logo
२०८० चैत्र १५ बिहीवार



भौतिक उपस्थितिमै अध्ययन अध्यापन

शिक्षा |


भौतिक उपस्थितिमै अध्ययन अध्यापन


प्रकृति अधिकारी

बर्दिया, पुस १५ गते । बारबर्दिया नगरपालिकाको शक्तिनगरस्थित नवज्योति आधारभूत विद्यालयका विद्यार्थीले मास्क लगाएको विरलै देख्न पाइन्छ । बिहान विद्यालय सञ्चालन हुँदा शिक्षकका नाक–मुख मास्कले छोपिए पनि छुट्टी हुने बेलासम्ममा ती मास्क चिउडोमा झरिसकेका वा खल्तीमा पुगिसकेका हुन्छन् ।
कोरोना महामारीका कारण बन्द भएका विद्यालय सञ्चालन हुन थालेको करिब एक महिना बित्न लागेको छ । सुरु–सुरुमा सुरक्षाका मापदण्ड अपनाउन कडाइ भए पनि क्रमशः त्यसप्रति बेवास्ता हुन थालिसकेको छ । सो विद्यालयका प्रधानाध्यापक नमा ज्ञवालीले मास्क नलगाएकै कारण विद्यार्थीमा समस्या देखिएको अवस्था नरहेको बताउँदै भन्नुभयो, “कहिले कोही विद्यार्थीलाई ज्वरो आएको पाइएमा अभिभावकलाई बोलाएर घर पठाइदिने गरेका छौँ ।” उहाँले ज्वरो मापन गर्ने थर्मागन नभए पनि विद्यालयभित्र हात धोएर मात्र कक्षाकोठामा प्रवेश गर्न दिइने
गरिएको बताउनुभयो ।
बारबर्दिया नगरपालिकाका विद्यालयले विद्यार्थी सङ्ख्या, शिक्षक सङ्ख्या र भौतिक पूर्वाधारका आधारमा एकदेखि तीन चरणसम्म कक्षा सञ्चालन गर्ने गरेका छन् । कक्षाकोठामा अघिल्लो शैक्षिक सत्रको जस्तै विद्यार्थीको भीड देखिएको छ । कतिपय विद्यालयका विद्यार्थीले अनिवार्य मास्क र सामाजिक दूरी कायम गरेको पाइँदैन । एउटा कक्षाकोठामा ६० जनासम्म विद्यार्थीलाई राखेर अध्यापन गर्ने गरिएको पाइएको छ ।
स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने विद्यालय पनि केही छन् । अमर शहीद दशरथ चन्द माविले दैनिक दुई शिक्षकलाई स्वास्थ्य मापदण्ड पालना गराउन खटाउने गरेको छ । त्यस माविका प्रधानाध्यापक भीमलाल रिजालले एक शिक्षकलाई मास्क लगाए नलगाएको र अर्का शिक्षकलाई धारामा गई विद्यार्थीले हात धुए नधुएको बारेमा अनुगमन गराउने गरिएको बताउनुभयो । उहाँले मास्क नलगाएका विद्यार्थीलाई विद्यालय प्रवेश गर्न दिँदैनौँ भन्नुभयो ।
सुरुमा केही विद्यालयले बारअनुसार कक्षाका विद्यार्थीलाई बोलाएका थिए तर त्यसरी बोलाउँदा व्यवस्थापन गर्न समस्या भएपछि दैनिक सबै तहका विद्यार्थीलाई बोलाउन थालिएको छ । यहाँका विद्यालयले विभिन्न सिफ्टमा गरी अपराह्न ३ बजेसम्म प्रारम्भिक बालविकासदेखि कक्षा १० सम्म पठनपाठन गर्दै आएका छन् ।
बर्दियाका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रेबिका अमात्यले बारबर्दिया नगरपालिकाले कोभिड–१९ का बखत शैक्षिक व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरेको बताउँदै यहाँको सिको अन्य नगरपालिकाले समेत गरेको बताउनुभयो ।
नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारूले कोभिड–१९ का बखत शिक्षकलाई घरमा बस्न नदिई अध्यापन कार्यमा व्यस्त बनाइएको अनुभव सुनाउँदै भन्नुभयो, “आगामी चैतसम्ममा सरकारले निर्धारण गरेको कोर्स पूरा भइसक्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?