logo
२०८० चैत्र १६ शुक्रवार



खेर फाल्न हुन्न शैक्षिक सत्र

शिक्षा |


खेर फाल्न हुन्न शैक्षिक सत्र



शेषकान्त पण्डित

काठमाडौँ, मङ्सिर १४ गते । कोरोना भाइरस (कोभिड–१९) का कारण विद्यालय तहको पठनपाठन प्रभावकारी बन्न नसक्दा सरकारलाई यस वर्षको शैक्षिक सत्र निर्धारित समयमा पूरा गर्न चुनौतीपूर्ण हुने देखिएको छ । तर पनि बाँकी समयको सही तरिकाले सदुपयोग गर्दै आगामी चैतभित्रै शैक्षिक सत्र पूरा गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । यस विषयमा छिट्टै ठोस धारणा बनाउने तयारी सरकारले थालेको छ ।

अन्योलमा नराखौँ
नेपाल सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका नेपालका अध्यक्ष कृष्ण थापा शैक्षिक सत्रलाई कुनै हालतमा खेर फाल्न नहुने उल्लेख गर्दै विद्यार्थी तथा अभिभावकलाई अन्योलमा राख्न नहुनेमा जोड दिनुभयो ।
उहाँले शैक्षिक सत्र सदुपयोग हुन नसकेको अवस्थामा विद्यार्थीलाई धेरै ठूलो क्षति हुने उहाँको भनाइ छ । यसले आम विद्यार्थी र अभिभावकलाई त्रसित बनाएको बताउनुभयो । शैक्षिक सत्र क्षति भएको घाटा बेहोर्न विद्यार्थीले कुनै हालतमा नसक्ने र त्यो विद्यार्थीमाथि अन्यायसमेत हुने उहाँको भनाइ छ ।
सरकारले वैकल्पिक विधिको सिकाइ सहजीकरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने हो भने अझै पनि शैक्षिक सत्रको सदुपयोग गर्न सकिने सम्भावना उहाँले औँल्याउनुभयो । अन्तिम अवस्थामा एक आधा महिना थप गर्न सकिने सम्भावनासमेत रहेको भन्दै उहाँले अहिलेबाटै शैक्षिक सत्र सदुपयोग गर्नुपर्छ भन्नेमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सरकारले यसअघि आफूले गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने माग अध्यक्ष थापाले गर्नुभएको छ । कतिपय अवस्थामा सरकारी बजेट तल्लो तहमा पुग्न नसक्दासमेत समस्या भएको उहाँ बताउनुहुन्छ ।
समय सदुपयोग गर्नुपर्छ
नेपाल शिक्षक महासङ्घका उपाध्यक्ष तिलक कुँवर शैक्षिक सत्रलाई सदुपयोग गर्दै अघि बढ्नुको विकल्प नभएको बताउनुहुन्छ । जसरी विद्यार्थीको कक्षा १०, ११ र १२ को परीक्षा गरेर एक खालको सकारात्मक सन्देश प्रवाह गरियो सोहीअनुसार विद्यार्थीको शैक्षिक सत्रसमेत खेर जान दिन नहुने र समयको सदुपयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
यस वर्षको शैक्षिक सत्र चैतसम्मको समयले नपुग भएमा एक दुई महिना थप गरेर भए पनि अघि बढ्न समस्या नहुने उहाँको भनाइ छ । यो अवस्था आएमा तीन वर्षभित्र फेरि शैक्षिक सत्र ठीक ठाउँमा ल्याउन सकिने उपाध्यक्ष कुँवर बताउनु हुन्छ । विद्यार्थीलाई आफ्नो शैक्षिक सत्र गुम्यो भन्ने खालको सन्देश भने कुनै अवस्थामा पनि दिन नहुनेमा उहाँको जोड छ । यसका लागि विद्यार्थी शिक्षकका बीचमा सम्पर्क स्थापित गराउनुपर्ने उहाँको भनाइ छ ।

पालिकापिच्छे फरक अवस्था
सरकारले कोरोना भाइरसको अवस्थालाई विचार गरी विद्यालयको पुनः सञ्चालन, सङ्क्रमण बढेको अवस्थामा बन्द तथा फेरि विद्यालय खोल्नका लागि स्थानीय तहलार्ई अधिकार दिइएको छ । यसबाट विद्यालय तहमा सिकाइ सहजीकरण, विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि पालिकापिच्छे फरक फरक अवस्था हुने देखिएको छ ।
पालिकाभित्र पनि एउटा विद्यालय चल्ने र अर्को विद्यालय बन्द हुने अवस्था हुने भएकाले विद्यालयपिच्छे शैक्षिक अवस्थामा भिन्नता आउन सक्ने अवस्था देखिएको छ । यसले गर्दा विद्यार्थीको शैक्षिक सत्रलाई कसरी मिलाउने भन्नेमा समस्या देखिन सक्ने विज्ञहरूले औँल्याउनुभएको छ ।

निचोडमा पुग्छौँ
सरकारी अधिकारीहरूले भने यस विषयमा आफूहरू गम्भीर रहेको जनाएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्मा शैक्षिक सत्रका विषयमा सरकारले सोचिरहेको बताउनुभयो ।
कोरोना सङ्क्रमणको अवस्था हेरी स्थानीय तहमा विद्यालय पुनः सञ्चालन बन्द तथा फेरि खोल्ने अधिकार स्थानीय तहलाई दिइएकाले पालिकापिच्छे फरक फरक हुने फरक अवस्थालाई विचार गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । यस विषयमा सरोकारवालाहरूसित आवश्यक परामर्श गरी एउटा निचोडमा पुगिने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?