई खोप लगाईने छ ।
पहिलो चरणमा जिल्लामा खोप लगाउन नामावली टिपाउनेहरुलाई पुग्ने गरि खोप आएको छ । यस पछिको चरणमा जेष्ठ नागरिक र सूरक्षाकर्मीहरुलाई खोप लगाईने छ ।
जिल्लामा करिब २५ सय कोभिड संक्रमित रहेका छन् जसमा सक्रिय संक्रमितको संख्या हाल करिब १० जना रहेको स्वास्थ्य कार्यालय प्रमुख चापागाईले बताउनुभयो ।
पहिलो चरणमा जिल्ला अस्पतालबाट खोप केन्द्र स्थापना गरि लगाउन सुरु गरिएको र यसपछी समुदाय स्तर सम्म पनि जाने जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. शुनिलराज गौतमले बताउनुभयो ।
खोप परिक्षण पश्चात आएकाले यसको प्रयोगमा डराउनु नपर्ने जिल्ला अस्पतालका सुपरिटेन्डेण्ट डा. गौतमले बताउनुभयो । कुनै पनि खोपहरुमा केही सामान्य प्रभाव हुने भएपनी यस कोभिड १९ विरुद्धको खोप प्रयोगमा कुनै खतरा नभएको र फाईदा नै धेरै भएकाले कोभिड १९ रोकथामलाई सहयोग पुग्ने उहाँले बताउनुभयो ।

यसैबीच गोरखापत्र नेपालगञ्ज (बाँके) समाचारदाता सिराज खानका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापालाई कोरोनाविरुद्धको खोप लगाएर बाँकेमा खोप अभियान शुरु गरिएको छ ।
बुधबार विहान भेरी अस्पतालमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा भेरी अस्पतालका प्रमुख डा. थापालाई पहिलो खोप लगाएर जिल्लामा खोप अभियान शुरु गरिएको जिल्ला खोप व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले बताउनुभयो ।
सबैभन्दा पहिले डा. थापालाई स्वास्थ्यकर्मी कमला शाहले खोप लगाउनुभएको थियो ।
यसअघि जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवले सरकारबाट प्राप्त भएको खोपलाई स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै उहाँले कोभिड १९ महामारी शुरु भएको एक वर्षभित्रै बाँकेमा खोप अभियान शुरु गरिनु उल्लेखनीय काम भएको बताउनुभयो ।
उहाँले खोप अभियान शुरु भएपछि सर्वसाधारणको आत्मबल बढेकोले अब छिटै कोरानाबाट मुक्ति पाइने विश्वास व्यक्त गर्नुभयो ।
खोप अभियान अन्तर्गत बाँकेमा पहिलो खोप लगाउने अस्पताल प्रमुख डाक्टर थापाले खोपका बारेमा धेरै आशंका देखिएकाले खोप सुरक्षित रहेको सन्देश दिन आफूले नै सबैभन्दा पहिलो खोप लगाएको बताउनुभयो ।
उहाँले खोप अपरिहार्य भएकोले सबैले लगाउनुपर्नेमा जोड दिंदै यसका बारेमा बाहिर आएका हल्लाहरु निराधार रहेको प्रष्ट पार्नुभयो ।
पहिलो चरणमा बुधवार भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिने कर्मचारी, एम्बुलेन्स चालक, सरसफाईकर्मी, अस्पतालका अन्य कर्मचारीलाई गरेर चारसय जनालाई खोप दिने स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताउनुभयो ।
उहाँले बाँके जिल्लालाई प्राप्त भएको १७ हजार खोप मध्ये हाल पहिलो प्राथमिकतामा परेका ७ हजार ५०० जनालाई लगाइने बताउनुभयो ।
खोप लगाइएकाहरुलाई एक महिनाको अन्तरालमा दुई डोज दिने प्रमुख शाहले बताउनुभयो ।
भारत सरकारको अनुदानमा प्राप्त भएको १० लाख खोपलाई माघ ८ गते नेपाल ल्याइएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्नेछ । पहिलो चरणमा चार लाख ३० हजारलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।

बागलुङ जिल्ला समाचारदाता नवीन शिशिर विकका अनुसार धौलागिरी अस्पताल बागलुङमा कार्यरत डाक्टरलाई कोरोना विरुद्धको पहिलो खोप लगाएर बागलुङको खोप अभियानको सुरुवात गरिएको छ ।
सरकारले तयार गरेको प्राथमिकीकरण अनुसार पहिलो पटक अस्पतालका निमित्त प्रमुख डाक्टर दिवकर पराजुलीले खोप सेवा लिनुभएको हो । उहाँलाई धौलागिरी अस्पतालमै खोप प्रदान गरिएको थियो ।
छिमेकी मित्र राष्ट्र भारतले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप सरकारले पहिलो चरणमा कोरोना उपचारको अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, सहचालक, सार्वजनिक फोहोर संकल सरसफाइकर्मीलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
स्वास्थ्य कार्यालय बागलुङले पहिलो चरणमा अग्रभागमा खटिने जिल्लाभरका एक हजार ७१४ जनालाई खोप सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । तत्काललाई धौलागिरी अस्पतालमा खोप केन्द्रको रुपमा तोकिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । दश स्थानीय तहको कोरोना उपचार अग्रभागमा खटिने व्यक्ति खोप सेवाका लागि धौलागिरी अस्पताल आउनुपर्नेछ ।
खोप लगाइसकेपछि त्यसको असर के कस्तो रहन्छ भन्ने बारे खोप प्रापकलाई न्यूनतम आधा घण्टा निगरानीमा राख्नको लागि अस्पतालमा निगरानी कक्ष तयार गरिएको छ ।
खोपलाई कोल्डचेनको व्यवस्थापन पनि गर्नुपर्ने हुँदा जिल्लामा पहिलो चरणको खोप धौलागिरी अस्पतालबाट मात्र प्रदान गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । अग्रपंक्तिमा खटिनेलाई लगाएर बाँकी रहेका खोप कसलाई लगाउने बारे नीति प्रदेश सरकारले बनाइसकेको र सोही अनुसार लगाइनेछ ।
सरकारले पहिलो चरणमा ३ प्रतिशत, दोस्रो चरणमा २० प्रतिशत र बाँकीलाई तेस्रो चरणमा लगाउने तयारी गरेको छ । सरकारले सात प्रदेशका ६२ वटा अस्पताल र १२० खोप केन्द्रबाट खोप लगाउन थालेको छ ।

धनगढी समाचारदाता अविनाश चौधरीका अनुसार सुदूरपश्चिम प्रदेशमा पनि कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि सुरु गरिएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीलाई पहिलो खोप लगाएर खोप अभियानको सुरुवात गरिएको हो । यसैगरी, दोस्रो खोप जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीलाई लगाइएको छ ।
सुदूरपश्चिम प्रदेशभरि १० वटा खोप केन्द्रबाट खोप लगाउने कार्य भइरहेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पहिलो चरणमा प्रदेशभरि खोप लगाउनेको सङ्ख्या १६ हजार २९३ रहेको छ । यसमा अग्रपङ्तिमा खटेर कोरोना भाइरस रोकथाम तथा व्यवस्थापनका काम गर्दै आएका स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, शव व्यवस्थापन गर्दै आएका सुरक्षाकर्मी, एम्बुलेन्स तथा शवबाहन चालक पर्दछन् ।
सुदूरपश्चिमभरि पहिलो चरणको खोप अभियानका लागि १८ हजार ९० डोज खोप नौ वटै जिल्लाहरुमा बाँडफाँट गरिएको छ । यसैगरी, खोप लगाइसकेपछि खोप लगाएका व्यक्तिमा देखिन सक्ने प्रतिक्रियात्मक असर व्यवस्थापनका लागि हरेक खोप केन्द्रमा मेडिकल अफिसरसहितका चार सदस्यीय टोलीलाई तयारी अवस्थामा राखिएको छ ।
खोप लगाइसकेका कसै–कसैलाई आधा घण्टाभित्र प्रतिक्रियात्मक असर देखिन सक्ने सेती प्रादेशिक अस्पताल खोप केन्द्रमा बनेको असर व्यवस्थापन टिमका सदस्य कृष्णबहादुर बोहराले बताउनुभयो । ‘त्यसैले हामीले खोप लगाइसकेका व्यक्तिलाई यहाँ आधा घण्टासम्म राखिरहेका छौं’, उहाँले भन्नुभयो । ‘अहिलेसम्म त्यस्तो समस्या कसैलाई देखिएको छैन ।’

तनहुँ समाचारदाता अमरराज नहर्कीका अनुसार तनहुँमा कोभिडविरुद्ध भ्याक्सिन लगाउने अभियान बुधबारबाट शुरू गरिएको छ । स्वास्थ्य कार्यालय तनहुँले दमौली अस्पताल र स्वास्थ्य कार्यालयको नव निर्मित भवनमा केन्द्र राखेर पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको छ । अभियानको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले शुरुआत गर्नुभयो । शुक्लागण्डकी नगरपालिकाको थप्रेक स्वास्थ्य चौकीमा कार्यरत वीरेन्द्रकुमार चौधरीलाई खोप लगाएर अभियान शुरु गरिएको हो ।
जिल्लाका १० वटा स्थानीय तहका एक हजार ६ सय ७९ जना स्वास्थ्यकर्मीलाई पहिलो चरणको खोप लगाउन शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । व्यास नगरपालिकामा–५५८, शुक्लागण्डकी नगरपालिकामा–२६७, भिमाद नगरपालिकामा–१७७ र भानु नगरपालिकामा–१७१ स्वास्थ्यकर्मीहरुलाई लगाईने छ । त्यसैगरी बन्दिपुर गाउँपालिकामा–१५, ऋषिङगाउँपालिकामा–९८, देवघाट गाउँपालिकामा–८७, म्याग्दे गाउँपालिकामा–८२, आँबुखैरेनी गाउँपालिकामा–७३ र घिरिङगाउँपालिकामा–६१ जना स्वास्थ्यकर्मीलाई उक्त खोप प्रदान गरिने अधिकारीले जानकारी दिनुभयो । अग्र पंक्तिमा खटिएका सरकारी तथा निजी क्षेत्रका स्वास्थ्यकर्मी तथा अन्य अग्रपङ्त्तिका सेवा प्रदायकलाई खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

व्यवस्थापन समिति गठन
खोप लगाईए पछि स्वास्थ्य समस्या देखिएमा व्यवस्थापनको लागि दमौली अस्पतालका मेडिकल सुपरिटेन्डन डा. सुनिल पौड्यालको संयोजकत्वमा चार सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सहसंयोजक मेडिकल अधिकृत डा.सिन्चन पाण्डे, व्यासनगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती र अनमी दीपा पाण्डे रहेका छन् । जोखिमका व्यवस्थापनको लागि भेन्टिलेटर र स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको डा. पौड्यालले जानकारी दिनुभयो । खोप लगाएपछि कसै कसैमा ज्वरो आउने, टाउँको दुख्ने, वाक्वाकी आउने जस्ता समस्या हुन सक्ने हुँदा स्वास्थ्यकर्मीको टोली सचेत भएर बस्ने व्यवस्था मिलाइएको छ ।
जिल्लाभरीका स्वास्थ्यकर्मीहरुलाई दमौली अस्पतालमा नै आएर उक्त खोप लगाउन व्यवस्था मिलाइएको छ । खोप लगाएपछि कुनै त्यस्तो समस्या देखिएमा तुरुन्तै उपचार गर्न सहज बनाउनको लागि दमौली अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप लगाइसकेपछि आधा घण्टा अस्पतालमा नै बस्नु पर्ने प्रावधान राखिएको छ । खोप लगाएपछि कुनै स्वास्थ्य समस्या नदेखिएको महिला स्वास्थ्य स्वएमसेविका व्यास नगरपालिकाकी संयोजक विष्णुमाया खनालले बताउनुभयो । म्याग्दे गाउँपालिका–४ घुम्तिकी शर्मिला विकले पनि खोप लगाउँदा कुनै असर नपरेको जानकारी दिनुभयो ।

झापा समाचारदाता टीकाराम उप्रेतीका अनुसार कारोना भइरस कोभिड–१९ बिरुद्धको खोप लगाउने काम झापाका तीन वटा केन्द्रमा एकै पटक सुरु भएको छ ।
स्वास्थ्य कार्यालय झापाका कोभिड सत्रंmमण सम्बन्धि फोकल पर्सन जीवन चौलागाईका अनुसार जिल्लामा मेची अच्चल अस्पताल भद्रपुर, बिर्तामोड र दमक गरि तीनवटा केन्द्रबाट खोप लगाउने काम भइरहेको छ । बुधबार बिहान १० बजे तीनवटै केन्द्रमा अग्रपङ्तीमा काम गर्ने स्वास्थ्य कर्मीलाई लगाइएको थियो । बुधबारदेखि सुरु भएको भ्याक्सिन लगाउने काम एक सातासम्म सञ्चालन गरिने जनाइएको छ । झापामा दश हजार डोज उपलब्ध भएको जनाइएको छ ।
भ्याक्सिन भद्रपुर केन्द्रमा मेची र भद्रपुर नगरपालिका तथा हल्दीवारी, बाह्रदशी, कचनकवल, गाउपालिकाभित्रका अग्रपङ्तीमा काम गर्ने चिकित्सक, सरसफाई क्षेत्रमा काम गर्ने र सुरक्षाकर्मीलाई खोप लगाइने जनाइएको छ । त्यस्तै बिर्तामोड केन्द्र अन्र्तगत बिर्तामोड, कन्काई र अर्जुनधारा नगरपालिका तथा झापा र बुद्धशान्ती गाउपालिका भित्रकालाई लगाइने छ ।
त्यस्तै दमक केन्द्रमा जिल्लाको माइपश्चिम क्षेत्रका शिवसतासी, दमक, गौरादह नगरपालिका तथा गौरिगञ्ज र कमल गाउँपालिका भित्रका स्वास्थ्यकर्मीलाई लगायतलाई लगाइदै छ । दमक स्थित आम्दा अस्पतालका पूर्व मेसु डाक्टर नविन ढकालले भ्याक्सिन लगाउन पाएकोमा आफु धेरै सुरक्षित भएको महशुस भएको बताउनुभयो । यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठुलो सहज हुने छ । उपचार चुस्त दुरुस्त राख्न समेत सहज हुने डाक्टर ढकालको अनुभव छ ।

धनकुटा समाचारदाता कोकिला भण्डारीका अनुसार जिल्ला अस्पताल धनकुटामा आजबाट कोभिडविरूद्धको “कोभिसिल्ड” खोप लगाइदै अभियानको शुरुवात गरिएको छ ।
नेपाल मै कोभिड विरुद्धको खोप अभियान शुरु भए सँगै जिल्ला अस्पताल धनकुटाका निमिक्त सुपरीटेन्डेन्ट डाक्टर पुजन विश्वकर्मालाई खोप लगाइ दिदै अभियानको शुरुवात गरिएको जिल्ला अस्पताल धनकुटाले जनाएको छ ।
जिल्ला अस्पताल धनकुटामा स्थापना गरिएको खोप केन्द्रमा जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले कोभिसिल्ड खोप बक्स अस्पतालका डाक्टर विश्वकर्मालाई हस्तान्तरण गर्दै अभियान शुरु गरिएको हो ।
स्वास्थ्य कार्यालय धनकुटा प्रदेश नम्वर १ को आयोजनामा जिल्ला अस्पताल धनकुटामा राष्ट्रिय खोप अभियान कोभिड विरुद्धको खोप लगाउदै खोप अभियान शुभारम्भका साथमा खोप सञ्चालन केन्द्रको स्थापना गरिएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
नेपाल सरकारले बुधबारबाट देशव्यापी रूपमा कोभिड विरूद्धको खोप लगाउने अभियान अनुसार आजबाट जिल्ला अस्पताल धनकुटाका निमिक्त सुपरीटेन्डेन्ट डाक्टर विश्वकर्मा, स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाई, धनकुटा नगरपालिका धनकुटाका नगर स्वास्थ्य संयोजक भोजराज भण्डारीलगायतले खोप लगाएर अभियानको शुरुवात गर्नु भएको हो ।
कोभिड विरामीहरूको उपचार र व्यवस्थापनमा फ्रन्टलाइनमा रहेर काम गर्ने सरकारी, निजी सामुदायिक, गैरसरकारी मेडिकल कलेजहरूमा कार्यरत सबै स्वाथ्यकर्मीहरू, स्थानिय सरसफाइका कर्मचारी, सुरक्षाकर्मीहरूलाई, शव व्यवस्थापनमा खटिएका कर्मचारी, अस्पताल, स्वास्थ्य संस्थाका सहयोगी कर्मचारी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वंयमसेवीका, अस्पताल फार्मेसीमा कार्यरत कर्मचारी समेतमा खोप लगाउनका नेपाल सरकारबाट निर्देशन आए सँगै आजबाट खोप अभियान शुरु गरिएको हो ।
बुधबार आजबाट शुरु गरिएको खोप अभियान विहिबार, शुक्रबार र बाँकी रहेका स्वास्थ्य कर्मी, सरसफाई कर्मीलगायत फ्रन्टलाइनमा खटिएका कर्मचारीहरुलाई शनिबार सम्म खोप लगाईने स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
बेलायतको अक्सफोर्ड विश्वविध्यालय र एस्ट्रेजेनिका कम्पनी मिलेर विकास गरी भारतको सिरम इन्स्टिच्युटले तयार गरेको खोप भारत सरकारले अनुदान सहयोग स्परुप उपलब्ध गराएको १० लाख डोज कोभिसिल्ड खोप लगाउन शुरु गरिएको हो । यसले शरिरमा कोभिड विरूद्धको एन्टिबडी निर्माण गरी कोभिड लाग्नबाट बचाउनुका साथै उक्त खोप निशुल्क पाईने, खोप सुरक्षित हुने र खोपले जिवन रक्षा गर्ने लगायतको विषयमा स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख गुरागाईले जानकारी दिनुभयो । काठमाडाैँमा प्रधानमन्त्रि केपि शर्मा ओलिले खोप लगाउनु भए लगतै धनकुटामा पनि आज खोप लगाएका ब्याक्तिहरुले पुन २८ दिन पछि दोस्रो खोप लगाउनु पर्नेछ । खोप अभियान कार्यक्रममा, सुरक्षा निकायका प्रमुख, स्वास्थ्यकर्मीलगायतको उपस्थिति रहेको थियो ।

दार्चुला समाचारदाता लोकेन्द्र जोशीका अनुसार दार्चुलामा पनि कोरोना विरुद्धको खोप अभियान शुरु भएको छ । बुधवार विहान ११ बजेर ७ मिनेटमा स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टलाई पहिलो खोप लगाइएको छ । कोरोना विरुद्धको खोप लगाएपछि सुरक्षित महसुश भएको र आत्मबल बृद्धि भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टले प्रतिक्रिया दिनुभयो ।

दार्चुलामा पहिलो चरणमा माघ १४ गतेबाट १८ गते सम्म कोरोना विरुद्धको खोप अभियानका लागि एक हजार तीन सय ९० डोज खोप दार्चुला ल्याइएको छ । जिल्ला अस्पताल दार्चुलाबाट पहिलो चरणमा दार्चुला भरिका कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा कोरोनाबाट मृत्यु भएका ब्यक्तिको शब ब्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई खोप लगाईदैछ । दोस्रो चरणमा बाँकी मानिसहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

बुधबारबाट देशैभरि कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ । भारतले अनुदानमा नेपाल सरकार र नेपाली जनतालाई दिएको कोरोना विरुद्धको १० लाख कोभिशिल्ड भ्याक्सीन देशैभरीका स्वास्थ्य, सुरक्षा र सरसफाईकर्मीहरुलाई लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टलाई कोरोना विरुद्धको खोप लगाइदै ।

दमक समाचारदाता विष्णुप्रसाद पोखरेलका अनुसार दमक सहित झापाका बिभिन्न अस्पतालहरुमा बुधबारदेखि कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । झापाका सरकारी अस्पतालहरुमा मापदण्डको पालना गर्दै खोप हान्न शुरु गरिएको हो । भारतसंग सिमा जोडिएको झापामा कोरोना संक्रमण धेरै नै देखिएको थियो ।
सरकारी दमक अस्पतालद्धारा सञ्चालित कोभिड अस्पताल बेलडाँगीमा यहाँ कार्यरत स्वास्थ्यकर्मी लगायत सरकारले तयार पारेको मापदण्ड भित्रका अग्रभागमा खटिनेहरुलाई खोप हान्न शुरु गरिएको दमक अस्पताल ब्यवस्थापन समिति अध्यक्ष एवं दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताउनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार पहिलो चरणको खोप अभियान जिल्लामा शुरु भएको हो । जिल्लामा ११ हजार जनालाई पुग्नेगरी खोप आएको र पहिलो चरणमा झापामा ९ हजार जनालाई खोप लगाइने बताईएको छ । मेचीनगर, हल्दिबारी र कचनकबल पालिकाका लागि खोप अभियान शुरु भएको छ ।

महोत्तरी समाचारदाता नागेन्द्रकुमार कर्णका अनुसार कोरोना कोभिड विरुद्धको कोभिशिल्ड खोप कार्यक्रम वुधबारदेखि महोत्तरीमा दिन शुरु गरिएको छ । जलेश्वर अस्पतालको प्राँगनमा शुरु भएको खोप कार्यक्रममा जलेश्वर अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्ट डा.प्रभातकुमार गामीलाई दिएर खोप कार्यक्रमको शुरुवात गरिएको थियो ।
खोप पहिलो चरणमा चिकित्सक, नर्स तथा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, सरसफाइ गर्ने व्यक्तिलाई लगाइने जलेश्वर अस्पतालका मेसु गामीले बताउनुभयो । उहाँले अरुलाई डर नलागोस् भन्ने अभिप्रायले शुरुमा आफुबाट नै शुरु गरि अस्पतालका अन्य चिकित्सकहरुले लगाएको बताउनुभयो । डा.गामीले भन्नुभयो, ‘खोप नलगाउने विषयमा अनावश्यक हल्ला र अपवाहलाई रोक्न पनि आफुुले पहिले खोप लगाएको हुँ ।’
जलेश्वर अस्पतालमा अनौपचारिक कार्यक्रमबीच खोप कार्यक्रम शुरु गरिएको हो । महोत्तरी जिल्लामा २२ सय ३० जनालाई खोप लगाइने गरि २४३ भाइल कोभिशिल्ड आइपुगेको छ । एउटा भाइल खोपबाट १० जनालाई खोप दिन सकिने छ ।
खोप कार्यक्रम शुरुवातको समयमा जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुरेश प्रसाद सिंह, जलेश्वर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेय, स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नागेन्द्र प्रसाद चौधरीलगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमपश्चात सञ्चारकर्मीहरुसंग कुराकानी गर्नुहुदै जलेश्वर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेयले जलेश्वर अस्पताल १०० बेडको कोरोना अस्पतालको रुपमा रहिसकेको चर्चा गर्नुहुदै पिसिआर परिक्षण समेत भइरहेको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीहरुलाई लक्षित गरि खोप ल्याइएकोमा सबैलाई धन्यवाद समेत दिनुभयो ।
जलेश्वर नगरपालिकाका स्वास्थ्यकर्मी कला चौधरी र सुस्मिता सिंहले सबैलाई खोप लगाइरहेकी छिन् । खोप कार्यक्रम दश दिनसम्म चल्ने छ ।

इनरुवा समाचारदाता जयकृष्ण यादवका अनुसार सुनसरीमा कोरोना भाइरस विरुद्धको पहिलो खोप सदरमुकाम इनरुवाका एम्बुलेन्स चालक नारायण मण्डललाई लगाएको छ । बुधबार इनरुवा अस्पतालमा स्थापना गरिएको खोप केन्द्रमा पुगेर ४७ वर्षिय मण्डलले कोरोना विरुद्धको पहिलो डोज लगाउनुभयो ।
एम्बुलेन्स चालकलाई पहिलो डोज लगाएसँगै जिल्लामा कोरोना विरुद्धको खोप अभियानको औपचारिक सुरुवात भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, स्वास्थ्य प्रमुख सागर प्रसाई सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थितीमा इनरुवा अस्पतालबाट खोप अभियानको औपचारिक सुरुवात गरिएको हो ।
सो क्रममा इनरुवा अस्पतालका मेडिकल सुपरिटेण्ड डा.सन्तोष राई र इन्डोर इन्चार्ज रोनी ठाकुरले समेत कोरोनाको खोप लगाउनुभएको छ । सरकारी मापदण्ड अनुरुप अग्रपंक्तिमा रहेका व्यक्तिहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्लाका ४ स्थानमा खोप लगाइने कार्य सुरु गरिएको छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिजयपुर अस्पताल, इटहरी अस्पताल र इनरुवा अस्पतालमा पहिलो चरण अन्र्तगत प्राथमिकतामा परेका व्यक्तिहरुको हकमा तीन दिन खोप कार्यक्रम संचालन हुनेछ ।
स्वास्थ्य प्रमुख सागर प्रसाईका अनुसार सुनसरीमा कुल १२ हजार डोज खोप प्राप्त भएको छ । पहिलो डोज लगाएका व्यक्तिलाई पूनः २८ दिन पछि दोस्रो डोज दिइने छ । कार्यालयले पहिलो चरण अन्र्तगत जिल्लामा पाँच हजार पाँच सय जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।
यसैबिच प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बिना हिचकिचाहट खोप लगाउन आग्रह गर्नुभएको छ । वहाँले सरकारले निर्धारण गरेको नीति बमोजिम प्राथमिकतामा परेका व्यक्तिहरुलाई नजिकको खोप केन्द्रमा गई खोप लगाउन आग्रह गर्नुभएको हो ।
प्रजिअ पोखरेलले खोप लगाउने व्यक्तिको सबै विवरण स्वास्थ्यकर्मीले अपडेट राख्ने भएकाले समेत निर्धक्क साथ खोप लगाउन आग्रह गर्नुभएको छ ।

स्याङ्जा समाचारदाता अर्जुन काफ्लेका अनुसार कोरोना भइरस (कोभिड १९) विरुद्धको भ्याक्सिन स्याङजा पनि लगाउन शुरु गरिएको छ ।
भारत सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई केही दिन पहिले कोरोना भाइरसको दश लाख डोज भ्याक्सिन देशैभरी लगाउन शुरु गरिएको हो ।
स्याङ्जाको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन डा. शुसिल मरासिनी र स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले स्याङ्जामा खोप लगाएर थालनी गर्नु भएको हो ।
यहाँ पहिलो दिन २५० जनले खोप लगाएको डा मरासिनीले बताउनुभयो । सरकारले जिल्लाको लागि पठाएको १ सय ७१ भायल अर्थात एक हजार ७१० डोज कोरोना भाइरस विरुद्धको भ्याक्सिन सोमबार प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।
सरकारले जिल्लाको लागि पठाएको भ्याक्सिन पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिने कर्मचारीहरुलाई लगाउन जिल्ला स्वास्थ्य कार्यालयका शर्माले बताउनुभयो ।
माघ १८ गते सम्म हरेक पालिकाका भित्रका खोप लगाउने सुचिमा परेकालाई दैनिककी मिलाएको र सोहि अनुसार खोप लगाइने बताउनुभयो ।
उहाँले आएको खोपमा करिब २० प्रतिशत बिभिन्न कारणले ड्यामेज हुन सक्ने बताउदै शर्माले मिल्ने जति क्रमै सगँ लगाइने बताउनुभयो ।
कोरोना भाइरसका कारण स्याङ्जामा ८२८ जना सङ्क्रमित हुदाँ २० जनाको निधन भएको छ ।

लमजुङ समाचारदाता बेलिना थापाका अनुसार लमजुङका १ हजार ५ सय ७० जनालाई कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाइने भएको छ ।

कोरोना बिरुद्धको खोप अभियान २०७७ प्रथम चरणको कार्यक्रम अन्तर्गत जिल्लामा खोप अभियान सुरु भएको छ । जिल्ला अस्पताल लमजुङमा खोप केन्द्र स्थापना गरि बुधबारबाट कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको जिल्ला स्तरीय खोप व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणका लागि अग्रपंक्तिमा बसेर काम गर्नेहरुलाई प्राथमिकतामा राखेर खोप लगाउन थालिएको हो । खोप अभियानको सुरुवात जिल्ला अस्पताल लमजुङका डा. शरण लिम्बुलाई खोप लगाएर सुरुवात गरिएको हो । डा. लिम्बुले जिल्लामै पहिलो पटक कोरोना विरुद्धको खोप लगाउन पाउँदा खुसी लागेको बताउनुभयो । खोप लगाउँदा सामान्य प्रभाव देखिने भएपनि आत्ति हाल्न नहुने उहाँले बताउनुभयो । खोप लगाउँदा आफूलाई कुनैपनि समस्या नदेखिएको बताउनुभयो ।

स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीका अनुासर बुधबार पहिलो दिन बेंसीशहर नगरपालिकाका १ सय ५० जना, सुन्दरबजार नगरपालिकाका १ सय जना र मस्र्याङदी गाउँपालिकाका ५० जना गरी ३ सय जनालाई लगाइको छ । अग्रपंक्तिमा बसेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मीलाई पहिलो चरणमा निःशुल्क रूपमा खोप लगाइएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?