logo
२०८० चैत्र ६ मंगलवार



कोरोनाविरूद्धको खोप (सम्पादकीय)

विचार/दृष्टिकोण |





मित्रराष्ट्र भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप (भ्याक्सिन) बिहीबार बिहान काठमाडौँ आइपुगेको छ । औषधि व्यवस्था विभागले नेपालमा उक्त खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ । भारतले बुधबारदेखि छिमेकी देशहरूलाई अनुदानमा भ्याक्सिन दिन थालेअनुसार नेपाललाई पनि यस्तो सहयोग पठाइएको हो । भारतले दिएको खोप तत्काल चार लाख मानिसलाई लगाउने नेपाल सरकारले तयारी गरेको छ । सरकारले कोरोनाको उपचार, नियन्त्रण तथा व्यवस्थापनमा अग्रस्थान (फ्रन्टलाइन) बाट खटिने स्वास्थ्यकर्मी सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकहरूलाई पहिलो चरणमा खोप लगाइने जनाइएको छ । खोप लगाउने कार्यक्रम कहिलेदेखि सुरु हुन्छ भन्ने स्पष्ट खुलाइएको छैन तर सरकारले खोप आयात, भण्डार, वितरणका लागि सबै तयारी गरिसकेकाले खोप केही दिनभित्र नै लगाइन सुरु हुनेछ । नेपालमा तीव्र प्रतीक्षा गरिएको खोपबारे केही अन्योल चिर्दै भारतबाट खोपको पहिलो खोप ल्याइएपछि यस्तो अन्योल मात्र हटेको छैन विश्व स्वास्थ्य सङ्गठनअन्तर्गत (कोभ्याक्स) वितरण गरिने खोप पनि ल्याइने तीव्र तयारी गरिएकाले अब कुनै पनि नेपालीले खोपको अभावमा असुरक्षित महसुस गर्नुपर्ने छैन । वर्तमान सरकारले नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च महìव दिएकाले पनि कोरोनाको उपचारमा आशाका नयाँ किरण देखिन थालेका छन् ।
भारतमा अहिले कोरोनाविरूद्धका दुई प्रकारका खोप उत्पादन भइरहेका र तिनैमध्ये नेपाल ल्याइएको छ । अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रेजेन्काले विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ भने भारत बायोटेकको अर्को भ्याक्सिन भारतमै बनेको हो । नेपाल सरकारले अक्सफोर्ड (अष्ट्राजेन्का) को भ्याक्सिनलाई नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ । भारतसँग नेपालले आगामी दिनमा आफ्नो आवश्यकताअनुसार खोप ल्याउनेछ । भारतले पनि नेपाललाई आवश्यकपर्ने परिणाममा खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । खोपका लागि आवश्यक कोभिसिल्डमा एल हिस्टिडाइन, एल हिस्टिडाइन हाइड्रोक्लोराइड मोनोहाइड्रेट, डिसोडियम एडिटेट डाइहाइड्रेट, म्याग्नेसियम क्लोराइड हेक्साहाड्रेट, पोलिसाबेट ८०, इथानोल, सुकरोज, सोडियम क्लोराइड र इन्जेक्सनका लागि आवश्यक पर्ने पानीसहितको प्याकेज प्राप्त भएकाले यसको प्रयोगमा नेपालले थप कुनै तयारी गरिरहनुपर्ने आवस्था छैन ।
सङ्कटका बेला भारतले नेपाल र नेपालीप्रति देखाएको संवेदनशीलताको नेपालीहरूले खुला हृदयले प्रसंशा गरेका छन् । अघिल्लो साता भारत भ्रमणमा गएका बेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भारतले नेपाललाई प्राथमिकताका साथ कोरोना खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएर नेपालीको मन जितेको छ । पहिलो चरणको खोप सहायता स्वरूप उपलब्ध गराइएको र त्यसपछि नेपालले किन्नुपर्ने भए पनि आवश्यक परिणाममा खोप उपलब्धता सुनिश्चित हुनुलाई नेपाल सरकारको सफल कुटनीतिक पहल र भारतको सदासयका रूपमा बुझ्न सकिन्छ । भारतले उपलब्ध गराउने खोपबारे स्वास्थ्यमन्त्री हृदयस त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलनमार्फत नेपाललाई उपलब्ध गराइएको खोपबारे स्पष्ट गरिएपछि नेपालमा थप विश्वस्त वातावरण बनेको छ । भारतमै कोरोना सङ्क्रमणको महामारी भए पनि सरकारलाई भारतले उपलब्ध गराएको सहयोग निश्चय नै प्रसंसनीय छ ।
खोप लगाउने सन्दर्भमा नागरिक सचेतना पनि आवश्यक हुन्छ । एलर्जीको समस्या भएका व्यक्ति गर्भवतीले खोप लगाउनु हँुदैन भनिएको छ । यसैगरी खोपको पहिलो मात्रा लगाएपछि एलर्जी वा अन्य स्वास्थ्य समस्या देखियो भने पनि दोस्रो मात्रा लगाउनु हँुदैन । खोप लगाउने समयमा ज्वरो आएको भएमा पनि यो खोप लगाउन नहुने जनाइएको छ । यसैगरी रगतसम्बन्धी रोग भएका, रगत पातलो बनाउने औषधि लिइरहेका र रोग प्रतिरोध क्षमता बढाउने औषधि लिइरहेका व्यक्तिहरूले कोभिसिल्ड खोप लगाउन हुँदैन । भनिएकाले नागरिकहरूले खोप लगाउनुपूर्व आफ्नो स्वास्थका बारेमा स्पष्ट हुन आवश्यक हुन्छ । यसैगरी पहिला कोरोनासम्बन्धी अन्य कुनै खोप लगाएको छ भने पनि कोभिसिल्ड नलगाउन भनिएको छ । खोपको परीक्षण १८ वर्षभन्दा मुनिका व्यक्तिमा नभएकाले उक्त उमेर समूहलाई पनि उक्त खोप दिन नहुने जनाएको छ । सरकारले उपलब्ध गराएको खोपको पूर्ण सदुपयोग गर्न नागरिक लगायत सम्बद्ध पक्षको सहयोग र समन्वय हुनुपर्ने भएकाले सबैले आ–आफ्ना स्थानबाट सहयोग गर्नुपर्ने आवश्यक छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?