logo
२०८१ बैशाख ८ शनिवार



अनलाइनबाटै सिकाइ सुनिश्चित

शिक्षा |


अनलाइनबाटै सिकाइ सुनिश्चित


शेषकान्त पण्डित

काठमाडौँ, पुस ६ गते । कोरोना भाइरस (कोभिड–१९)का कारण जाडो अवधिमा काठमाडौँ महानगर क्षेत्रमा विद्यालय खुल्ने सम्भावना न्यून भएपछि विद्यालयहरू वैकल्पिक विधिको पठनपाठनलाई नै थप प्रभावकारी बनाउने तयारीमा जुटेका छन् । भौतिक रूपले विद्यालय खुल्ने सम्भावना अब कम्तीमा पनि पुस महिनाभरि नरहेपछि वैकल्पिक मध्येको अनलाइन प्रणालीलाई नै प्रभावकारी बनाइने भएको हो । यस वर्षको शैक्षिक सत्र नै भर्चुअल रूपमा नै सकिन सक्ने सम्भावनासमेत देखिएका कारण यसलाई प्रभावकारी बनाउने र छुटेका विद्यार्थीलाई समेत जोड्ने कार्यमा आफूहरू लागेको जानकारी विद्यालयका प्रधानाध्यापकले दिएका छन् ।
राजधानीको जनकल्याण माध्यमिक विद्यालयले कोरोना भाइरसका कारण विद्यालयको नियमित सम्पर्क आउन नसकेका विद्यार्थीको खोजी कार्य थालेको छ । विद्यालयमा अध्ययनरत पुराना विद्यार्थीमध्ये झन्डै दुई सयको हाराहारीमा विद्यार्थी अझै विद्यालयको सम्पर्कमा छैनन् । विद्यालयका प्रधानाध्यापक कुमारीकमला राईका अनुसार छुटेका विद्यार्थी खोजीका लागि कक्षा शिक्षक तथा अन्य शिक्षक जुटेका छन् ।
विशेषगरी महानगरका सिमाना क्षेत्रका विद्यालयलाई समस्या भएको प्रअ राईले बताउनुभयो । राजधानीको नन्दी माध्यमिक विद्यालयका प्रधानाध्यापक गीता काफ्लेले भौतिक रूपले कक्षा सञ्चालनका लागि महानगरपालिकाले अनुमति नदिएको अवस्थामा अनलाइनलाई नै प्रभावकारी बनाउनुपर्ने सुझाव धेरैतिरबाट प्राप्त भएको बताउनुभयो । उहाँले अब अनलाइनलाई नै थप प्रभावकारी बनाउनुपर्ने र आफूहरू पनि यसमा नै जुटेको बताउनुभयो । उहाँले गत असारबाटै नै आफूहरूले अनलाइन कक्षा सञ्चालन गरेको र शिक्षकहरू पनि यसमा अभ्यस्त भएका कारण अब यसकै माध्यमबाट न्यूनतम सिकाइको सुनिश्चितता गर्न सकिने उल्लेख गर्नुभयो ।
पूर्ण रूपमा विद्यालय नखुल्ने अवस्थामा अनलाइन नजोडिएका विद्यार्थीलाई भौतिक रूपमा विद्यालयमा बोलाएर भए पनि सहजीकरण गरिएको छ ।
राजधानीको दरबार हाई स्कुलका प्रअ अखिलेश आजादले माथिल्लो कक्षा ८० प्रतिशत विद्यार्थी अनलाइनमा जोडिएकाले यसमा समस्या नहुने बताउनुभयो । भौतिक कक्षा सञ्चालन नभएको अवस्थामा अनलाइनलाई नै प्रभावकारी बनाउनुको अर्को विकल्प नभएको उहाँको भनाइ छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?